June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

उम्मेदवार बन्न ३१ वर्षपछि किन पाल्पा उक्लिए विष्णु पौडेल ?

Advertisement

भैरहवा– गत २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले एमाले नेता विष्णुप्रसाद पौडेललाई आच्छु–आच्छु तुल्याएका थिए । त्यसबेला पौडेल झिनो मतान्तरले बिजयी भएका थिए । त्यस लगत्तैं अर्को निर्वाचनमा पौडेललाई चुनाव जित्न सहज छैन भनेर चर्चा सुरु भइसकेको थियो ।

Advertisement

यसपाली फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिनासाथ एमाले उपाध्यक्ष पौडेल रुपन्देही–२, बाट निर्वाचन लडछन्–लड्दैनन् भनेर बहस सुरु भइसकेको थियो । यस्ता बहसमा धेरैले यसपटक पौडेलले चुनाव नजित्ने अड्कल सुनाउँथे । गत निर्वाचनमा रुपन्देहीबाट रास्वपा उम्मेदवार को हुने चर्चै थिएन । मतदाता माझ चिरपरिचित नभए पनि गणेश पौडेलले भारी मत हासिल गरेका थिए ।

यसपाली रास्वपाले जिल्लाका ग्रामीण क्षेत्रसम्म संगठन बिस्तार गरिसकेको छ । जिल्लाभर रास्वपा नेताकार्यकर्ताको उपस्थिति छ । त्यसैले पनि रुपन्देही–२, मात्र होइन्, अन्य क्षेत्रमा पनि कुन दल बलियो आँकलन गर्ने अवस्था छैन । त्यसैले होला दुई साता अघि नै यसपटक पौडेल रुपन्देहीबाट निर्वाचन नल्डने चर्चा थियो । बरु एमालेलाई सहज पाल्पा–१, बाट उम्मेदवार हुने अड्कल गरिएको थियो । तर, उनलाई पार्टीले पाल्पा–२, मा उम्मेदवार बनाएको छ ।

गत निर्वाचनमा एमालेका ठाकुर गैरे पाल्पा–२ बाट निर्वाचित भएका थिए । यससँगैं पौडेल ३१ वर्षपछि आफू संसदीय राजनीतिमा प्रवेश गरेको जिल्ला फर्किएका छन् । २०३३ सालदेखि सक्रिय राजनीतिमा लागेका पौडेलको संसदीय राजनीतिको यात्रा २०५१ सालदेखि सुरु भएको थियो । उनी २०५१ सालको मध्यावधि चुनावमा तत्कालीन पाल्पा–३, बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

त्यसयता भने लगातार पाँच वटा निर्वाचनमा रुपन्देहीबाट प्रतिष्पर्धामा उत्रिएका थिए । ती मध्ये २०५६ सालमा तत्कालीन रुपन्देही–३, बाट ६ सय मतान्तरले पराजित भएका थिए । त्यस यता २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा रुपन्देही–२, बाट लगातार विजयी भए । यसपटक पाल्पा–२, बाट पौडेल सहित ठाकुर गैरे लगायत ५ जनाको नाम सिफारिस गरिएको थियो । रुपन्देही क्षेत्र नं. २ बाट भने पौडेलको एकल नाम सिफारिस गरिएको थियो ।

शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई रुपन्देही छोडेर पाल्पा क्षेत्र नं. २ बाटै उम्मेदवार बनाउने निर्णय गरेको हो । २०७९ सालको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट एमाले नेता ठाकुर गैरे निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा चुनाव जित्न हम्मे हम्मे परेको अवस्थालाई हेरेर पौडेलले यस पटक पाल्पा रोजेको हुनसक्ने एमालेका कार्यकर्ता बताउँछन् ।

२०७४ को चुनावमा ४४ हजार ९ मत प्राप्त गर्दै विजयी भएका पौडेलले २०७९ सालको निर्वाचनमा भने २७ हजार १६५ मत लिएर चुनाव जितेका थिए । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७ सय ८१ मत लिएका थिए । २०७४ मा नेपाली कांग्रेसका युवराज गिरीसँग २२ हजार ६३ मतान्तरले विजयी भएका पौडेलले २०७९ मा भने गणेश पौडेललाई जम्मा १ हजार ६६ मतान्तरले हराएका थिए ।

पौडेल पाल्पाबाट चुनाव लड्ने भएपछि एमाले रुपन्देहीका कार्यकर्ताहरुमा निराहा छाएको छ । पौडेललाई विकासप्रेमी नेताका रुपमा चित्रण गर्दै आएको एमाले पंक्तिले चिन्ता गरिरहेको हो । एमाले नेताकार्यकर्ताले २०७९ मा पौडेललाई धोखा दिएकाले यसपटक पाल्पा गएको चर्चा पनि हुन थालेको छ ।