तिलौरोकोट दरबार क्षेत्रमा उत्खनन सुरु


भैरहवा–बुद्धस्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने गरि कपिलबस्तुस्थित प्राचिन तिलौरोकोट दरबार क्षेत्रमा उत्खनन सुरु गरिएको छ । तिलौराकोट बुद्धले २९ बर्षसम्म गृहस्थ जिवन बिताएको र बुद्धका बुवा शुद्धोधनको दरबार क्षेत्र हो ।
लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राइले तिलौरोकोट दरबार क्षेत्रमा यस भन्दा अघि गरिएको उत्खननको क्रममा फेला परेका संरचनाको अध्ययनलाई पुरा गर्न बुधवारदेखि उत्खनन सुरु गरिएको पब्लिक कुरासँग बताए । उनका अनुसार, यस भन्दा अघि उत्खखनका क्रममा त्यस क्षेत्रमा अर्धबृत्त आकारको मन्दिरहरु फेला परेका थिए । ती मन्दिरहरुको अध्ययन पुरा गरि अर्को बर्ष सूचिकृतका लागि पेस गरिने छ ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले विश्वसम्पदा सूचिमा सूचीकृत गर्न थप प्रमाण आवश्यक परेका कारण पुनः उत्खनन थालिएको बताइन । तिलौराकोटका विभिन्न क्षेत्रमा विगतमा उत्खनन भएका संरचनाहरु प्रकाशमा आइसकेको र विश्वसम्पदामा सम्भावित १५ वटा क्षेत्रमध्ये तिलौराकोट पनि रहेको उनले जनाइन ।
सन् २०१४ देखि बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा तिलौराकोटवरिपरि उत्खनन गरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताए । तिलौराकोटलाई विश्वसम्पदामा सूचीकृत गर्न युनेस्कोको विश्वसम्पदा केन्द्रमा प्रस्तावहरू बुझाए पनि केही कारणले सूचीकृत हुन नसकेको र आगामी दिनमा विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गर्ने योजना रहेको उनले बताए ।
तिलौराकोट दरबार क्षेत्रको योजनाबद्ध बिकासका लागि करिब ५० बिघा क्षेत्रफल विभागले अधिग्रहण गरिसकेको छ । बिहीबारदेखि मुख्य दरबारपरिसरको उत्खनन सुरु गरिने भएको छ । युनेस्कोले सन् १९९६ मा ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।
तिलौराकोट दरबार क्षेत्रमा आयोजित कार्यक्रममा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले तिलौराकोटलाई अझै संरक्षण र सम्बर्धन गर्नुपर्ने बताए । गुरुयोजना अनुसार जग्गा अधिग्रहणलगायतका कार्य जारी रहेको उनले जनाए । ‘बुद्धले २९ वर्ष बिताएको ठाउँलाई जुन किसिमले विकास गर्नुपर्ने हो, त्यो किसिमबाट हुन सकेको छैन’ उनले भने ।’








प्रतिकृया दिनुहोस्