देश बनाउनेहरूलाई मत दिनुपर्छः पोखरेल


दाङ- एमाले महासचिव एवम् दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले सिंहदरबार जलाउने सोच र कार्यशैलीले देश बनाउन नसकिने बताएका छन् । उनले सिंहदरबार जलाउनेहरूले देश बनाउँदैनन् भन्ने कुरा जनताले बुझिसकेको बताए ।
घोराहीमा बुधबार पेसागत महासङ्घ नेपाल दाङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘अब त्यस्ता शक्तिलाई होइन देश बनाउनेहरूलाई मत दिनुपर्छ । आगामी निर्वाचनमा जनताले विनाश होइन निर्माण चाहने शक्ति खोजेका छन् ।’ सिंहदरबार जलाउने सोच र कार्यशैलीले देश बनाउन नसकिने उनले बताए ।
पोखरेलले विगतका केही आन्दोलन र राजनीतिक गतिविधिमा राष्ट्रिय प्रतीकमाथि भएको आक्रमणलाई राष्ट्र विरोधी कार्यको रूपमा व्याख्या गरे । सिंहदरबार नेपालको केन्द्रीय प्रशासनिक केन्द्र भएकाले त्यसप्रति आक्रमण अस्वीकार्य रहेको उनको भनाइ थियो । उनले यो निर्वाचनलाई देश निर्माणको महत्त्वपूर्ण अवसरको रूपमा लिन आग्रह गरे । अब जनताले अस्थिरता, बारम्बार सरकार परिवर्तन र विनाशकारी राजनीतिलाई अस्वीकार गर्दै विकास , समृद्धि र स्थिरताको पक्षमा मतदान गर्ने विश्वास उनले व्यक्त गरे ।
दाङको विकासबारे बोल्दै महासचिव पोखरेलले सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । घोराही र आसपासका क्षेत्रको समग्र विकासका लागि निरन्तर काम गर्ने उनको भनाइ थियो । कार्यक्रममा सहभागी पेसागत महासङ्घका पदाधिकारी तथा सदस्यहरूले राजनीतिक स्थिरता बिना विकास सम्भव नहुने भन्दै उनको विचारलाई समर्थन गरे । उनीहरूले निर्वाचनमा सचेत र जिम्मेवार मतदान आवश्यक रहेको पनि बताए ।
महासचिव पोखरेलले एमाले सधैँ जनताको हित, राष्ट्रिय एकता र देश निर्माणको पक्षमा उभिने पार्टी भएको उल्लेख गरे । विनाशकारी सोच र व्यवहारले देश अगाडि बढ्न नसक्ने कुरा उनले दोहोर्याए । कार्यक्रमको अन्त्यमा उनले सबैलाई एकजुट भएर देश निर्माणको अभियानमा लाग्न आह्वान गरे ।








प्रतिकृया दिनुहोस्