June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

लुम्बिनीमा तेस्रो बर्ड फेयर

Advertisement

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबारबाट तेस्रो नेपाल बर्ड फेयर सुरु भएको छ । लुम्बिनीको आध्यात्मिकसँगै चरा र पर्यापर्यटनका आकर्षण उजागर गर्ने उद्देश्यले सोमबार बिहानबाट कार्यक्रम सुरु भएको हो ।

Advertisement

पोखरा पंछी समाजद्वारा आयोजित बर्ड फेयर मंगलबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन विभित्र जिल्लाबाट संरक्षणकर्मी लुम्बिनी आएका छन् । बर्ड फेयरअन्तर्गत दुई स्थानमा कार्यक्रम गरिनेछ । विज्ञ, विशेषज्ञ, अनुसन्धानकर्मी, चराविद् र विद्यार्थीका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय सभा हलमा विभिन्न सात विषयमा एकेडेमिक सेसन, बर्ड सिम्पोजियम, छलफल र गोष्ठी हुनेछ ।

स्थानीय, विद्यार्थी र पर्यापर्यटनमा रुचि राख्नेलाई लुम्बिनीभित्र थाई भिजिटर सेन्टर र बेबी बुद्धनिर चराका विभिन्न स्टल राखिएको छ । त्यस्तै चरा फोटो प्रदर्शनी र बर्ड रेस (चरा चिन्ने) प्रतियोगिता पनि गरिनेछ । चरा प्रजाति, जैविक विविधता र चराका महत्वपूर्ण बासस्थानको संरक्षणका लागि सचेतना जगाउन कार्यक्रम गरिएको हो ।

स्थानीय समुदाय, विद्यार्थी, गाइड, अनुसन्धानकर्ता र संरक्षणसँग सम्बन्धित संघसंस्थाबीच ज्ञान आदानप्रदान, सहकार्य र नेटवर्किङ गरेर चरा पर्यटनसँगै पर्या पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले बर्ड फेयर आयोजना गरिएको पोखरा पंछी समाजका अध्यक्ष तथा नेपाल बर्ड फेयर आयोजक कमिटी संयोजक मनशान्त घिमिरेले बताए ।

कार्यक्रममा मुलुकभरका पन्छीविद्, अनुसन्धानकर्ता र संरक्षणकर्मी सहभागी छन् । त्यस्तै भारत, भुटान, श्रीलंका, फिलिपिन्स, सिंगापुर, हङकङ र ताइवानबाट चरा संरक्षणमा क्रियाशील संघसंस्था र टुर अपरेटर लिडर सहभागी छन् । फेयरमा बीटूबी कार्यक्रम पनि गरिनेछ । कार्यक्रमले लुम्बिनी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रमात्र नभएर चरा पर्यटनका लागि मुलुककै उत्कृष्ट स्थल भएको आकर्षण उजागर गर्ने नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरीले बताए । बर्ड फेयर लुम्बिनीको पर्यटन विकासका लागि कोसे ढुंगा साबित हुने ग्रिन युथ अफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले बताए ।

‘लुम्बिनी सिकारी चरा अवलोकनका लागि त विश्वकै उत्कृष्ट स्थल हो,’ वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने, ‘बर्ड फेयरमा आउने विदेशी टुर अपरेटरले यहाँका आकर्षण बाहिर लगेर आईटनरी बनाउँदा त्यसको महत्त्व विश्वव्यापी रूपमा उजागर हुन्छ ।’ लुम्बिनीभन्दा अघि पोखरा र नवलपुरमा पहिलो र दोस्रो बर्ड फेयर भएको थियो ।