June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

विकासको फेहरिस्त बोकेर मतदाता भेट्दै विनोद चौधरी

Advertisement

परासी– ‘हेभीवेट’ उम्मेदवारका रूपमा चर्चित उद्योगपति एवं राजनीतिज्ञ विनोदकुमार चौधरी आफ्नो विरासत जोगाउने र अधुरा काम पूरा गर्ने बाचासहित पुनः चुनावी मैदानमा उभिएका छन् । आफू २०७९ को निर्वाचनमा विजयी भएपछि गरेका काम र पहलकदमीको योजना बोकेर चौधरी अहिले मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

Advertisement

पश्चिम नवलपरासी क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार चौधरीले मतदाता भेटघाटमा राम्रो प्रतिक्रिया पाइरहेको जानकारी दिए । यसअघि प्रतिनिधि सभा सदस्यको जिम्मेवारीमा रहँदा चौधरीले जिल्लाको भौतिक पूर्वाधार र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण पहल गरेको दाबी गरे । ‘यसअघि मेरो कार्यकालमा अलपत्र परेका विकास निर्माणका आयोजनाहरूलाई सक्रिय बनाउन सरोकारवाला निकायसँग निरन्तर पैरवी गर्दै आएँ, केहीले सार्थकता पाए भने केहीले पाउँदै छन्’, उनले भने ।

बुटवल–नारायणगढ सडक खण्ड र हुलाकी सडक जस्ता राष्ट्रिय गौरवका आयोजनालाई गति दिन तथा अन्य स्थानीय सडक सञ्जाल विस्तारमा नेतृत्वदायी भूमिका खेलेका उनले बताए । चिसापानी अस्पतालमा ट्रमा सेन्टर निर्माणको पहल गर्नुका साथै, व्यक्तिगत रूपमा चौधरी फाउन्डेसन मार्फत् चिसापानी अस्पताल, चौपत्ता सामुदायिक अस्पताल र सुस्ताका स्वास्थ्य संस्थाहरूमा आवश्यक चिकित्सा उपकरण र स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

चुनावी मैदानमा केन्द्रित चौधरीले यसपटक मुख्यतयाः पूर्वाधार विकासलाई जोड दिएका छन् । यस क्षेत्रमा लामो समयदेखि रोकिएका वा सुस्त गतिमा रहेका विभिन्न पूर्वाधार आयोजनाहरूलाई सुचारु गराएको दाबी गर्दै उनले ती योजनाको पूर्णतालाई प्राथमिकता निे जनाए ।

हेभीवेट उम्मेदवारका रूपमा हेरिएका चौधरीले आफ्नो चुनावी अभियानलाई विगतमा आफूले गरेका कामहरूको फेहरिस्त सुनाउँदै अधुरा योजनाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘पश्चिम नवलपरासीको माटोलाई आर्थिक समृद्धिको केन्द्र बनाउन म प्रतिबद्ध छु’, उनले भने, ‘यसैले योजना बनाएर काम गर्दै आएको छु । आगामी दिनमा पनि सोही अनुसार गर्नेछु ।’

२०७९ को निर्वाचनमा चौधरीले यस क्षेत्रमा २९ हजार ५१९ मतसहित विजय हासिल गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेको समर्थनमा चुनावी मैदानमा रहेका जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत पाएका थिए । यसपटक पनि यी नेताहरूबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

बरिष्ठ उद्योगपति र व्यस्त नेता भएकाले सर्वसाधारणले प्रत्यक्ष भेट्न कठिनाइ हुने जनगुनासोलाई सम्बोधन गर्न चौधरीले जिल्लामा छुट्टै सचिवालय स्थापना गरेका छन् । यस सचिवालयमार्फत उनले जनताको काम–काज र गुनासोलाई सहजीकरण गर्दै आएका छन् । जसले गर्दा मतदाता र सांसदबीचको दूरी कम भएको स्थानीयको बुझाइ छ ।

विगतमा सुरु गरिएका तर सुस्त गतिमा रहेका आयोजनाहरूलाई सम्पन्न गर्नु नै आफ्नो पहिलो प्राथमिकता हुने उनले बताए । स्थानीय मतदाताहरू पनि विकासप्रतिको हुटहुटी भएको नेताको खोजीमा छन् । स्थानीय मतदाता सरोज थापा भन्छन्, ‘हामीलाई गफ भन्दा काम गर्ने नेता चाहिएको छ । उहाँको विकासप्रतिको हुटहुटीले हामीलाई आशावादी बनाएको छ ।’

आफ्नो राजनीतिक अनुभव र स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिएका कारण चौधरी यस क्षेत्रमा बलियो उम्मेदवारका रूपमा देखिएका छन् । उनले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका मुद्दाहरुलाई पनि प्राथमिकतामा राखेर अघि बढेका छन् ।