विष्णु रुपन्देही-२, पोखरेल दाङ-२ बाटै उम्मेदवार, छविलालको क्षेत्रमा दधिरामको इन्ट्री


भैरहवा- नेकपा एमालेबाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाटै निर्वाचन लड्ने भएका छन् । उनलाई रुपन्देही-२ बाटै उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको हो । यसअघि पाल्पा २ बाट निर्वाचन लड्ने तयारीमा पौडेल थिए । जिल्लाबाट पौडेललाई नै उम्मेदवार बनाउन चर्को दवाव परेको थियो ।
पौडेल पाल्पा गएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले रुपन्देही-२ बाट निर्वाचन लड्ने हल्ला समेत थियो । तर, पोखरेलले आफ्नै क्षेत्र दाङ क्षेत्र २ को टिकट लिएका छन् । शनिबार बसेको सचिवालय बैठकले उनको क्षेत्रको टिकट होल्ड गरे पनि आइतबार महासचिव पोखरेलले पार्टीबाट आधिकारिक टिकट लगेको बताइएको छ ।
सचिवालय बैठकले ‘महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने’ भन्दै उनको टिकट होल्ड गरेको थियो । गत २०७९ को निर्वाचनमा पोखरेल उक्त क्षेत्रबाट पराजित भएका थिए । अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र समेत रहेका पोखरेल संसदीय निर्वाचनमा भने पटक पटक पराजित हुँदै आएका छन् । यता पौडेलले भने रुपन्देहीबाट निरन्तर निर्वाचन जित्दै आएका छन् ।
छविलालले पाएनन् टिकट
नेकपा एमालेमा यतिबेला उम्मेदवार सिफारिसलाई लिएर विवाद छ । अध्यक्ष ओलीले इतर खेमाका नेताहरुलाई टिकट नदिएको भन्दै आलोचना भइरहेको छ । तर, रुपन्देही क्षेत्र नम्बर १ मा भने ओली पक्षीयबाट केन्द्रीय सचिव रहेका छविलाल विश्वकर्माले भने टिकट नै पाएनन् । उनको ठाउँमा पूर्वमाओवादी पृष्ठभूमिका केन्द्रीय सदस्य दधिराम न्यौपानेलाई एमालेले उम्मेदवार बनाउने भएको छ ।
छविलालले यही क्षेत्रबाट पटक पटक निर्वाचन जित्दै आएका थिए । तर, उनले टिकट नपाएपछि उनको क्षेत्रमा असन्तुष्टि बढ्दो छ । न्यौपाने भने यसअघि प्रदेशसभामा पराजित भएका थिए । छविलालल आफै निर्वाचन लड्न चाहेनन् वा उनलाई पार्टीले टिकट दिएन भन्ने एकीन हुन सकेको छैन । तर, उनी पक्षीय नेताहरुले भने गुनासो गर्न थालेका छन् ।
एमालले रुपन्देही–३ मा बासुदेव घिमिरे, रुपन्देही–४ मा सुनिता ठठेर र रुपन्देही–५ मा खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने जनाइसकेको छ । २०७९ को निर्वाचनमा एमालले क्षेत्र नम्बर १, २ र ५ बाट निर्वाचन जितेको थियो एकबाट छविलाल, दुईबाट पौडेल र ५ बाट बासुदेव निर्वाचित भएका थिए । उनीहरुमध्ये पौडेल र बासु उम्मेदवारका रुपमा दोहोरिएका छन् । बासुदेवलाई पाँचबाट नभई यसपटक एमालेले क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाएको छ ।








प्रतिकृया दिनुहोस्