June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

नवलपरासी : दल ‘बदलु’हरूबीच नै प्रतिस्पर्धा

Advertisement

भैरहवा– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै पश्चिम नवलपरासीको चुनावी माहेल रोचक बन्दै गएको छ। निर्वाचनका लागि जिल्लाका दुई निर्वाचन क्षेत्रबाट २३ स्वतन्त्रसहित कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यस पटकको निर्वाचनमा वर्षौंदेखि आबद्ध दल त्यागेर नयाँ चुनाव चिन्हका साथ मतदातामाझ पुग्ने उम्मेदवारहरूको संख्या उल्लेख्य देखिएको छ।

Advertisement

त्रिपक्षीय भिडन्त र ‘सरप्राइज’ उम्मेदवार बनेका निर्वाचन क्षेत्र नम्बर १ मा मुख्य दलका उम्मेदवारहरू नै दल परिवर्तनको सूचीमा अगाडि छन्। हृदयेश त्रिपाठी राजनीतिका चतुर खेलाडी मानिन्छन् । त्रिपाठी यस पटक जनता समाजवादी पार्टी (जसपा) नेपालबाट चुनावी मैदानमा छन् । २०७४ मा एमालेको सूर्य चिन्हबाट जितेका र पछि आफ्नै नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन गरेका त्रिपाठी फेरि नयाँ समीकरणका साथ चुनावी मैदानमा छन् ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका पूर्व महामन्त्री विक्रम खनाल यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार छन् । कांग्रेसबाट टिकट नपाउने संकेत पाएपछि खनाल रास्वपाबाट चुनावी मैदानमा छन् । उनलाई काँग्रेसले कारबाही गरे पछि रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् ।

नेकपा एमालेकी पूर्व सांसद सिन्धु जलेसा बुढाथोकी हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेकी छन्। यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उद्योगी विनोदकुमार चौधरी पनि पुनः चुनावी प्रतिस्पर्धामा छन्, जसले गर्दा यहाँको भिडन्त निकै चुनौतीपूर्ण हुने देखिन्छ।

ुकिल्ला फेर्दै र दल बदल्दै उम्मेदवार हुने क्रम निर्वाचन क्षेत्र नम्बर २ मा पनि छ । यहाँ पुराना अनुहारहरू नयाँ दलबाट प्रतिस्पर्धामा छन्।

बागलुङ–२ लाई आफ्नो राजनीतिक किल्ला बनाउँदै आएका पूर्वमन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक क्षेत्र परिवर्तन गरी पश्चिम नवलपरासी–२ बाट नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार बनेका छन्। नेकपा (माओवादी केन्द्र)को पृष्ठभूमिबाट हाल नेकपाको साझा उम्मेदवार बनेका पौडेल प्रतिस्पर्धामा छन्।

कांग्रेसको राजनीतिमा लामो समय बिताएका र रामग्राम नगरपालिकाको पूर्व मेयर समेत रहेका नरेन्द्रकुमार गुप्तास् यतिबेला रास्वपाबाट उम्मेदवार छन् । ३१ वर्ष नेकपा एमालेमा बिताएर बीचमा माओवादी केन्द्र प्रवेश गरेका लेखनाथ खरेल पुनः एमालेमै फर्किएर उम्मेदवार बनो छन् । एमालेका आधिकारिक उम्मेदवार भगौति यादवले अन्तिम समयमा चुनाव नलड्ने घोषणा गरेपछि खरेलले चिठ्ठा परेझैं टिकट पाएका हुन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका तर्फबाट पूर्व शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री गोविन्द चौधरी चुनावी दौडमा छन् । विभिन्न मधेश केन्द्रित दलहरू हुँदै अहिले राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बनेका चौधरीसँग पनि शिक्षा राज्यमन्त्रीको रूपमा कार्य गरेको अनुभव छ।

पद र टिकटका लागि चुनावको मुखमा दल बदल्ने प्रवृत्तिप्रति स्थानीय मतदाताहरूले भने असन्तुष्टि जनाएका छन्। एउटै दलमा अडिग नरही चुनावको समयमा विचार र सिद्धान्त त्याग्ने प्रवृत्तिले राजनीतिक स्थिरता नदिने स्थानीय मतदाताले गुनासो छ ।

आगामी फागुन २१ गते हुने यस निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ भने जिल्लाभर ९७ मतदान केन्द्र र १२२ मतदान स्थल तय गरिएको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रबाट २३ स्वतन्त्रसहित कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।