June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

चुनाव लड्न लुम्बिनीका तीनजना सांसदले दिए पदबाट राजीनामा

Advertisement

भैरहवा– प्रतिनिधिसभा निर्वाचन लड्नका लागि लुम्बिनी प्रदेश सभाका तीन जना सांसदले पदबाट राजीनामा दिएका छन् ।

Advertisement

प्रदेश सभा सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का धनबहादुर मास्की र नेकपामा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद धर्मबहादुर चौधरीले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका हुन् । यस्तै, रुपन्देही क्षेत्र नम्बर ४ (१) मा तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित कन्हैया बनियाले राजीनामा दिएका छन् ।

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले दुईजना प्रदेश सभा सदस्यले आइतबार र एकजनाले सोमबार पदबाट राजीनामा दिएको बताए । चौधरी यसअघि नाउपाबाट बर्दिया २ (२)बाट निर्वाचित भएका थिए । तर नाउपा प्रचण्ड नेतृत्वको नेकपामा समाहित भएपछि उनी भने कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा लागेका थिए । उनी उज्यालो नेपाल पार्टीका महासचिवसमेत हुन् ।

मास्की दाङ निर्वाचन क्षेत्र नं. ३ बाट र चौधरी बर्दिया–२ बाट उम्मेदवार बन्न लागेका छन् । बानियाँ रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेका छन् ।

मास्की यसअघि तत्कालीन नेकपा माओवादी, एकीकृत समाजवादी र कांग्रेससहितको गठबन्धनबाट २०७९ को निर्वाचनमा दाङ ३ (२) बाट एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गरेका थिए । उनी लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।

चौधरीले यसअघि माओवादी–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मानबहादुर थारुलाई हराउँदै विजयी भएका थिए । उनी प्रदेश सभामा नउपाबाट भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका थिए ।