June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

शिक्षामा लुम्बिनी प्रेस क्लबले गरेका पहल

Advertisement

परिचय: शिक्षा आर्जन गर्नु आजको आवश्यकता मात्र होइन, जीवनलाई सही दिशा दिने सबैभन्दा बलियो आधार हो । शिक्षाले नै व्यक्तिको भविष्य उज्ज्वल बनाउँछ भन्ने कुरा व्यवहारमै प्रमाणित भइसकेको छ । शिक्षा बिना मानिस अज्ञानतामा बाँधिन्छ भने शिक्षाले उसलाई ज्ञान, सीप र विवेक प्रदान गर्दै आत्मनिर्भर र सक्षम बनाउँछ । त्यसैले शिक्षा मानव जीवनको अमूल्य धन हो ।

Advertisement

शिक्षा केवल किताब पढ्ने वा परीक्षा पास गर्ने माध्यम मात्र होइन । यसले मानिसलाई सोच्न, बुझ्न र सही निर्णय गर्न सक्ने बनाउँछ । शिक्षित व्यक्ति समाजमा घट्ने विभिन्न घटनालाई तर्कसङ्गत ढङ्गले विश्लेषण गर्न सक्छ र समस्याको समाधान खोज्न सक्षम हुन्छ । आजको प्रतिस्पर्धात्मक युगमा शिक्षा बिना रोजगारी पाउन कठिन छ । शिक्षाले व्यक्तिलाई दक्ष जनशक्तिको रूपमा विकास गरी आत्मनिर्भर बनाउँछ र आर्थिक रूपमा सबल बन्न सहयोग गर्छ ।

क्रियाशील पत्रकारहरुले स्थापना गरेको लुम्बिनी प्रेस क्लबले पनि संस्थागत रुपमा शिक्षा क्षेत्रको प्रबद्र्धनमा विषेश योगदान दिइरहेको छ । सामुदायिक र संस्थागत विद्यालयहरुसँगको सहकार्यमा निःशुल्क शिक्षा, रोल्पाली चेलि विनिताका लागि शिक्षामा सहयोग महत्वपूर्ण कार्य हुुन् । त्यसका अतिरिक्त शैक्षिक पुरस्कार स्थापनामा सहकार्यदेखि शिक्षा क्षेत्रका समाचार लेख्न संस्थागत रुपमा गरिएको उत्प्रेरणाजन्य कार्य पनि उदाहरणको रुपमा छन् ।

महत्वपूर्ण कार्य
लुम्बिनी प्रेस क्लबले शैक्षिक क्षेत्रको उन्नयनका लागि संस्थागत रुपमा र प्रेस क्लबका पत्रकारहरुले पत्रकारिता मार्फत गरेको महत्वपूर्ण कार्यको बेलिबिस्तार यहाँ लगाएर सम्भब पनि हुँदैन । तथापी संस्थागत रुपमा भएका केही महत्वपूर्ण कार्यहरुलाई प्रस्टाइएको छ ।

विनितालाई दिएको शिक्षा
२०७३ साल कार्तिक महिनामा रोल्पाको थबाङ गाविस वडा नम्बर ८ मा बसोबास गर्ने सुनकुमारी नेपाली आफ्नै घरभित्र भएको हिंसाको सिकार बनिन् । आफ्नै श्रीमान् धुव्र नेपाली र बहिनी नाता पर्ने जाला नेपालीद्वारा मरणासन्न हुने गरी कुटपिट गरिएकी उनी जीवन र मृत्युको दोसाँधमा पुगिन् । गम्भीर घाइते अवस्थामा रहेकी उनलाई असोज २८ गते युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसीएमएस) भैरहवा ल्याइयो । उपचार अत्यावश्यक थियो, तर आर्थिक अवस्था उपचार खर्च धान्न सक्ने खालको थिएन ।

यही कठिन घडीमा लुम्बिनी प्रेस क्लब मानवीय दायित्व बोकेर अघि आयो । पत्रकारितालाई केवल समाचार लेखनमा सीमित नराखी सामाजिक जिम्मेवारीसँग जोड्दै क्लबले सुनकुमारीको सम्पूर्ण उपचार खर्च बेहोरेर उनको जीवन जोगाउने काम गर्यो। समयमै भएको यो सहयोगले एउटा ज्यान मात्र बचाएन, एक परिवारको भविष्यलाई पुनः सम्भावनातर्फ फर्कायो ।

तर उपचारपछि अर्को गम्भीर प्रश्न उठ्यो- सुनकुमारीकी छोरी विनिता नेपालीको भविष्य के हुने ? आमा गम्भीर हिंसाबाट पीडित, पारिवारिक संरचना कमजोर र आर्थिक स्रोत शून्यप्रायः अवस्थामा विनिताको शिक्षा निरन्तरता पाउनु अत्यन्त चुनौतीपूर्ण थियो । यस्ता परिस्थितिमा धेरै बालबालिका विद्यालय छाड्न बाध्य हुन्छन् । तर विनिताको कथाले फरक मोड लियो । लुम्बिनी प्रेस क्लबले विनिता नेपालीको अविभावकत्व ग्रहण गर्दै एसओएससँग अनुरोध गरि पठनपाठनको व्यवस्था मिलायो । अहिले उनी क्याम्पस अध्ययन गर्ने गर्दछिन् ।

शैक्षिक पुरस्कार
लुम्बिनी प्रेस क्लब रूपन्देहीले शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरूको योगदानलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले महत्वपूर्ण पहल थालेको छ । क्लबले भाष्करनन्द–माया शर्मा अक्षय कोषसँग सहकार्य गरी हरेक वर्ष शिक्षा पत्रकारिता पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाएको हो ।

भाष्करनन्द–माया शर्मा अक्षय कोषबाट प्रदान गरिने शिक्षा पत्रकारिता पुरस्कारले शिक्षासम्बन्धी खोजमूलक, विश्लेषणात्मक र जनहितका समाचार तथा सामग्री उत्पादन गर्ने पत्रकारहरूलाई प्रेरित गरेको छ । यो पुरस्कारको स्थापना क्लबका अध्यक्ष माधब ढुङ्गाना हुँदा २०७२ सालमा स्थापना गरिएको हो । अहिलेसम्म दीपेश पछाई, सम्झना शर्मा, अरुण ज्ञवाली, माधब न्यौपाने, रबिन्द्र गुप्ता र नरेश केसीलाई पुरस्कार प्रदान गरिएको छ । २०८१ सालदेखि उक्त पुरस्कार वितरण गरिएको छैन ।

निःशुल्क शिक्षा
लुम्बिनी प्रेस क्लब रूपन्देहीले आफ्ना सदस्य पत्रकारहरूको हितलाई केन्द्रमा राख्दै शिक्षा क्षेत्रमा एक महत्वपूर्ण र उदाहरणीय पहल अगाडि बढाएको छ । क्लबले प्याब्सन सिद्धार्थनगर रूपन्देहीसँग सहकार्य गर्दै सदस्य पत्रकारका छोराछोरीलाई निःशुल्क अध्ययन गराउने व्यवस्था मिलाएको हो । आर्थिक रूपमा सीमित स्रोत भएका पत्रकार परिवारलाई राहत दिने उद्देश्यले सुरु गरिएको यो पहललाई सामाजिक उत्तरदायित्वको रूपमा पनि लिइएको छ ।
यस सहकार्यअन्तर्गत प्याब्सन सिद्धार्थनगरको सहकार्यमा २०८० सालमा सम्झौता भएको थियो । तत्कालीन प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेल र क्लबको अध्यक्ष सम्झना शर्माको सहजिकरण थियो ।

पत्रकारिता पेशा समाजका समस्या उजागर गर्ने, सत्यतथ्य सूचना प्रवाह गर्ने र लोकतन्त्रलाई बलियो बनाउने आधारस्तम्भका रूपमा लिइन्छ । तर यही पेशामा आबद्ध धेरै पत्रकारहरू आर्थिक चुनौतीका कारण पारिवारिक दायित्व पूरा गर्न कठिनाइ भोगिरहेका छन् । विशेषगरी छोराछोरीको शिक्षा खर्च ठूलो बोझका रूपमा देखिने गरेको छ । यही यथार्थलाई मध्यनजर गर्दै क्लबले यो पहल थालेको हो ।

क्लबले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक कल्याणका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने छ । पत्रकारको हितसँगै समाजको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यले गरिएको यो पहल प्रेरणादायी र अनुकरणीय छ ।

स्वास्थ्य चेकजाँचको पहल
क्लबले पत्रकारहरूको पेशागत हकहितका विषयमा मात्र होइन, उनीहरूको स्वास्थ्य सुरक्षाप्रति पनि निरन्तर चासो र चिन्ता व्यक्त गर्दै आएको छ । पत्रकारिता क्षेत्र आफैंमा चुनौतीपूर्ण, जोखिमपूर्ण र मानसिक तथा शारीरिक रूपमा थकानपूर्ण पेशा हो । समाचार संकलन, फिल्ड रिपोर्टिङ, समयको चाप र असुरक्षित वातावरणमा काम गर्नुपर्ने अवस्थाले पत्रकारहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरेको यथार्थलाई क्लबले गम्भीर रूपमा लिँदै आएको छ । क्लबको अध्यक्ष नरेश केसी हुँदा उक्त कार्य भएको थियो ।

यही सन्दर्भमा विगतमा क्लबले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसीएमएस) र सिद्धार्थनगर सिटी अस्पतालसँग सहकार्य गरी पत्रकारहरूका लागि निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममार्फत पत्रकारहरूले सामान्य स्वास्थ्य परीक्षण, चिकित्सकको परामर्श तथा आवश्यक सुझाव प्राप्त गर्ने अवसर पाएका थिए । व्यस्त कार्यतालिकाका कारण स्वास्थ्यप्रति ध्यान दिन नसकिरहेका पत्रकारहरूका लागि यो पहल निकै सकारात्मक र उपयोगी सावित भएको थियो । यसले पत्रकार समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउन समेत सहयोग पुर्याएको थियो ।

निष्कर्ष
शिक्षा हिंसा न्यूनीकरणको दीर्घकालीन उपाय पनि हो । शिक्षित समाजले अधिकार बुझ्छ, अन्यायविरुद्ध आवाज उठाउँछ र हिंसालाई सामान्य ठान्दैन । सुनकुमारीमाथि भएको हिंसा जस्ता घटनाहरू पुनः नदोहोर्याउन शिक्षा नै सबैभन्दा प्रभावकारी माध्यम हो ।

नेपालजस्तो देशमा राज्यका प्रयाससँगै नागरिक समाजको सक्रियता अपरिहार्य छ । प्रेस क्लबले देखाएको मानवीयता र शिक्षाप्रतिको प्रतिबद्धता अनुकरणीय छ । यसले देखाउँछ- सामूहिक प्रयास, संवेदना र शिक्षा मिल्दा पीडालाई सम्भावनामा रूपान्तरण गर्न सकिन्छ ।

अन्ततः, विनिता नेपालीको शिक्षा निरन्तर हुनु केवल एक परिवारको कथा होइन । यो कथा हो- जब समाजले हात बढाउँछ, जब शिक्षा प्राथमिकतामा राखिन्छ र जब पत्रकारिता सामाजिक परिवर्तनको संवाहक बन्छ । पीडाबाट उज्यालोतर्फको यो यात्रा अझै जारी छ । र, यही यात्राले देखाउँछ- शिक्षा नै सबैभन्दा बलियो आशा हो ।

(साभारः लुम्बिनी प्रेस क्लबद्वारा प्रकाशित लुम्बिनी प्रेस बुलेटिन ।)