घोराही लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा, यो उपलब्धि प्रदेशमै नमूनायोग्य भएको मुख्यमन्त्रीको दावी


दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकासका काम हुँदै भएनन् भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यस अवधिमा भएका कामको वस्तुनिष्ठ मूल्यांकन हुनुपर्ने बताएका छन् ।
घोराही उपमहानगरपालिकाको ४८ औं नगर स्थापना दिवस तथा ‘लैङ्गिक हिंसा नियन्त्रित नगर’ घोषणा समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले मानवीय, सामाजिक तथा भौतिक विकासका क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको दावी गरे । ‘जनताको जीवनस्तर उकास्न धेरै काम भएका छन् । यो सबै साझा प्रयत्न र कुशल नेतृत्वको परिणाम हो,’ मुख्यमन्त्री आचार्यले भने ।
घोराहीले मानव विकास सूचकका आधारमा बालमैत्री र साक्षर नगरको घोषणा गरिसकेको उल्लेख गर्दै उनले संघीय र प्रदेश सरकारले तोकेका सूचक पूरा गरेर लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा हुनु सिंगो देश र प्रदेशकै लागि नमूनायोग्य काम भएको बतए । ‘अब कुनै पनि घरपरिवारमा लैङ्गिक हिंसा नहुने, गर्न नदिने प्रतिबद्धता सबैले जनाइसक्नुभएको छ’, उनले भने ।
समारोहमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा सम्बन्धी कार्यविधि २०८१ अनुसार ३२ वटा सूचक पूरा गरी घोषणा गरिएको जानकारी दिए । पछिल्लो एक वर्षमा घोराहीमा जम्मा २२ वटा लैङ्गिक हिंसाका घटना दर्ता भएको र जनसंख्याको आधारमा यो संख्या ०.०१ प्रतिशत मात्र हो ।
कार्यक्रम उपप्रमुख हुमा डिसीले सबैको प्रयासले नगरलाई सफलता मिलेको जनाइन्। नगर प्रवक्ता राममणि पाण्डेले घोषणासम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेका थिए । घोषणामा योगदान पुर्याउने सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले संघीय व्यवस्थामा स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित भएको बताए । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले समाजलाई सभ्य र समुन्नत बनाउने दिशामा यो महत्वपूर्ण उपलब्धि भएको जनाए ।
उनले पूर्वाधार, सामाजिक र आर्थिक विकासमार्फत समाज रूपान्तरणको अभियान अगाडि बढिरहेको उल्लेख गर्दै लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि पनि विशेष अभियान आवश्यक रहेको धारणा राखे ।








प्रतिकृया दिनुहोस्