जसले प्रेमको बदला मृत्यु उपहार पाइन


बाँके– छोरी हराएको एक महिनासम्म परिवारले प्रहरीलाई खबर गर्न सकेनन् । हुर्किएकी छोरी हराएको जानकारी प्रहरीलाई दिँदा परिवारको ‘इज्जत जाने’ डरले आफन्त चुपचाप बसे । तर, एक महिनापछि छोरीको शव गाउँकै एक इनारमा फेला परेपछि भने परिवार स्तब्ध भएका छन् । युवतीको हत्यामा उनकै प्रेमी संलग्न रहेको खुलेको छ ।
छोरी हराएको बारे कसैले सोधपुछ गर्दा परिवारले मामा घर गएकी छन् भन्थे । तर, उनले प्रेमीको जालमा परेर ज्यान गुमाइ सकेकी थिइन । बाँकेको डुडुवा–३, वनकट्टी कि २१ वर्षीया बसन्ती गोडियाले प्रेमको बदलामा मृत्यु पाइन । गोडिया गत पुस १ गते रातिबाट सम्पर्क बिहीन भएकी थिइन् । एक महिनापछि डुडुवा–३, वनकट्टीस्थित इनारमा फेला परेको बेवारिसे शवको पहिचानपछि युवतीको हत्या भएको खुलेको थियो ।
जिल्ला प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार इनारमा कुहिएको अवस्थामा भेटिएको शव गोडियाको रहेको पुष्टि भएको थियो । त्यसपछि अनुसन्धानका क्रममा उनका प्रेमी स्थानीय राकेश बर्माले हत्या गरेको खुलेको हो । प्रहरी नायबव उपरीक्षक दीपक पातलीले डुडुवा–३ स्थित रामफेरन कुर्मीको घर पछाडि झाडी भित्र रहेको इनारमा सडेगलेको अवस्थामा पहिचान नखुलेको शव फेला परेको थियो ।
गाउँमा सोधखोज गर्दा स्थानीय पाचु गोडियाकी छोरीको शव भएको पुष्टि भएको उनले बताए । प्रहरी अनुसन्धान अनुसार पोस्टमार्टम रिपोर्टमा मृतकको टाउको र घाँटीको विभिन्न भागमा चोट लागेको देखिएकाले हत्या गरिएको पुष्टि भएको बताए । प्रहरीका अनुसार महिला हराएको औपचारिक जानकारी नभएपनि गाउँघर र घटनास्थल आसपास बुझ्दा बसन्ती भारतको नानपारास्थित मामाघर गएको बताइएको थियो ।
अनुसन्धानका क्रममा मृतकको छिमेकी युवक बर्मासँग प्रेम सम्बन्ध रहेको खुलेको थियो । सम्बन्धमा खटपट भएका कारण योजनाबद्ध रूपमा बर्माले गोडियाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनास्थलको अवस्था, पोस्टमार्टम रिपोर्ट, बर्माको साविति बयानबाट प्रेममा भएको खटपटका कारण हत्या गरेर शव इनारमा फालेको पुष्टि भएको प्रहरीले जनाएको छ । बर्मालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गराएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।








प्रतिकृया दिनुहोस्