अब्बल नेतृत्वकर्ता आलम मुस्लिम कोटामा एमालेबाट समानुपातिकको एक नम्बरमा


बुटवल- सामाजिक होस् वा निजी क्षेत्र अथवा राजनीति । हरेक क्षेत्रमा आफूलाई दरिलो, बलियो र अब्बल सावित गर्नेमा पर्छन्, रुपन्देहीको बुटवलका एजाज आलम । रोटरी, निजी क्षेत्रको साझा संस्था, अस्पताल लगायत अन्य दर्जनौं क्षेत्रमा कुशल नेतृत्व गरिसकेका आलमलाई जिल्लामा नचिन्ने कमै होलान ।
सामाजिक काम गर्न रुचाउने उनी अब्बल नेतृत्वकर्ताका रुपमा समेत जिल्लामा परिचित छन् । उनै आलमलाई नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकको बन्द सूचीमा समावेश गरेको छ । यसअघि उनको नाम समानुपातिक सूचिमा थिएन । तर, एमालेले निर्वाचन आयोगमा उम्मेदवारको नाम संशोधन गर्दा रुपन्देहीबाट एजाज आलमको नाम थप गरेको हो । यसअघि समानुपातिक तर्फको सूचीमा रुपन्देहीबाट एक जना पनि उम्मेदवार समावेश नगरिएको भन्दै आलोचना भएको थियो ।
सोही आलोचना र जिल्लाका पार्टी कार्यकर्ताहरूको दबाबपछि एमालेले आलमको नाम थप गरेको हो । आइतबार निर्वाचन आयोगले सार्वजनिक गरेको बन्द सूचीमा मुस्लिम पुरुषबाट आलमलाई पहिलो नम्बरमा राखेको छ । आलम हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन् ।
रुपन्देहीका उद्योगीहरू माझ लोकप्रिय आलम रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष हुन् भने नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एवं औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष छन् । यी संस्थामा उनले असल नेतृत्व गरिरहेका छन् । जसले गर्दा उनी उद्योगी व्यवसायीहरुबीच निकै लोकप्रिय छन् ।
सानो उमेरदेखि नै उद्योग व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहेका आलमकै अगुवाइमा बुटवलमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल सञ्चालनमा छ । आलम उक्त अस्पताल सँगै लुम्बिनी सामुदायिक टेलिभिजनको समेत अध्यक्ष छन् ।
उद्यम, निजी क्षेत्रको नेतृत्व, संचार क्षेत्रमा समेत लगानी गरी क्रियाशील आलम एमालेको राजनीतिमा समेत सक्रिय छन् । आलम समानुपातिक सूचिमा समावेश भएपछि एमाले रुपन्देही पंक्तिमा खुशीयाली समेत छाएको छ । उनलाई सांसद भएको हेर्न चाहनने र विकास निर्माणमा साझेदार भएको देख्न चाहने जिल्लामा थुप्रै छन् । जसले गर्दा एमाले मात्रै होइन्, उनका शुभेच्छुक समेत हर्षित भएका छन् ।








प्रतिकृया दिनुहोस्