जैविक भोजन र वैदिक ज्ञानले सुसंस्कृत समाज निर्माण गर्छः महानिरीक्षक कार्की


कपिलवस्तु– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको संरक्षणमा गुरुकुलहरूको भूमिका ऐतिहासिक र अपरिहार्य रहेको बताएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–२, नन्दनगरस्थित श्री मनकामना संस्कृत विद्यापीठ (गुरुकुल) मा नेपाल प्रहरीद्वारा आयोजित खाद्यान्न वितरण कार्यक्रममा बोल्दै उनले गुरुकुलहरू सभ्यताका पाठशालाका रूपमा रहेको जनाए ।
‘अमन्त्रं अक्षरं नास्ति, नास्ति मूलं औषधम् । अयोग्यो पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।।’ भन्ने संस्कृत श्लोक उच्चारण गर्दै महानिरीक्षक कार्कीले भने, ‘कुनै पनि अक्षर मन्त्ररहित हुँदैन, कुनै पनि जरा औषधिरहित हुँदैन । यस संसारमा अयोग्य मानिस हुँदैन, तर उसलाई सही ढङ्गले प्रयोग गर्न जान्ने व्यक्ति दुर्लभ हुन्छ ।’ यो सन्देशले मानव क्षमताको सही पहिचान र मार्गदर्शनको महत्व उजागर गर्ने महानिरीक्षक कार्कीले बताए ।
गुरुकुलमा अध्ययनरत बटुकहरूलाई गरिएको खाद्यान्न वितरण कार्यक्रममा बोल्दै महानिरीक्षक कार्कीले ‘जैविक भोजन र वैदिक ज्ञान’ मानव जीवनका आधारस्तम्भ भएको उल्लेख गरे । ‘प्रकृतिसँग मेल खाने शुद्ध आहार—जैविक भोजनले शरीरलाई स्वस्थ बनाउँछ,’ उनले भने, ‘वेदबाट प्राप्त वैदिक ज्ञानले मन, बुद्धि र जीवनलाई सन्तुलित बनाउँछ । यी दुवैको संयोजनले स्वस्थ शरीर र सुसंस्कृत जीवनशैली निर्माण हुन्छ ।’
समाजलाई सन्मार्गमा अघि बढाउन गुरुकुलहरू मार्गदर्शक बनेको उल्लेख गर्दै उनले संस्कारयुक्त शिक्षाले अनुशासित, नैतिक र जिम्मेवार नागरिक उत्पादन गर्ने विश्वास व्यक्त गरे । परम्परागत ज्ञान र आधुनिक समाजबीच सेतुको काम गुरुकुलहरूले गरिरहेको भन्दै उनले सवै मानव सकारात्मक मार्गमा हिंड्नु पर्ने बताए ।
कार्यक्रममा गुरुकुलका संरक्षक तत्वदर्शी सन्तसिरामणी १००८ स्वामी लोकानन्दजी महाराज ले देशको धर्म–संस्कृति संरक्षणमा गुरुकुलले खेलेको भूमिकाबारे चर्चा गर्दै उपस्थित सबैलाई आशीर्वचन प्रदान गरे । गुरुकुलका अध्यक्ष रविराज ज्ञवाली ले आवासीय रूपमा संस्कृत शिक्षा प्रदान गरिँदै आएको यस विद्यापीठमा कक्षा १२ सम्म अध्ययन हुने जानकारी दिए । उनका अनुसार हाल गुरुकुलमा १२० जना बटुक तथा १७ जना शिक्षक–कर्मचारी बाट संचालन छ ।
नेपाल प्रहरीले गुरुकुलका लागि दाल, तेल, चिनी, सुजी, तरकारी र चिउरा लगायतका खाद्यान्न सामग्री प्रदान गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सहयोगले परम्परागत शिक्षाप्रति नेपाल प्रहरीले सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासी र सहभागीहरूले बताएका छन् ।








प्रतिकृया दिनुहोस्