लुम्बिनीमा संचालनमा आयो पर्यटक सूचना केन्द्र


भैरहवा– लामो समयपछि बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक सूचना केन्द्र सञ्चालनमा आएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका, पर्यटन बोर्ड, युएनडीपी, एसटीपी लगायत दातृ संस्थाको सहयोगमा आइतबारबाट सूचना केन्द्र सञ्चालनमा आएको हो ।
लुम्बिनीको पर्यटकीय केन्द्र महिलवार चोकस्थित पाँच नम्बर गेट नजिकै सूचना केन्द्र स्थापना गरिएको हो । लुम्बिनी आउने पर्यटकलाई पथ प्रदर्शनका साथै आधिकारिक जानकारी प्रदान गर्न तारबार सँगै भवन निर्माण गरेर सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो । लुम्बिनी होटल संघ नेपालले यसको सञ्चालन गर्नेछ भने मर्मत सम्भार लगायत रेखदेखको काम लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्ने सम्झौंता गरिएको छ ।
लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले विश्वकै आकर्षणको केन्द्र भए पनि सूचना केन्द्र लगायत पर्यटन व्यवस्थापनमा सानातिना काम गर्न नसक्दा पछाडि परेको जनाए । सधैं पछाडि किन पर्ने भनेर अत्याधुनिक सूचना केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए । ‘आधुनिक सूचना केन्द्र भएकाले सबैं खालका जानकारी मिल्नेछन्,’ उनले भने, ‘केन्द्रमा अंग्रेजी, हिन्दी, नेपाली र स्थानीय भाषा जानेको सूचना अधिकृत हुनेछन् ।’ केन्द्रमा सूचना प्रविधिको पक्का व्यवस्थापन गरिएको जानकारी दिए ।
होटल संघका बरिष्ठ सल्लाहाकार हेमबहादुर विष्टले तीन वर्षदेखि सूचना केन्द्र स्थापना गर्ने प्रयास बल्ल सफल भएको जानकारी दिए । नगरपालिकाले स्थान उपलब्ध गराएपछि गत वर्षबाट सञ्चालनमा ल्याउने तयारी थियो । तर, समयको चाप र तयारी नपुग्दा ढिलाई भएको उनको भनाई छ । ‘सूचना अधिकृतलाई तालिम लगायत तयारी बाँकी थियो,’ उनले भने, ‘लुम्बिनी बौंद्ध विश्व विद्यालयसित समन्वयमा सूचना अधिकृतलाई तालिम दिने काम भइरहेको छ ।’ बिहान ७ देखि बेलुका ७ बजेसम्म सूचना केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।
लुम्बिनी बिकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले २२ वर्ष लुम्बिनीमा आँपको रुखमुनी टेबुल राखेर सूचना केन्द्र सञ्चालन गरिएको सम्झना गरे । ‘त्यो अवस्था हेरेर अहिले धेरै काम भइसकेका छन्,’ उनले भने, ‘सरकारी र निजी क्षेत्रको सहकार्यमा सूचना केन्द्र सञ्चालनमा ल्याइएकाले पर्यटकलाई लाभ पुग्ने छ ।’ यस्ता गतिविधिको अभावमा सोचे अनुसार लुम्बिनीमा पर्यटन प्रबद्र्धन हुन नसकेकाले सरोकारवाला सचेत हुनुपर्नेमा राईले जोड दिए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले ढिलै भए पनि राम्रो कामको सुरुवात भएकोमा सन्तोष व्यक्त गरिन् । ‘नगरपालिकामा हाजिर भएको केही दिनमा सूचना केन्द्र अवलोकन गर्न आएकी थिएँ,’ उनले भनिन्, ‘त्यतिबेला नाक थुनेर सूचना केन्द्र हेरेकी थिएँ । अहिले सफा सुग्घर गरेर सूचना केन्द्र चिटिक्क तुल्याएर सञ्चालनमा ल्याउन सफल भयौं ।’ यसको दिगो सञ्चालनका लागि होटल संघसित सम्झौंता गरिएकाले चुस्त व्यवस्थापन हुने विश्वास व्यक्त गरिन् ।
नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले सधैं गुनासो मात्र गरेर नपुग्ने भएकाले निजी क्षेत्रले जागरुक बनेर पर्यटन प्रवद्र्धनमा लाग्नु पर्ने बताइन् । नगरपालिका सधैं सहकार्य गर्न तयार रहेकाले रचनात्मक कार्यक्रम तयार गरेर योजना ल्याउन अनुरोध गरिन् । ‘सधैं कमजोरी मात्र नदेखाउनुस्,’ उनले भनिन्, ‘नगर बिकासका लागि हामी सकारात्मक छौं, त्यही अनुसार तपाईंहरु पनि लाग्नुस् ।’
संघका निर्वतमान अध्यक्ष गोबिन्दप्रसाद ज्ञवालीले संस्थाले तीन वर्षदेखि सूचना केन्द्र सञ्चालनमा ल्याउन गरेको दुःख बल्ल सुखमा परिणत भएको बताए । सूचना केन्द्र सञ्चालनका लागि सहयोग गर्ने दाता र सरोकारवालालाई धन्यवाद दिए । सूचना केन्द्रको उद्घाटनमा बोल्दैं भिक्षु सागर धम्मले लुम्बिनी जस्तो सम्पदास्थलमा बसेर पनि स्थानीय जनता गरिबीको रेखामुनी बाँचिरहनु दुःखको कुरा भएको बताए । यहाँका बासिन्दाको आर्थिक अवस्था उकास्न लुम्बिनी बिकास कोष र नगरपालिकाले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए ।








प्रतिकृया दिनुहोस्