June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

शहीदहरूले देखेका सपना साकार पार्न लागेका छौंः मुख्यमन्त्री आचार्य

Advertisement

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शहीदहरूको बलिदानबाट प्राप्त नागरिक स्वतन्त्रता, संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक उपलब्धिलाई कमजोर हुन नदिन सबै पक्ष सजग र जिम्मेवार हुनुपर्ने बताएका छन् ।

Advertisement

शहीद दिवस, २०८२ को अवसरमा शुक्रबार जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संविधान कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा चुनौतीहरू कायमै रहेकाले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र नागरिक अधिकारको सुनिश्चितता आजको साझा दायित्व भएको उल्लेख गरेका हुन् ।

उनले नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । शहीद दिवस देश र जनताको हितका लागि प्राण आहुति दिने वीर शहीदहरूको संघर्ष, त्याग र बलिदानको स्मरण गर्ने ऐतिहासिक दिन भएको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिकका रूपमा स्थापित गर्दै स्वाधीन, समावेशी र न्यायपूर्ण राज्य निर्माणका लागि शहीदहरूले गरेको बलिदानको सम्मानस्वरूप हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइँदै आएको स्मरण गराएका छन् ।

शहीदहरूले देखेका सपना साकार पार्न तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र आम नागरिकले साझा जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै उनले आज प्राप्त भएका सबै राजनीतिक, सामाजिक र संवैधानिक उपलब्धिहरू शहीदहरूको संघर्षकै परिणाम भएको बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार महान् शहीदहरूको त्याग, समर्पण र बलिदानको उच्च सम्मान गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन र समृद्ध प्रदेश निर्माणमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । शहीदहरूको बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत् दिगो शान्ति, सामाजिक न्याय, विकास र समृद्धिको आकांक्षा पूरा गर्न अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनको विश्वास छ ।