जसपा नेपाल बाँकेका नेता इश्तियाक राई एमालेबाट चुनाव लड्ने


नेपालगंज- पछिल्लो तीन महिनामा दुईवटा पार्टी बदलेका बाँकेका नेता मोहम्मत इश्तियाक राई नेकपा एमालेको सूर्य चिह्न लिएर उम्मेदवार बन्ने भएका छन् । अशोक राई नेतृत्वको जसपामा सक्रिय उनी विगतमा मन्त्री समेत भएका थिए ।
जेनजी आन्दोलनले सत्ता ढलेपछि उनी उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए । तर, प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताको समुखमा उनी नेकपा एमालेबाट बाँके–२ मा निर्वाचन लड्ने भएका हुन् । जसपा नेपालका नेता उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चुनाव लड्ने पक्का गरेका छन् ।
सोमबार राति पूर्वमन्त्री एवम् जसपा नेता प्रदीप यादवसहित नेताहरूसँग इस्तियाक राई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवास पुगेका थिए । त्यहाँ आफूले एमालेको चुनाव चिह्न लिएर उठ्ने सहमति भएको राईले बताए । गत शनिबार बसेको एमाले सचिवालय बैठकले बाँके–२ अध्यक्ष ओलीले निर्णय गर्ने गरी खाली राखेको थियो ।
राईले भने, ‘अहिले एमालेको चुनाव चिह्न लिएर लड्ने सल्लाह भएको छ । एमालेको जिम्मेवारी लिएको छैन । चुनावपछि के हुन्छ भन्न सकिँदैन । सायद अब एमालेमै जिम्मेवारी लिएर रहन्छु होला ।’
राई यसअघि बाँकेको सोही निर्वाचन क्षेत्रबाट २०६४, २०७४ मा निर्वाचित भएका थिए । २०७० को दोस्रो संविधान सभा र २०७९ को प्रतिनिधि सभामा भने पराजित भएका थिए । उनी तीन पटक मन्त्री बनिसकेका छन् । उक्त क्षेत्रमा उनको राम्रो प्रभाव छ ।








प्रतिकृया दिनुहोस्