July 27, 2026, Monday
२०८३ श्रावण ११ सोमबार

होटल तथा रेष्टुरेन्टको कार्याशालाः पर्यटकीय गन्तव्यहरु समेटेर होटलको प्याकेज योजना

Advertisement

भैरहवा– होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीले विभिन्न पर्यटकीय गन्तव्यहरु समेटेर पर्यटन प्याकेज बनाउने योजना अघि सारेको छ । संगठनको वार्षिक कार्यशाला गोष्ठीले उक्त योजना अगाडि ल्याएको हो । संगठनको १२ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको नवलपरासीको त्रिवेणी धाममा सम्पन्न गोष्ठीले उक्त निर्णय गरेको अध्यक्ष राजेश महोत्रा क्षेत्रीले जानकारी दिए ।

Advertisement

‘अझै पनि होटलहरुले राम्रोसँग पर्यटकीय प्याकेज बनाउन सकिरहेको अवस्था छैन’, उनले भने, ‘यसको नेतृत्व संगठन लिएर अगाडि बढ्नुपर्छ भनेर हामीले यस्तो निर्णय गरेका हौं ।’ अध्यक्ष महोत्राले रुपन्देहीमा पर्यटकीय गतिविधिलाई थप बढवा दिन सिद्धार्थ सडक खान महोत्सव पनि आयोजना गर्ने कार्ययोजना बनाइएको बताए । ‘यस्तो महोत्सवले अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो प्रभाव पार्न सकोस् भन्ने हाम्रो चाहाना हो’, उनले भने ।

यस्तै, व्यवसायीहरुलाई विभिन्न प्रदेशका पर्यटकीय गन्तव्यहरुमा भ्रमण गराउने र अन्य प्रदेशलाई समेत पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्ने उद्देश्यले निम्तो गर्ने, तालिम तथा अन्तरक्रियाको आयोजना गर्ने, विभिन्न चाडपर्वमा शुभकामना आदानप्रदान, वनभोज कार्यक्रम, व्यवसायीका समस्या बुझेर समाधानका लागि पहल र सहजीकरण, संगठनका लागि जग्गा खरिद गरिने कार्यक्रम कार्ययोजनामा समेटिएको महोत्रा क्षेत्रीले बताए ।

संगठनले पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनका लागि नयाँ उपायहरुको खोजी गर्ने छ । रपन्देहीमा महाधिवेशन तथा सभा सम्मेलन गर्न आउने इच्छुक देशभरीका संघसंस्थालाई सहुलियत तथा छुटमा होटल उपलब्ध गराउन प्रयास गर्ने अध्यक्ष महोत्राले जनाए । ‘स्थानीय तह तथा अन्य व्यवसायीहरु तथा संघ–संस्थाहरुसँग सहयोग लिइ होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनले स्वागतको वातावरण बनाउने छ’, उनले भने ।

यस्तै पर्यटकीय गन्तव्यहरुबारे जानकारी दिन विमानस्थल, बेलहिया नाका लगायतका ठाउँहरुमा होर्डिङ बोर्ड राख्ने र सौन्दर्यीकरणमा सहभागीता जनाउने योजना बनाएको छ । यस्तै तारे होटललाई वर्गीकरण गर्ने, रैथाने खाना बनाउने रेष्टुरेन्टहरुको पहिचान गरी उत्कृष्ट रेष्टुरेण्ट व्यवसायीलाई पुरस्कृत गरिने, गेष्ट ट्र्याकिङ सफ्टवेयर क्रेडिट बनाएर जाने अतिथिको विवरण अर्को होटलले हेर्न सक्ने, पर्यटक ठगिएको अवस्थामा सहजीकरण गर्ने कार्ययोजनामा समावेश गरिएको छ ।

कार्यशालाले वार्षिक कार्ययोजना तय गर्नुका साथै विभिन्न उपसमितिहरु समेत गठन तथा संयोजकहरु समेत तोकेको छ । अध्यक्ष महोत्रा क्षेत्री लुम्बिनी प्रदेश पर्यटन विकास परिषदको बोर्ड सदस्य समेत हुन् । कार्यशालाले होटल, क्याफे, क्याटरिङ व्यवसायी प्रतिष्ठान समन्वय उपसमिति, रात्रीकालिन व्यवसाय र रेष्टुरेन्ट उपसमिति गठन गरेको छ । यस्तै नेपाल पर्यटन बोर्ड, पर्यटन विकास परिषदसँग समन्वय गरी तालिम, गोष्ठी तथा भ्रमण कार्यक्रम गर्ने, विश्व पर्यटन दिवस भव्य रुपमा मनाउने, संगठनको लोगो राखेर भैरहवा, लुम्बिनी, बुद्ध सर्किट तथा अन्य पर्यटकीय गन्तव्यहरुको गाईड म्याप र फोटो बनाइ सहुलियत दरमा व्यवसायिक प्रतिष्ठानलाई उपलब्ध गराइने संगठनका महासचिव बाल बहादुर घिमिरे (सुनिल)ले जानकारी दिए ।