थारु लोक संस्कृतिसहितको खाना महोत्सव र प्रणय दिवस कार्यक्रम हुँदै


भैरहवा–आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सोसाइटी अफ टुर एण्ड ट्राभल अपरेटर्स (सोट्टो) नेपाल, लुम्बिनी प्रदेशले भैरहवामा ‘थारु लोक संस्कृति एवम् खाना महोत्सव तथा प्रणय दिवस कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
आउँदो फागुन २ गते प्रणय दिवश (भ्यालेन्टाइन डे) को अवसर पारेर सोट्टो लुम्बिनीले थारु संस्कृति, भेषभूषा र खानाको परिकारमा केन्द्रित रहि उक्त कार्यक्रमको आयोजना गरेको हो । माघ महिना भर रहने थारु समुदायको माघी महोत्सवको समापन पारेर यो महोत्सवको तयारी गरिएको छ ।
सोट्टो लुम्बिनीका अध्यक्ष तथा पर्यटन व्यवसायी सञ्जय बजिमयले आन्तरिक पर्यटन प्रवर्द्धन गरी आर्थिक चलायमान बनाउन थारु संस्कृति र खाना सहितको महोत्सव सञ्चालन गर्न लागिएको जानकारी सोमवार आयोजित पत्रकार सम्मेलनमा दिए । ‘पश्चिम तराइको आदिबासीको रुपमा लिइने थारु समुदायमा रहेको संस्कृति, भेषभूषा र खानाको परिकारसँग जोडेर लुम्बिनी क्षेत्रमा पहिलो पटक पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न लागिएको छ’ बिजमयले भने, ‘यस खालको महोत्सव हाम्रो पहिलो प्रयास हो ।’
बजिमयका अनुसार, महोत्सवमा साँस्कृतिक कार्यक्रमका लागि पहिलो प्राथमिकता थारु समुदायलाई दिइएको छ । थारु समुदाय बाहेक अन्य परिकारका खाना र कार्यक्रमको अन्त्यतिर डिजे संगीतको प्रस्तुती पनि समावेश छ । सवै कलाकार स्थानिय रहेका छन ।
महोत्सवमा १ सय रुपैयाँ देखि ५ सय र १ हजार रुपैयाँ दरका टिकट उपलब्ध हुने छ । जसमध्ये बिद्यार्थीलाई परिचयपत्रका आधारमा छुटको व्यवस्था छ । महोत्सवमा आकर्षणका लागि सुलभ दरमा घोडा वा बग्गी चढ्न पाइने व्यवस्था गरिएको छ । महोत्सवलाई प्रायोजन गर्न केही व्यापारिक तथा औद्योगिक प्रतिष्ठानले रुचि देखाएका छन् ।
थारु समुदायको पुरानो सँस्था थारु कल्याणकारी सभाका अध्यक्ष कमल नारायण चौधरीले महोत्सवमा थारु समुदायको मौलिक खानाको परिकारका साथमा भेषभुषा र विभिन्न साँस्कृतिक कार्यक्रमको प्रस्तुती रहने बताए । थारु सँस्कृतिलाई जोडेर पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी अजयकुमार चौधरीले लुम्बिनी क्षेत्रका होटेल रेष्टुरेन्ट तथा रिसोर्टमा पर्यटकको आकर्षणका लागि थारु सँस्कृतिमा आधारित नाँचगानको सभ्यता विकास गर्न लागिएको बताए ।
सोट्टो लुम्बिनीका उपाध्यक्ष सञ्जिवराज जोशीले भारतीय तथा तेश्रो मुलुकका सर्वाधिक पर्यटक नेपाल आउने मुख्य नाका, अन्तर्राष्ट्रिय बिमानस्थल र लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको भैरहवा क्षेत्रमा साँस्कृतिक गतिबिधि सहितको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम संभव छ भन्ने सन्देश दिनका लागि यो महोत्सवको आयोजना गरिएको बताए । ‘पर्यटन सम्बन्धि सँस्था धेरै भए तर पर्यटकलाई आकर्षित गर्ने पर्यटन प्रवर्द्धनात्मक गतिबिधि कम भएको भनेर गुनासा आउन थाले’ जोशीले भने, ‘यस्ता गुनासालाई चिर्नका लागि र आगामी दिनमापनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने गरी यो महोत्सवको आयोजना गरिएको हो ।’








प्रतिकृया दिनुहोस्