लुम्बिनी प्रदेशसभा बैठक बस्दै, कस्तो छ कार्यसूचि ?


देउखुरी– लामो समयपछि लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले यसबारे जानकारी दिएको हो । सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने छ ।
बैठकमा सर्वप्रथम प्रदेश सभा सदस्यको स्थान रिक्त भएको सम्बन्धी जानकारी सभामुखले सभालाई गराउने छन् । त्यसपछि सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम तय भएको छ ।
कार्यसूचीअनुसार ‘जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश सभामा पेस गरिनेछ । यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्नेछन् र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय भएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार आजको बैठक प्रदेशका नीति, कानुन तथा संस्थागत विकाससँग सम्बन्धित विषयमा केन्द्रित रहनेछ ।








प्रतिकृया दिनुहोस्