June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

सोमबारदेखि प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता हुँदै

Advertisement

भैरहवा– सोमबारदेखि प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोतिा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा पहिलो पटक टाइटल स्पोन्सर राखेर छनोट प्रतियोगिता हुन लागेको हो । भैरहवाको सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ ।

Advertisement

आयोजकले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । माघ २४ गतेसम्म संचालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ वटा जिल्लाका टिम सहभागी हुने खेल संयोजक एवं संघका प्रदेश सदस्य प्रथम पराजुलीले जानकारी दिए । उनका अनुसार रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम प्रतयोगितामा सहभागी हुनेछन् ।

संघका अध्यक्ष विनय राजभण्डारीले नेपाल क्रिकेट संघको सहयोगमा हुने प्रतियोगितामा पहिलोपटक प्रायोजकहरुको साथ लिएर छनोट खेललाई थप व्यवस्थित बनाइएको जनाए । उनले कतिपय जिल्लाहरुलाई अझै समेट्न नसकिएको जनाउँदै क्यानबाट मान्यता दिलाउन पहल भइरहेको बताए । नेपाल क्रिकेट संघका पूर्वकार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले विगतमा लुम्बिनी प्रदेश मुलुककै क्रिकेटमा अब्बल सावित रहे पनि पछिल्लो समय विभिन्न उपाधि जित्नबाट चुकिरहेको जनाए । उनले यसपटक राम्रो मैदानमा छनोट खेल हुन लागेको, प्रशिक्षण र सुविधा समेत राम्रो रहेकाले प्रधानमन्त्री कप जित्ने विश्वास व्यक्त गरे । मल्लले पछिल्लो समय प्रदेश क्रिकेट संघ समेत व्यवस्थित हुँदै गएकोमा खुशी व्यक्त गरे ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले हरेक दिन संघका कार्यक्रमहरु र प्रतियोगितालाई व्यवस्थित गरिएको जनाए । उनले यसपटक प्रदेशस्तरीय छनोट खेल अघि रुपन्देहीको टिम तयार गर्न पनि छनोट प्रतियोगिता मार्फत् खेलाडी छनोट गरिएको जनाए । यसले राम्रा खेलाडीहरुले अवसर पाइराखेको र विवाद रहित बनाएको थापाले दावी गरे ।

टाइटल स्पोन्सर एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्सका लुम्बिनी प्रदेश प्रबन्धक  रामबहादुर क्षेत्रीले हरेक खेलकुदलाई उकास्न कम्पनीले सहयोग गरिरहेको जनाए । उनले यसपटक पनि प्रधानमन्त्री कप लुम्बिनी प्रदेशमै आयोजना गर्न पहल गर्नुपर्नेमा जोड दिए ।

छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । यसपटक प्रतियोगितालाई एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रालि, काठमाडौं र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रालि, काठमाडौंले प्रयोजन गरेका छन् । पत्रकार सम्मेलनमा जर्सी र ट्रफी समेत सार्वजनिक गरिएको थियो । यस वर्षको प्रधानमन्त्री कप चैत्रमा आयोजना गर्ने गरी क्यानले तयारी गरिरहेको छ ।