July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

अपराधमा प्रविधिको प्रयोग बढ्दो : प्रहरी

Advertisement

भैरहवा– गएको पुस महिनामा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा १ सय ४० वटा अपराधका घटना  दर्ता भएका छन् । यस्ता घटनामा सबैभन्दा धेरै संगठित तथा आर्थिक अपराधका ३७ वटा छन् । ती अपराधमा १ सय ४३ जना प्रतिबादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले मासिक पत्रकार भेटघाटको आयोजना गरि सार्वजनिक गरेको पुस महिनाको तथ्याङ्क अनुसार, जघन्य तथा गम्भिर अपराध १ सय २ वटा छन् । भने, महिला तथा बालबालिका सम्बन्धि ८, आत्महत्या १५, चोरी १८ र सामाजिक अपराध २० वटा छन् ।

Advertisement

जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले पछिल्लो समयमा प्रविधिको प्रयोग गरेर हुने अपराधको संख्या बढ्दै जान थालेको बताए । ‘अपराधमा प्रबिधिको प्रयोग बढ्दो छ’, कार्कीले भने, ‘जसमध्ये सबैभन्दा धेरै आर्थिक ठगी तथा बैकिङ कसुरका अपराध छन् । साइबर अपराध पनि बढ्दो छ ।’

तथ्याङ्क अनुसार, अदालतको फैसला पछि फरार रहेका प्रतिवादी पुस महिनामा ४४ जना पक्राउ परेका छन् । जसमध्ये, पन्ध्र वर्षपछि १ जना, पाँच वर्षपछि ४ जना र पाँच वर्ष भन्दा कमका ३९ जना छन् । जिल्ला प्रहरी र मातहतका विभिन्न प्रहरी इकाइले पुस महिनामा ११ वटा मोटरसाइकल र एउटा मिनी ट्रकसहित ९२ लाख १२ हजार रुपैयाँ भन्दा धेरै मूल्यका भन्सार छलिका विभिन्न अवैध सामान बरामद गरेका छन् । यस अन्तर्गत १६ जना पक्राउ परेका छन् ।

डीएसपी कार्कीले पुसमा महिला तथा ज्येष्ठ नागरिकमाथि भएका हिंसाका घटनासम्बन्धी ४८ वटा उजुरी दर्ता भएको र ४२ वटा मिलापत्र गराइएको बताए । घरेलु हिंसामा १९ देखि ५९ वर्ष उमेरका ४६ जना महिला पीडित छन् भने ६० वर्षमाथिका २ जना पीडित छन् । घरेलु हिंसामा घरायसी झैझगडाको संख्या उच्च छ । यस्ता घटना २५ वटा छन् । कुटपिट १६, मादक पदार्थ सेवन गरेर गालीगलौज ५ र घरमा खान बस्न नदिएको २ वटा छन् । सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १५ वटा, ओमसतियामा ८, सिद्धार्थनगर नगरपालिकामा ५, तिलोत्तमा, लुम्बिनी, सियारी र कोटहीमाईमा ३–३ वटा छन् ।

महिला पुरुष, वालिका, बालक र ज्येष्ठ नागरिक गरि ८७ जना हराएको निबेदन प्रहरीमा आएकोमा ३५ जना फेला परेका छन् । पुसमा १० जना महिला र पुरुष ५ गरी १५ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर १३ वटा र विष सेवन गरेर २ वटा छन् । साइबर सम्बन्धि २८ र अनलाइन ठगिका ८४ वटा निवेदन प्रहरी समक्ष आएका थिए ।