रुरुको अटिजम पाठशाला बन्यो बरदान


गुल्मी– गुल्मीको रुरु क्षेत्रमा सञ्चालन भएको अटिजम पाठशाला अभिभावकका लागि बरदान सावित भएको छ । पाठशाला सञ्चालन भएपछि अटिजम भएका बालबालिकाका अभिभावकलाई सहज भएको हो । रुरु क्षेत्र गाउँपालिकाका अगुवा र पालिकाको सहयोगमा पाठशाला सञ्चालनमा आएको हो ।
सुरुमा अटिजमको लक्षण देखिएका बालबालिकाको समस्या जानकारी नहुँदासम्म यहाँका अभिभावक हैरान थिए । उनीहरु कुनै दैविक कारण त्यस्तो समस्या भोग्नु परेको ठान्थे । अटिजमबारे जानकारी भएपछि उनीहरुले आफ्ना सन्तानको उचित स्याहार र रेखदेख गर्न सकेका छन् ।
रुरुक्षेत्र–१, रिडीका बिष्णु र अमृता भण्डारी अटिजमबारे जानकारी मिलेपछि सन्तानको व्यवहार परिवर्तन गर्न सफल दम्पती हुन् । पति–पत्नीको सकारात्मक बुझाइका कारण छोराहरुले पीडा सहनु परेन । २०६४ र २०६९ मा जन्मिएका अविरल र अनुपमलाई कस्तो शारीरिक समस्या देखिएको हो भनेर सुरुमा पत्तो पाएनन् ।
जचाउँदैं जाँदा अटिजम पुष्टि भयो । जेठा छोरा ४ वर्षको हुँदा अटिजम पहिचान भयो । अनि दोस्रो सन्तानमा पनि त्यही समस्या देखियो । सुरुमा सन्तानमा समस्या देखिएपछि अनेक कुरा सुन्नु पर्यो । तर, हार नमानेर अमृताले अटिजमलाई एक सिकाइका रुपमा लिइन् । छोराको रेखदेख गर्न अटिजम केयर नेपाल सोसाइटीबाट यससम्बन्धी तालिम लिइन् । २०७४ सालमा आफ्नै घरको एक कोठाबाट यससम्बन्धी ‘केयर’ सुरु गरिन् । त्यसपछि दैनिकी सहज बन्दै गयो । यिनै दम्पतीकै कारण रुरुक्षेत्रमै अटिजम पाठशाला नेपाल सञ्चालनकालागि स्थानीय अगुवाले सहयोग गरे ।
पाठशालामा बालबालिकालाई विभिन्न तालिम, रेड क्लास, ब्युलु क्लास र एल्लो क्लासमार्फत सिकाइ हुन्छ । रुरुक्षेत्रस्थित रिडी रातामाटामा जुनकुमार र तुल्सीकुमारी श्रेष्ठ दम्पतीले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएर लुम्बिनी प्रदेश सरकार र रुरुक्षेत्र गाउँपालिकाको ६० लाख रुपैयाँ लगानीमा पाठशालाको पाँच कोठे भवन निर्माण भएको छ । साथै स्थानीय १ सय ६ जना सहयोगीबाट २३ लाख रुपैयाँ जुटाएर अक्षयकोष स्थापना गरिएको छ ।
दुई जनाका लागि आवासीय व्यवस्था छ । प्रदेश सरकारको सहयोगमा दुई जना स्वयंसेवक शिक्षक राखिएका छन् । पाठशालाबाट अहिलेसम्म ३९ जना यस्ता समस्या भएका बालबालिकाले तालिम लिइसकेका छन् । पाठशालालाई एउटा सवारी साधन र होस्टल आवश्यक रहेको अटिजम पाठशाला प्रमुख अमृता कंडेल भण्डारीले बताइन् । ‘बालबालिकालाई पाठशालामा कुनै शुल्क लाग्दैन्,’ उनले भनिन, ‘तर, सुरुवाती चरणमा पाँच हजार रुपैयाँ बराबरको खेलौना आवश्यक पर्छ ।’ पाठशालामा सिकाइपछि बालबालिका बिस्तारै घाँस काट्ने, खाना पकाउने, मागेको कुरा दिने, ढोका खोल्ने, बन्द गर्ने, सिढी चढ्ने, बस्तुहरू चिन्ने, भनेको कुरा मान्ने, गीत गाउने र भुल्ने लगायत व्यवहारमा सुधार देखिएको उनले बताइन् ।
रुरुक्षेत्र गाउँपालिकाकाका अध्यक्ष यदु ज्ञवालीले सुरुवाती अगुवाइ गर्ने भण्डारी दम्पतीसँग मिलेर संरचनागत र स्वयंसेवक शिक्षक सहयोग गरेको बताए । ‘अटिजमलाई बिशेष क्षमताका रुपमा लिएर तालिम प्रदान लगायतमा काम गरेका छौं’, उनले भने, ‘अपांगता सहायता सामग्री र अभिभावकलाई पनि आयआर्जनमा जोड्ने कार्यक्रम ल्याएका छौं ।’ थप संरचनागत विकास र मागमा आधारित सहयोग गर्न संघीय सरकारसँग पहल गरिरहेको उनले बताए ।








प्रतिकृया दिनुहोस्