June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

प्रविधिको प्रयोगः काँग्रेसका चौधरी र उज्यालोका कंडेलले मागे अनलाइनमार्फत् सुझाव

Advertisement

परासी– पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरूले मतदाता रिझाउन नयाँ र प्रविधिमैत्री शैली अपनाउन थालेका छन् । यस क्षेत्रका दुई प्रतिस्पर्धी उम्मेदवारहरू नेपाली कांग्रेसका विनोद चौधरी र उज्यालो नेपाल पार्टीका विजय कंडेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि मतदाताहरूसँग अनलाइनमार्फत् योजना र सुझाव मागेका छन् ।

Advertisement

परम्परागत रूपमा नेताहरूले आफ्नै ढङ्गले घोषणापत्र तयार गर्ने परिपाटीलाई फरक शैलीमा दुवै उम्मेदवारले ‘जनताको माग र आवश्यकता’ लाई प्राथमिकता दिन अनलाइन प्लेटफर्मको सहारा लिएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार एवं प्रतिष्ठित उद्योगपति विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको आवाज सुन्न भन्दै अनलाइन फारम सार्वजनिक गरेका छन् । उनले नवलपरासी–१ लाई आर्थिक र औद्योगिक केन्द्र बनाउने सपना साकार पार्न स्थानीयकै सुझाव महत्वपूर्ण हुने बताए । चौधरीले सामाजिक सञ्जालमार्फत लिङ्क साझा गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि प्राथमिकता तोक्न मतदाताहरूलाई आग्रह गरेका छन् ।

त्यस्तै, उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका युवा उद्योगी विजय कंडेलले पनि डिजिटल माध्यमबाटै मतदाताको घर–दैलोमा पुग्ने प्रयास गरेका छन् । उनले ‘तपाईंको क्षेत्रको समस्या के हो ? र समाधानका लागि के गर्नुपर्छ ?’ भन्ने आशयका साथ अनलाइन फारममार्फत् सुझाव संकलन सुरु गरेका छन् । कंडेलले विशेषगरी युवा पुस्ता र प्रविधिप्रेमी मतदातालाई लक्षित गर्दै यो कदम चालेका हुन् ।

उम्मेदवारहरूले प्रविधिको प्रयोग गरी सुझाव मागेपछि स्थानीय मतदाताहरूमा पनि उत्साह देखिएको छ । स्थानीयहरूले भनेका छन्, ‘नेताहरू आएर भाषण गर्ने मात्र होइन, हाम्रा कुरा पनि सुन्न खोज्नु सकारात्मक कुरा हो ।’

यस नवीन अभ्यासले मतदाताले आफ्नो गाउँ वा टोलको समस्या सिधै उम्मेदवारसम्म पुर्याउन पाउने, चुनाव जितेपछि उम्मेदवारलाई उनीहरूकै प्रतिबद्धतामा प्रश्न गर्न र उत्तरदायी बनाउन सजिलो हुने र परम्परागत भीडभाड भन्दा पनि एजेन्डा र विकासमा आधारित राजनीतिलाई बढावा मिल्ने अपेक्षा गरिएको छ ।

नवलपरासी–१ मा यी दुई उम्मेदवारबीच देखिएको यो ‘डिजिटल प्रतिस्पर्धा’ ले आगामी निर्वाचनमा प्रविधिको भूमिका कति महत्वपूर्ण छ भन्ने स्पष्ट पारेको छ ।