September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

विष्णु पौडेलको आग्रह– रूपन्देहीको विकास अध्ययन गर्नुस्

Advertisement

बुटवल– रुपन्देही क्षेत्र नम्बर २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले रुपन्देहीको विकासको अध्ययन गर्न योजनाविद र विज्ञ टोलीलाई आग्रह गरेका छन् । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले रुपन्देहीले विकासको मुहार फेरेको दावी गरे ।

Advertisement

आइतबार बुटवल उपमहानगरपालिका वडा नम्बर ५ मा निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘रुपन्देहीको विकास देशमै नमूना भएको हाम्रो ठहर छ, यसबारे योजनाविदहरूले गहिरो अध्ययन गर्न आवश्यक छ ।’

उनले विकासलाई भावनात्मक नारामा सीमित नगरी अध्ययन, योजना र प्राथमिकतामा आधारित बनाइने स्पष्ट पारे । ‘हामी विकासलाई नारा होइन, नतिजाबाट प्रमाणित गर्छौं, त्यसैले रुपन्देहीको समग्र विकासबारे विज्ञ योजनाविदहरूले अध्ययन गर्नुपर्छ’, उनले भने ।

पौडेलले आफू जनताको सेवक भएर काम गर्ने स्वभावको भएको उल्लेख गर्दै जनतासँगको सम्बन्धको महत्वलाई बुझेरै राजनीति गरिरहेको बताए । ‘जनताको सेवक भएर काम गर्नु मेरो स्वभाव हो, रुपन्देहीबासीको सेवाका लागि म सधैँ तयार छु,’ उनले भने ।

उनका अनुसार रुपन्देही–२ लाई शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरको केन्द्रका रूपमा विकास गरिनेछ । ‘हामी यो क्षेत्रलाई सबैभन्दा विकसित र व्यवस्थित जीवनशैलीको बस्ती बनाउँछौं, यसका लागि स्पष्ट प्राथमिकता निर्धारण गरेर अघि बढ्छौं,’ पौडेलले भने । विकासका सूचकका आधारमा आगामी दिनमा रुपन्देही–२ नै सबैभन्दा ठूलो फड्को मारेको क्षेत्र ठहर हुने उनको दाबी छ ।

प्रक्रियामा रहेका विकास योजनाहरू समयमै सम्पन्न गर्ने र आवश्यकताअनुसार नयाँ योजनाहरू सुरु गरिने पौडेलले जानकारी दिए । ‘वडास्तरमै सडक, खानेपानी, ढल, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विकासका काम पूरा गर्ने गरी अगाडि बढ्छौं,’ उनले भने, ‘एमालेले काम गरेर देखाउने पार्टी हो । हाम्रो पार्टीको विरोध गर्नेहरूले पनि यहाँ विकास भएन भनेर भन्न सक्दैनन् ।’

कार्यक्रममा उनले तिनाउ नदी नियन्त्रण गरी बस्ती सुरक्षित गर्नुपर्ने स्थानीयको माग पूरा गरिने प्रतिबद्धता पनि जनाए । साथै सहुलियतपूर्ण ऋण लगानीमा करिब साढे दुई अर्ब रुपैयाँ लागतमा सिग्नेचर पुल निर्माणको काम अघि बढेको जानकारी दिए । ‘अन्तर्राष्ट्रियस्तरका कन्सल्टेन्टहरूले पुलको डिजाइन गरिरहेका छन्, डिजाइन सकिएपछि टेन्डर प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘यसका लागि बजेटको कुनै अभाव छैन, स्रोत सुनिश्चित भइसकेको छ ।’

पौडेलका अनुसार निर्माण हुने सिग्नेचर पुलमा पाँच मिटर (१६ फिट) चौडा फुटपाथ, आकर्षक लाइटिङ प्रणाली रहनेछ । ‘यो पुल केवल आवतजावतको साधन होइन, हरेक साँझ र राति ८–१० हजार मानिसले अवलोकन गर्ने सहरको पहिचान बन्नेछ,’ उनले भने ।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । कार्यालय उद्घाटनसँगै रुपन्देही–२ मा एमालेको चुनावी गतिविधि थप तीव्र हुने देखिएको छ ।