June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

प्रधानमन्त्रीका उम्मेदवारबीच किन आवश्यक छ बहस ?

अबकीबार अर्थात् यसपटक कसको सरकार ? अहिले जताततै यही प्रश्न उठिरहेको छ । केही दलले ‘अबकी बार, फलानाको सरकार’ भनेर प्रचार पनि गरिरहेका छन् । भारतीय निर्वाचनमा देखिने यस्तो परम्परा यसपटक नेपालमा पनि अनुशरण गरिएको देखिन्छ । प्रचार शैली एकातर्फ छ । अर्कातर्फ मुलुकमा पहिलो पटक विभिन्न दलले प्रधानमन्त्रीका उम्मेदवार तोकेर चुनावी अभियान सुरु गरेका छन् । यसले मतदातालाई निर्वाचनपछि कस्तो व्यक्तिलाई प्रधानमन्त्री चुन्ने भनेर छनोटको अवसर दिएको छ । यसलाई सकारात्मक ठान्नुपर्छ ।
यसपटक रास्वपाले बरिष्ठ नेता बालेन्द्र शाह, एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् । कांग्रेसले शुक्रबार केन्द्रीय समितिको बैठकबाट थापालाई प्रधानमन्त्रीको उम्मेदवार तय गरेको हो । यससँगै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पनि आफूलाई प्रधानमन्त्रीको दाबेदार प्रस्तुत गरेका छन् । तर, अहिले भावी प्रधानमन्त्रीको दौडमा शाह, ओली र थापाबारे बहस भएको देखिन्छ । उम्मेदवारको लोकप्रियता भन्दा नीति, कार्यक्रम र मुलुक बनाउने योजनाले प्राथमिकता पाउनुपर्ने बहस भइरहेको छ । साथैं आकांक्षीबीच खुला बहसको माग हुन थालेको छ ।
जिल्लामा बसेर सञ्चारकर्म गरिरहेकाले विभिन्न कार्यक्रममा पुग्दा अहिले जनसाधरणमा पनि यही विषयमा बहस गरिरहेको देख्न र सुन्न पाइन्छ । यसअघि को सांसद होला ? भन्ने विषयमा केन्द्रित हुने बहस अहिले को प्रधानमन्त्री बन्ला भन्नेसम्म पुगेको छ । मुलुकको नेतृत्व गर्ने व्यक्तिका बारेमा यसरी सार्वजनिक बहस हुुनु आफैंमा सुखद सुरुआत मान्न सकिन्छ । मतदाताहरु भावी प्रधानमन्त्रीका विषयमा पक्ष पोषण भन्दा तर्क–वितर्कका साथैं आफू अनुकुल व्याख्या गरिरहेका हुन्छन् । हुन त प्रधानमन्त्री चयन हुन लामो प्रक्रिया पूरा गर्नुपर्छ । पार्टीले धेरै सिट जित्नु पर्यो । त्यसपछि पार्टीको संसदीय दलको नेता बन्नु पर्यो । कम्तिमा १ सय ३८ सांसदको समर्थन जुटाउनु प¥यो । खैर यस्ता प्रक्रिया पूरा हुँदै जालान ।
पत्रकार टीकाराम यात्रीले शुक्रबार आफ्नो फेसबुक वालमा गगन थापा, केपी शर्मा ओली र बालेन्द्र शाहको फोटो राख्दै एउटा स्टाटस पोष्ट गरे । त्यहाँ उनले लेखेका छन्, ‘नेपाली कांग्रेसले गगनकुमार थापा, नेकपा एमालेले केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई औपचारिक रूपमै भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएकाले देश निर्माणका लागि यहाँहरुका ठोस नीति, योजना र कार्यक्रमसहित साझा बहसका लागि यहाँ तीनै जनालाई हार्दिक आह्वान गर्दछौं । खुला र स्वस्थ बहसले सही पात्र छनोट गर्न मतदातालाई मद्दत गर्ने भएकाले खुला हृदयले यो आग्रह स्वीकार गर्नुहुनेछ भन्नेमा विश्वस्त छौं ।’
चुनावी रिपोर्टिङका लागि म पनि शुक्रबार रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्र पुगेको थिएँ । त्यसक्रममा कोटहीमाईको मझगाँवा चोकमा ७५ वर्षीय प्रेम हरिजन भेटिए । करिब २० मिनेट उनका कुरा सुनेँ । घरमा आएर यात्रीको पोष्ट देखेपछि मैले हरिजनले भनेका कुरा सम्झिएँ । हरिजनलाई पनि सधैं एउटै नेता सांसद, एकै व्यक्ति प्रधानमन्त्री र मन्त्री भइरहेको चित्त बुझेको रहेनछ । नेता फेरिने तर, आफ्नो अवस्था नफेरिने कुराले दिक्क बनाएको रहेछ । बच्चाबच्चीले राम्रो स्कूल पढ्न नपाएकोदेखि स्वास्थ्य उपचारबाट बञ्चित हुनु परेको कुराले उललाई चिमोटिरहेको थियो । गाउँको एउटै सडकमा पनि वर्खामा हिलो र हिउँदमा धुलोले असाध्यैं पिरोल्ने गरेको छ । खेतीपातीका बेला मल र र्सिचाइको अभाव हुन्छ । यहाँ मजदूरी गरेर पनि नचल्ने भएपछि दुई छोरा साउदी र कतार पठाएका रहेछन् ।
खासमा ग्रामीण क्षेत्रका बासिन्दाले यस्ता पीडाबाट मुक्ति चाहेका छन् । यिनै पीडा हल गर्ने प्रधानमन्त्रीको खोजीमा छन् । सञ्चारको बढ्दो उपयोगले सहर–गाउँ, हिमाल–पडाडका नागरिक सचेत भइसकेका छन् । उनीहरु मत र मन दुबै परिवर्तन गर्न चाहन्छन् । ओली परीक्षण भइसकेका छन् । गगन र बालेन्द्र परीक्षण हुन बाँकी छन् । ओलीले आफ्नो कार्यकालमा के गरे–गरेनन् यसबारे जनताले देखे–भोगेका छन् । रास्वपा र कांग्रेसले प्रस्तुत गरेका उम्मेदवारप्रति जनतामा चासो देखिन्छ । गाउँघरका बहसमा नेकपा संयोजक दाहालको प्रवेश उत्तिसारो सुनिँदैन । ग्रामीण क्षेत्रका युवा जमात विदेशमा छन् । स्वदेश–बिदेशबाट अहिले प्रधानमन्त्री उम्मेदवारका बारे सामाजिक संजालमा ‘डिबेट’ भइरहेको छ । विदेशमा भएकाले निश्चित व्यक्ति तोकेर समर्थन जनाएको जस्तो देखिन्छ । स्वदेशमा रहेका मतदाताले गुण र दोषका आधारमा समर्थन जनाइरहेका छन् ।
लहडमा होइन्, यथार्थ र एजेन्डामा आधारित बहस जरुरी छ । मतदाताले फेसबुकमा पाइने लाइक, फलोअर्स हेरेर मतदान गर्ने पनि होइनन् । जनभावना र मुलुकका लागि योगदान दिनसक्ने, क्षमता, नीति, योजना र कार्यक्रम भएको व्यक्ति छनोट गर्न पाउनु पर्छ । हामीले गर्ने सही छनोटले असल नेतृत्व चयन हुनसक्छ । गलत चयनले मुलुकलाई दिशाहीन बनाउन सक्छ । यसतर्फ मतदाता सचेत हुनुपर्छ । बिगतका प्रतिवद्धता किन पूरा गरिएनन् भनेर प्रश्न गर्नुपर्छ । त्यसैले मतदातालाई विवेकपूर्ण निर्णय लिन सहज होस्, भन्नका लागि भावी प्रधानमन्त्रीका उम्मेदवारलाई एउटै मंचमा राखेर बहसका लागि दबाब दिऊ ।
बिदेशमा पनि राष्ट्रपति र प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने प्रचलन छन् । भारतमा गत वर्ष सम्पन्न निर्वाचनमा हालका प्रधानमन्त्री नरेद्र मोदीलाई प्रधानमन्त्री घोषणा गरेर भाजपा चुनावमा होमिएको थियो । अमेरिकामा पनि राष्ट्रपति उम्मेदवार घोषणा गरेर चुनावमा होमिन्छन् । यहाँ पनि असल अभ्यासको सुरुआत गर्नु राम्रो पक्ष हो । प्रस्तावित प्रधानमन्त्रीका योजना उनीहरुकै मुखबाट सुन्न, बुझ्न पाउनु मतदाताको अधिकार हो ।
संयुक्त राज्य अमेरिकामा १९६० देखि पछिल्लो २०२४ सम्मको हरेक चुनावमा राष्ट्रपतिका उम्मेदवारले ‘लाइभ डिबेट’ गरेर मतदातासँग आफ्ना एजेण्डा राख्दै आएका छन् । ताइवान र केन्या जस्ता मुलुकले पनि यसको अभ्यास गरेका छन् । त्यस्तो भए हाम्रा भावी प्रधानमन्त्रीका उम्मेदवारहरु एउटै मंचमा बसेर ‘लाइभ डिबेट’ गर्न तयार छन् ? स्वच्छ बहस जरुरी छ । त्यसका लागि गगन, बालेन्द्र र ओली तयार होलान ?
राजनीतिक स्थिरता र सुशासन, शिक्षा र स्वास्थ्य, आर्थिक विकास र रोजगारी, पूर्वाधार विकास, वातावरण र जलवायु परिवर्तन, विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे भावी प्रधानमन्त्रीका योजना के हुन् ? यसबारे जनताले जान्न नपाउने ? कृषि प्रधान देश भनिन्छ मल, बीउ र सिंचाई अभावले किसान मारमा छन् । पर्यटनबाटै समृद्धि भनिन्छ, पर्यटन क्षेत्रमा सन्नाटा छ । उद्योगहरुले ३० प्रतिशत हाराहारी मात्र उत्पादन गरिरहेका छन् । रेमिट्यान्सले देश धानेको छ । नवयुवालाई प्रविधिमा जोड्नु छ । जेनजी भावना अनुसार सुशासन कायम गर्नुछ । यस्तो बेला भावी प्रधानमन्त्रीका योजना के हुन् ? यी विषयमा जान्न, बुझ्न र सुन्न नपाउने ? पक्कै पाउनु पर्छ ।
योजनाबिहीन नेता छनोटले आज हामीले कुन अवस्था भोगेका छौं, त्यो छर्लङ्ग छ । अब, त्यो छुट छैन, किनकी हामीले फेरि १० वर्षे सशस्त्र द्वन्द्व, नाकाबन्दी, जेनी आन्दोलन जस्ता समस्या भोग्नु छैन । द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोरोना महामारीले हामी त्यसै दशकौं पछाडी परिसकेका छौं । अब, ती दिन भुल्ने गरी हामीलाई सुशासन र विकास चाहिएको छ । एमाले अध्यक्ष ओली डिबेट गर्न तयार भए, बालेनले त्यो नकारी सकेका छन् । गगन यसबारे केही बोलेका छैनन् । तर, प्रश्नबाट नभागौं । दावेदार एक मंचमा आउन तयार होऊ । त्यसैले भावी प्रधानमन्त्री एउटै थलोमा बहस गर्न तयार होऔं । उनीहरुका वास्तविक योजना सुनेर र पढेर बल्ल मत हालौं ।

Advertisement