क्लासिक कथाः आँखीझ्याल


सपना कुनै सपना होइन । यौटी सात वर्षकी बालिकाको नाम हो । खेल्नमा ऊ साहै सिपालु छ । त्यसैले उसका साथी-सहेलीहरू पनि धेरै छन् । घरमा उसलाई के खाऊँ भन्नु पर्दैन । बाबुआमाकी ऊ एक मात्र सन्तान थिई । लाड-प्यारमा पालिएकी, गुटुमुनी, चट्ट परेकी, कुनै फूलको कोपिलाजस्तै । घरमा उसको चौबीसै घण्टा खेल चल्छ । वरिपरिका रम्भा, चम्पा, सुशीला, शान्ति, मदन, मने, भरत- सब जुट्छन् त्यहाँ । रातो, नीलो, हरियो, पहेँलो कपडाको त्यान्द्रोमा त्यहाँ जीवनको सिर्जना हुन्छ । दुलहा बन्छन्, दुलही बन्छन्, मामा, माइजू, फुपू आदि सबको आकृति बोल्न खोजेङ्गु गर्छन् ।
त्यहाँ पनि जीवनको चटारो छ । बिहा भयो । छोरो पाइहाल्यो । अनि पास्नीको हतारो । अथवा यात्राको कुनै लामो सिलसिला चल्छ । खेलमा सपना यति चिन्तनशील र भावुक देखिन्छे मानो ऊ यौटा संसारको निर्माणमा व्यस्त छे । अहँ, साँच्चिकैको केटाकेटीको वातावरणमा पाइने खलबल र चञ्चलता त्यस बेला त्यहाँ पाइन्न ।
साँझतिर आफ्नो घरको सामुन्ने सानो चउरमा सपना जब उफ्रीउफ्री खेल्छे, त्यस बखत त्यहाँको वातावरण पनि नछोडूँ-नछोडूँ जस्तो लाग्छ । उसले खेल्ने ठाउँनजिकै पुरानो समयमा बनेको यौटा पोखरी छ जसको वरिपरि लागेको पर्खाल ठाउँ-ठाउँमा भत्केर बेहिफाजतपूर्वक रहेको छ । पोखरीको मध्यभागमा ढुङ्गाको यौटा कलापूर्ण स्तम्भ छ, जसलाई नागको बुट्टाले बेर्दै गएको र जसको शिखरमा भगवान् शङ्करको मूर्ति चिरचिन्तनशील मुद्रामा विद्यमान रहेको देखिन्छ ।
पोखरीपछाडि दस-बाह्र घरहरूको एक लाइन छ । अग्रिम भागमा टिपकार लगाएकोले छेउनिरको घर अरूभन्दा सफा, सुग्घर र सुन्दर देखिएको छ ।
घरको तेस्रो तलामा यौटा सानो बार्दली जडेको छ र जहाँ अहिले घाम तेर्सिंदै गएको छ । सपना बार्दलीको डन्डी समातेर चउरतिर हेरिरहेकी छ । घाम अस्ताएपछि केटाकेटीहरू चउरमा कुम्मिए । खेल शुरू भयो ।
खेल्दाखेल्दै सपना र सुशीला अलि पर मास्टर बाजेको घरनिर पुगे । एक्कासि सपनाले सुशीलाको हात समाती अलि यता तानी । आँखीग्यालतिर औंल्याएर भनी- “उ : के हो हेर ।”
सुशीलाले घाँटी तानी । आँखा ठूलठूलो पारेर हेरी- “खै मैले त केही पनि देखिनँ, उ :…त्यो आँखीझ्याल ? त्यसभित्र पर्दा लगाएको छ, होइन ? अरू त के छ र त्यहाँ ?”
“छि: तिमी त, पर्दा जम्मै कहाँ लगाएको छ र, आधा मात्रै लगाएको देखिनौ ?”
“हो, हो, अँ, अनि त्यो पर्दा नलागेको प्वालबाट आँखाजस्तो झिमझिम गर्ने के नि हँ…?”
“हो, त्यै त भन्या नि मैले…” सपनाले सुशीलाको हात चपक्क समातेर भनी । सुशीलाले सोधी- “सपना, त्यो के हो त ?”
सपनाले आँखाको कुनाबाट आँखीझ्यालतिर हेर्दै सानो स्वरमा भनी- “कुन्नि …।”
फेरि अकस्मात् सपनाको हात झटारी सुशीलाले हाँस्दै भनी- “जाऊ तिमी त, मास्टर बाजे त हो नि, उ : हेर न राम्ररी, एकछिन त म पनि जिल्ल परें ल…।”
सपनाले उता हेरिन् । केही कौतूहलकै मुद्रामा उसले सोधी- “किन त्यसरी च्याएर हेरेको होला, कसलाई हेरेको होला सुशीला ?”
“कुन्नि त्यो त…जाऊँ भैगो…।”
खेलको हूलमा गएर दुवै जना फेरि मिसिए । खेल चल्यो ।
सपनाको सानो मनलाई यौटा यस्तो कौतूहलले घुमाइरहेको थियो जसलाई ऊ न छोड्न सक्थी न त अपनाएर त्यसलाई लिइरहन नै उसको निमित्त साध्य हुन्थ्यो । हिजोअस्ति अनि झन् अस्ति, यसै गरी यता केही दिनदेखि नै आँखीझ्यालको प्वालबाट आँखाजस्तो झिमझिम गर्ने वस्तु ऊ देख्दै आएकी थिई र यसबाट दिन-प्रतिदिन उसको मानसिक सिलोटमा समुच्चा आँखीझ्याल नै यौटा रहस्यको तस्बिर बनेर खिचिएको थियो । यसबारे कसैलाई सोध्ने साहस पनि उसले गर्न सकेकी थिइन । आज कसरी हो साहस खिचेर उसले सुशीलालाई सोधी । रहस्यको उद्घाटन भएपछि उसको हृदयलाई कौतूहलले घुमाउन छोडेन ।
खेल्दाखेल्दै उसको आँखा अनायास आँखीझ्यालतिर सर्दै जान्छ, अनि ऊ केही डराएकी जस्ती देखिन्छे । उसको मनमा यौटा सानो प्रश्न उठ्छ- किन त्यसरी च्याएको होला त ?
साँच्ची नै आँखीझ्यालबाट च्याउने मास्टर बाजे नै थिए । उनका कतिपय आफ्नै किसिमका आदतहरूमध्ये यो पनि यौटा थियो । प्रायः साँझको बखत हुक्कामा नली जोड्दै आँखीझ्यालको पर्दा अलिकता उघारी मास्टर बाजे बाहिर मानिस आएका, गएका, हाँसेका, रोएका, खेलेका, डुलेका आदि हेर्ने गर्थे । त्यस हेराइमा मास्टर बाजे निश्चिन्त देखिन्छन् । आँखीझ्यालको आवरण उनलाई अत्यन्त प्यारो लाग्छ । मास्टर बाजे आँखीझ्यालबाट मानिसका विविध क्रियाकलापहरू छर्लङ्ग देख्थे । बाहिरका मानिसहरूलाई चाहिँ नियालेर हेर्दा पनि मास्टर बाजेको ठीक-ठीक वस्तुस्थिति पहिल्याउन गाह्रो पर्थ्यो ।
पचासको उमेरलाई नाघिसकेका मास्टर बाजे हेर्दा बूढा देखिए पनि मानिस भित्र जाँगारिला हुन् भन्ने सबले ठहऱ्याएका थिए । च्याप्टिएका गाला, आँखा रित्तिएका कचौराजस्ता । कपाल आधा फुलेको र आधा कालो, तर जुँघाको एक रौं पनि नफुलेको देख्दा मानिसलाई शङ्का लाग्छ- उनी कलप त लगाउँदैनन् ? कसैले सोध्यो भने त मास्टर बाजे यसै भन्छन्- “कहाँ बाबू, यो बुढौतीमा त्यो झन्झट कसले गर्छ, फेरि कसको लागि गर्ने र, भएकी गैहाली…।”
कुरो सत्य पनि हो । मानिसले सुन्दरता आफ्नो लागि होइन, अर्काको लागि गर्छ; उसलाई चाह हुन्छ अरूले सुन्दर देखून्, राम्रो भनून् भन्ने । तर मास्टर बाजेलाई कसले राम्रो भन्ने अनि कसले सुन्दर भन्ने, जो थिइन् उनी गइहालिन् । यतिले पनि नपुगेर उनलाई भित्रैदेखि चिन्ने मानिसहरू उनको यो भनाइ कट्ट मान्न तयार थिएनन् । फेरि अर्को कुरो, मास्टर बाजेको राति सुत्दा आँखामा गाजल लगाउने पनि आदत छ । यसको सोधनीमा उनी यही भन्थे- “आँखामा गाजल लगाउनाले नानीको तेज बढ्छ ।” सायद यसैले होला, मास्टर बाजेलाई यो बुढेसकालमा पनि चस्मा लगाउनुपर्ने आवश्यकता परेको थिएन । टाढासम्मको मानिस तथा वस्तु उनी छर्लङ्ग पहिल्याउन सक्थे;
किताप, कापी सजिलैसँग पढ्न सक्थे ।
दुई-चार वर्ष उतासम्म उनी दरबारमा नानी-केटीहरूलाई पढाउन जाने गर्थे । त्यस बेला ऊनकी धर्मपत्नी निरोगी नै थिइन् । दरबार जाँदा मास्टर बाजे नित्य निधारमा रातो टीका, कालो टीका लगाउने गर्थे । यस्तै कुरैकुराको सिलसिलामा एक पटक ऊनकी धर्मपत्नीले मस्किँदै भनेकी पनि थिइन्- “छिः बूढो भएर पनि कति स्वाँग…!”
मास्टर बाजे रसिक खालका मानिस हुन् । बोल्न के चुक्थे, झट्ट जबाफ दिइहाले – “के गर्नु, दरबारजस्तो ठाउँमा नानी-केटीहरूलाई पढाउन जानुपर्छ, नत्र हेपिहाल्छन् नि…।”
पछि धर्मपत्नी खसेदेखिन् मास्टर बाजेले निधारमा रातो टीकाको सट्टा चन्दन लगाउन शुरू गरेका थिए । दरबारभित्र पढाउन जाने काम बन्द भइसकेको थियो । छरछिमेकी तथा अन्य एक-दुई ठाउँमा बालबालिकाहरूलाई पढाउन ट्युसन लिएर मास्टर बाजे आफ्नो एकाकी जीवन बिताइरहेका थिए । यसमा ऊनी सन्तुष्ट थिए । ऊनलाई पुगेकै पनि थियो ।
बाँकी समयमा मास्टर बाजे प्राय: केटाकेटीहरूलाई बटुल्थे, उनीहरूको खेलमा आफू पनि बालक बनेर मिसिन्थे । खेल समाप्त भएपछि कथा-कुथुङ्ग्री हाल्ने क्रम चल्थ्यो । मुखाकृतिमा थरी-थरीका भाव चढाएर कथाको क्रममा प्रभात ल्याउन खोजेको बखत मास्टर बाजे बेग्लै देखिन्थे । ऊनको चेहरामा कुन प्रकारको भाव उदय हुन्थ्यो त्यो तुरुन्तै केटाकेटीहरूको मनमा रङ्गझैं सर्र सर्थ्यो ।
कथा कहिले राजारानीको, कहिले जङ्गली जनावरको र कहिलेचाहिँ भूत-प्रेतको हुन्थ्यो । कथा जब समाप्त हुन्थ्यो मास्टर बाजे एकछिन फेरि केटाकेटीहरूसँग चल्थे । साना-साना बालिकाहरूलाई काखमा लिन्थे, दुवै हातले चपक्क समातेर गालामा म्वाइँ खान्थे । यसो गर्दा मास्टर बाजेको खस्रो दाह्री उनीहरूको कमलो गालामा घिस्रिन्थ्यो, जसबाट उनीहरूलाई नमज्जाको पीडाको अनुभव हुन्थ्यो । तर यसको विरोधमा मुखबाट केही बोल्न सक्दैनथे । किनभने भोलि फेरि मास्टर बाजे कथा हाल्दैनन्; पिपलमेन्ट दिँदैनन् ।
तमाखुको आखिरी सर्को तानेर मास्टर बाजेले चिलिम घोप्ट्याए । झ्यालको नीलो पर्दा टम्म लगाइदिए । बाहिर चउरमा सधैंको जस्तो छरछिमेकीका केटाकेटीहरू खेलबाडमा विभोर थिए । मास्टर बाजे पनि उनीहरूको खेलमा मिसिए । तर ऊनको आँखाभित्रको कालो नानी फनफनी घुमिरहेको थियो ।
पोखरी वरिपरि लागेको पर्खालको एक भाग नराम्रोसँग भत्केको हुँदा त्यहाँ ढुङ्गाका साना-साना टुक्राहरू छरिएका थिए । सपना र सुशीला पोल्टाभरी गट्टा लिएर हातले उफार्दै खेलिरहेका थिए । मास्टर बाजेलाई टाढैबाट देखेर सपना झस्की । माथि हुत्त्याएको गट्टा टिप्न अलमलिई । फलत: गट्टा खसेर उसको गोडाको कान्छी औंलामा लाग्यो । दुखेर पनि उसले दुखेको जस्तो गरिन ।
मास्टर बाजे नजिकै आइपुगे । उनलाई देखेर सुशीला उफ्रँदै हात समाउन गई ।
“हिजो किन नआएको…झन् राम्रो कथा हालेको थिएँ,” मास्टर बाजेले पछुतो लाग्ने ढङ्गबाट बोले ।
“अँ… हेर्नुस् न सपना मान्दैमान्दिन ।”
“हो नानी, तिमीलाई कथा सुन्न मन लाग्दैन…? ल… यिनी त कस्तो लाज मान्दी रहिछन्… लौ हेर यी… कस्तो राम्रो पिपलमेन्ट छ ।” मास्टर बाजेले रङ्गीचङ्गी कागजले बेरेको चकलेट सपनाको हातमा दिँदै भने । “मलाई पनि, मलाई पनि” भन्दै सुशीला उफ्रन थाली ।
“तिमीलाई अहिले होइन, भरे सपनालाई कथा सुनाउन ल्यायौ भने दुइटा दिन्छु, नत्र नाइँ…।” मास्टर बाजेले पनि बिलकुल केटाकेटीको जस्तै ढिपी लिए ।
“ल्याउँछु, सत्ते ल्याउँछु, जाने है सपना, है, है, है …? ”
आकाशमा बादल गर्ज्यो । बिजुली चम्क्यो । पानी पर्ला जस्तो हुन थाल्यो । परि पनि हाल्यो । चउरमा खेलिरहेका बालकहरू मास्टर बाजेतिर दगुर्दै आए । अरू मानिसहरू जो बाहिर थिए हस्याङफस्याङ गर्दै सब आ- आफ्नो घरको दैलोभित्र छिर्न थाले ।
“ल… देख्यौ पानी पर्यो कि ? ल हिँड अब कथा सुनूँ ।”
भुराभुरीहरूको एक बथान लिएर मास्टर बाजे अघि-अघि लागे । सपनालाई पनि जाऊँ जाऊँ जस्तो लाग्यो, तर मास्टर बाजेको आँखा सम्झँदा उसलाई डर लाग्छ । सुशीलालाई त केही पनि हुँदैन, उसलाई मात्र किन डर लागेको होला ! ऊ मनमनै विचार गर्थी । तर विचारको सिलसिला धेरैबेरसम्म टिक्न पाउँदैनथ्यो । उसको गालाभित्र चकलेटको रस भिजिरहेको थियो । एकातिरको गाला भुक्क फुलेकोले उसको हिस्सी अनौठो देखियो । सुशीलाले हात समाती, ऊ जुरुक्क उठी ।
मास्टर बाजेको कोठा पनि यति अँध्यारो छ कि दिउँसै बत्ती बाल्नुपर्ला जस्तो छ । झन् अहिले त रात पर्न आँटेको बेला, बत्ती नबाली सुखै छैन । कतैबाट उज्यालो आउला भन्नु पर्दैन । केवल एउटा झ्याल छ, त्यो पनि आँखीझ्याल, उसमाथि पनि पर्दा लगाएको । कोठामा तस्बिरको भने दुःख छैन । भित्तामा जताततै तस्बिरैतस्बिर टाँगिएको थियो । तस्बिरहरू धेरैजसो देवीदेवताहरूकै थिए । फ्रेमभरि धूलो जमेको र ऐना कहिल्यै नपुछेको हुँदा चित्र स्पष्ट देख्न गाह्रो पर्थ्यो । दराजको ऐना ठाउँ-ठाउँमा फुटेकाले भित्रका सानातिना सिसी तथा केही पुराना सामानहरू टड्कारै देखा परेका थिए । आँखीझ्यालनिर केही धार्मिक विषयका ग्रन्थहरू थिए । कुनैको पनि मुखपृष्ठ देखिँदैन । ठाउँ-ठाउँका पन्ना धुजा-धुजा भएर यताउति छरिएका थिए ।
मास्टर बाजेले केटाकेटीहरूलाई आफ्नो ठूलो बिछ्यौनामा गोल पारेर बसाले । खोल नभएको मैलो तकिया काखमा लिई त्यसमाथि हात अडाएर आफू बीचमा बसे । कथा सुरु भयो- एउटा राक्षसको, भयानक राक्षस । उसको कतिवटा दाँत थिए, कान कत्रा थिए, आधारातमा ऊ मानिसलाई कसरी खान्थ्यो र आखिरमा उसलाई कसरी कसले मार्यो भन्ने कुराको वर्णन मास्टर बाजे भय र आश्चर्यको भावमा मिलाउँदै गए । बोल्दा मास्टर बाजेको मुख मात्र होइन, अरू अङ्गहरू पनि चल्थ्यो, जस्तो कि आँखा, कान, नाक र हात अनि आङ पनि…।
क्रमश: कथाको रस-प्रवाहमा केटाकेटीहरूको मन डुङ्गाझैं अत्यन्त स्वाभाविक तवरले बग्न थाल्यो । पछि, अलिअलि गरेर ती सब आफू-आफूमा टाँस्सिन थाले । पछि मास्टर बाजेतिर खुम्चिँदै आए । सबको आङ छिन छिनमा सिरिङ्ग गर्न थाल्यो । सपना सुशीलाको पछाडि थिई । मास्टर बाजेले उसलाई आफूनिरै तानेर राखे, उसले विरोध गर्न सकिन ।
अब त सपनाको गालाको चकलेट पनि सिद्धियो । मुख च्याट च्याट सुकेर आयो । मास्टर बाजेको मुख हेर्न सक्ने साहस उसमा भएन । पानीको प्यास भित्रभित्रै दबाई ऊ सुशीलातिर हेरिरहेकी थिई । सुशीला ट्वाल्ल परेको आँखाले मास्टर बाजेको मुख ताकिरहेकी थिई । सबैको चेहरामा सातो उडेको जस्तो भाव पोतिएको थियो । एक-दुई जनाले मास्टर बाजेको हात समाते । मास्टर बाजे कथाको उकालो चढिरहेका थिए ।
सपनालाई शिरमा केही गह्रौं वस्तु खप्टिएझैं अनुभव हुन थाल्यो । उसमा व्यक्त गर्न नसकिने खालको बेचैन बढ्दै आयो । अनायास उसले आफ्नो शिर मास्टर बाजेको कुममुनि निहुराई । मास्टर बाजेले उसको शिर काखमा अडाइदिए । तर उनको मुखबाट कथाको क्रम जारी नै थियो ।
केटाकेटी निश्चल र मूक थिए । कथाको सिलसिलामा जब कुनै राजकुमार आएर राक्षसलाई मार्न खोजेका थिए त्यस बेला सबको अनुहारमा सतर्कता छायो । मानो उनीहरूको आँखासामुन्ने दृश्य घटिरहेछ । सबैले अलि दह्रो बसाइ गरे । मास्टर बाजेले अन्त्यमा भने- “आखिरमा यसरी राजकुमारले राक्षसलाई मारे, राक्षस पहाड खसेझैं गरी लड्यो ।”
एकैसाथ मदन, मने, भरत, सुशीला, शान्ति सबैले लामो सास फेरे । उनीहरूको चेहराबाट त्रसित भाव ऊर्दै गयो । एक-एक गरी सब उठ्न थाले । सुशीलाले सपनालाई घचघच्याई । मास्टर बाजेले गाला समातेर हल्लाए । सपना निदाएकी थिई, झल्याँस्स ब्यूँझी । उसको आँखा रसिलो देखिएको थियो । घाँटी जम्मै पसिनाले भिजेको, शरीरको सम्पूर्ण भाग आगोझैं तातेको थियो । मास्टर बाजेले म्वाइँ खान भनेर गालामा मुख जोर्न लगेका थिए, सपना हुत्तिएर सुशीलाको हात समाउन पुगी ।
रातभरि सपना बेहोसमा बडबडाइरही । उसलाई निद्रा लागेन । बीच-बीचमा ऊ पानी खाऊँ भन्थी । रमा तातो पानी कचौरामा हालेर ख्याउने गर्थिन् । छिन छिनमा छोरीको निधार छाम्दै पतिलाई हेर्थिन् । केहीबेरपछि उनले मनमा आशङ्का मेट्न खोजेझैं गरी भनिन्- “होइन, लागेको पो हो कि… बिहान त टाठीबाठी नै थिई ।”
रामेश्वरलाई भूतप्रेत लाग्ने, छोप्ने भन्ने कुरामा विश्वास त थिएन, तर यो बेला पत्नीको आकस्मिक सोधाइको खण्डन गर्ने शक्ति पनि उनमा भएन । उनलाई झट्ट कता हो कताबाट याद पनि आयो। बुढेसकालमा उनका पिताले कुरैकुरामा एक बाजि यसो पनि भनेका थिए- “बाबू हो ! यो घरनजिकैको पोखरीमा राति राति नखेल्ने गर्नु, त्यसभित्र एउटा ठूलो नाग छ कालो रङको; त्यसले कहिलेकाहीँ छोप्छ, छोपेपछि असाध्यै सास्ती दिन्छ, दुःख दिन्छ बुझ्यौ ? त्यसैले त्यहाँ राति राति नखेल्ने गरे…” इत्यादि ।
रामेश्वरले यो कुरा तुरुन्त पत्नीलाई सुनाए । रमाले निश्चयात्मक आवाजमा भनिन्- “हो, पक्कै त्यै हो ल, अब के गर्ने लौ !…यस बेला राति कसलाई बोलाउने… को छ र त्यस्तो फुकफाक गर्न जान्ने यतातिर…, फेरि आफैँ झट्ट सम्झेर उनले भनिन्- “ए… साँच्ची, दले छँदैछ नि हगि ?…किन अरूलाई बोलाउनु…।”
अन्दाजी तीस-पैंतीस वर्षको हट्टाकट्टा परिश्रमी खालको एउटा मान्छे कोठाभित्र पस्यो । हेर्दा ऊ निर्भीक देखिन्थ्यो । भय उसलाई देखेर भागी- भागी हिँड्छ कि भने लाग्थ्यो । सपनाको मुख हेरेर दलबहादुरले भन्यो- … नानीलाई लागेकै हो, रात परेपछि पनि बाहिर-बाहिर खेलिरहन्छ । तर क्यै हुन्न, खै धूप ल्याउनुस्, बत्ती ल्याउनुस्, चामल अनि एक मोहर पनि ।”
दलबहादुर हातमा धूप लिएर चामल छर्किंदै फुक्न थाल्यो । सपनाको बेचैनी र बडबडाहट चलि नै रह्यो; ज्वरो ओर्लेन । कहिले यता कोल्टो, कहिले उता कोल्टो, छटपटीले उसलाई छोड्दै छोडेन । रात धेरै बितिसकेपछि उसको आँखा लोलाएको जस्तो भयो ।
तीन दिनपछि सपनालाई ज्वरोले छोड्यो । कोठामा ऊ अलिअलि हिँडडुल गर्न थाली । रमाले सातो पखाल्न छोरीलाई एक दिन साफसित नुहाइदिइन् । आँखामा गाजल लगाइदिइन् र आफूतिर फर्काएर उनले भनिन्-
“अबदेखिन् राति-राति बाहिर खेल्न जा न मात्रै…पढ्नुवर्नु छैन, जहिले भो खेल्यो, जहिले भो खेल्यो । अहिले पढिनस् भने पछि तँलाई कसले बिहा गर्छ… अनि बूढो लोग्ने पाउलिस् खालिस्…।” बूढो शब्द सुन्नासाथ सपनाको आँखामा मास्टर बाजे आए; चाउरी परेको मुख, खोबिल्टे आँखा, कुसमुसे दाढी…। सपनाले एक्कासि भनी- “नाइँ… नाइँ… नाइँ ।”
सपनाका पुतलीहरू सब छिन्नभिन्न भए । कति आमाले रिसमा भुनभुनिँदै च्यातेर मिल्काइन्; कतिचाहिँ फुसफुसे आगोमा पोलिए । अब उसलाई चउरमा खेल्न पनि मनाही भयो । जहिले भो पढ्नुपर्छ रे, नपढे बूढो दुलहा पाइन्छ रे…
यिनै कुराहरूले गर्दा आजकाल सपनालाई जताततै नरमाइलो लाग्छ । उसको मनोराज्यको सिमाना घट्दै गइरहेको थियो । ऊ दुब्लो र अलिअलि गरेर अग्लो हुँदै गई । दिन, महिना, वर्ष मिलेर उसलाई घचेट्दै अधि लगे ।
तैपनि ऊ आमाको आँखा छलेर कहिलेकाहीँ खेल्न जाने गर्थी । यही एक समय थियो जसमा उसलाई आनन्द मिल्थ्यो; ऊ हाँसोमा सबै दुःख बिर्सन्थी ।
०० ०० ०० ००
एक दिन बिहान आकाश निर्मल देखिएको थियो । घरको छाना- छानामा घाम झलमल्ल लागेको थियो । सपना उठी । हातमुख धोएर आमासँग खानेकुरा माग्न गई । भऱ्याङ उक्लेर ऊ माथि जान लागेकी थिई, तलबाट कसैको आवाज आयो- “रामेश्वर बाबू ! ओ रामेश्वरबाबू !” आवाज उसलाई चिनेझैं लाग्यो । तर राम्रो छुट्टयाउन सकिन । “को हँ ?” भन्दै तल ओर्ली ऊ टक्क अडी; जब उसले देखी हातमा चाँदीको बिँड लागेको छडी घुमाउँदै मास्टर बाजे भर्याङ उक्लँदै छन् । मास्टर बाजेको व्यक्तित्वमा गमक ल्याउने वस्तुहरूमध्ये हातमा धारण गरेको छडी पनि यौटा थियो । मन्द आवाजमा उनले सोधे- “बा हुनुहुन्छ, नानी ?”
“हुनुहुन्छ” भन्दै सपना एकै सासले माथि पुगी । मास्टर बाजेलाई देख्नासाथ रामेश्वरले सोधे- “अहो मास्टर बाजे आउनुस् आउनुस् ! कताबाट आज बिहानैदेखि…?”
छडीलाई थपक्क भुइँमा राखी चकलामा बस्दै मास्टर बाजेले भने- “कहाँ भन्नुहुन्छ, आजकल फुर्सदै छैन; यता भन, उता भन, एक्लो जीउलाई पनि यति गर्नुपर्ने । अब अहिले पनि ट्युसनमा गएको थिएँ, लडको ज्वरो आएर सुतिरहेको रहेछ । फर्के, कता जाऊँ भनी सोच्दै थिएँ, झट्ट सम्झें- धेरै दिन भो, क्षेमकुशल निकानन्द के-कस्तो छ भनेर नि ।”
रामेश्वरले चुरोट टक्र्याए । एकछिनसम्म गफसफ चल्यो । बीचमा केही समय मौन रह्यो । यही मौनतालाई भङ्ग गरेर रामेश्वरले भने- “होइन, एउटा कुरो धेरै दिनदेखि भनुला भनिठानेको थिएँ…।” बीचमा फेरि रामेश्वरले छोरीलाई बोलाई। एकछिनपछि सपना ढोकामा आएर उभिई उसलाई भित्र जान कत्ति मन लागेन । बाबुले नजिक बोलाए ।
ऊ गाह्रो मानी-मानीकन गई, बसी । नढाँटीकन भन्ने हो भने, मास्टर बाजेको मनमा त्यस बेलाको सपनालाई देख्दा किसिम-किसिमको भावना उब्जेर आयो । मनका विविध तरङ्गलाई हटाई उनले सपनाको केश सुमसुम्याए- “के गर्नु, हाम्रो लेखा त यी नातिनी भन्न पनि सुहाउँदिनन्, एउटा कुरो है, आजकालका साना-साना ठिटीहरू मलाई त लाग्छ, रात-रातभर नै हलक्क-हलक्क बढ्छन् कि क्या, कसो …?” मास्टर बाजेले अद्भुत चेहरा लगाउँदै सोधे ।
अलिकति घुम्टो हालेर बसेकी रमा खितितिति हाँसिन् । रामेश्वर पनि मुस्कुराए ।
“होइन, मैले ठट्टा गर्या होइन… साँच्चै यिनी कति वर्षकी भइन् ?” मास्टर बाजेले यसै सोधे । रामेश्वरले बोल्न भनेर मुख बाएका थिए, रमाले प्याक्क भनिहालिन्- “एघार पुगेर बाह्र लाग्छे अब ।”
“अँ…त मास्टर बाजे”– रामेश्वरले विषय भङ्ग गर्दै भने- “तपाईंलाई एउटा दुःख दिऊँ भन्ने विचार गरेको… यसलाई तपाईंले अलिअलि हेर्दिनुपयो, पढ्न मनै गर्दिन । जे जसो गरेर हुन्छ, यसलाई पढ्ने दिशातिर मन लगाइदिनुपन्यो ।”
“हुन्छ, पठाइदिनोस् न, के भो र । मबाट हुन सक्नेजति कुरोलाई तपाईंले सङ्कोच मान्नु पर्दैन ।”- मास्टर बाजेले मुख उज्यालो पारी भने । सपनाको अनुहार अँध्यारो देखियो । भोलिदेखि ऊ मास्टर बाजेकहाँ पढ्न जाने भई । सुशीलालाई देख्दा सपनाको मनमा एउटा कुरा चल्न छोड्दैन । सुशीला खेल्छे पनि पढ्छे पनि । उसले धेरै पढिसकी । तर खेल्नु र पढ्नु साथसाथै कसरी हुन्छ, उसलाई पत्यार लाग्दैन । सुशीलाको पढाइ देखेर उसलाई पनि पढूँ-पढूँ जस्तो लाग्छ । दुई-चार दिन जाँगर पनि ल्याउँछे । तर फेरि अलिअलि गरेर जस्तातस्तै ।
त्यसो त मास्टर बाजे पनि राम्रो कहाँ पढाउँछन् र । खालि नचाहिँदा गफ मात्र गर्छन् । जिस्क्याउँछन् मात्रै उसलाई ! बूढा भएर पनि कस्तो हिस्सी नपरेको कुरा गर्छन् भने… के भन्नु । त्यसैले त केही आइमाईहरू उनलाई पात्तिएका बूढा भनेर उल्ल्याउँछन् नि । बिहान किसमिसमै उठेर आँखीझ्यालबाट च्याइरहन्छन् रे…।
एक दिन साँझ ढलेर रात पर्न आँटेको बेला थियो। चउरमा केटाकेटीहरू कोही पनि थिएनन् । धारामा पनि करिब सुनसान भइसकेको थियो । अकस्मात् मास्टर बाजेको घरबाट सपना बेतोडले दगुर्दै आई । उसको अनुहारमा नीलो-कालो रङ्ग छरिएको थियो । पछाडि आँखीझ्याल हेर्दै ऊ आफ्नो घरतिर दौडिरहेकी थिई । आँखीझ्यालको जम्मै प्वालबाट आँखैआँखाले च्याएको उसलाई भान पयो र ती आँखाहरूको एक विराट् दृष्टिले उसलाई सलक्क निल्न खोजेजस्तो पनि लाग्यो ।
मास्टर बाजे आँखीझ्यालबाट कराइरहेका थिए- “सपना ! ए सपना…! किताब लैजानू… ल… भोलि पाठ आएन भने…।”
सपना वेगले कोठाभित्र पसी । आमाको आङलाई दुवै हातले चपक्क समाती । रमा आत्तिइन् – फेरि छोरीलाई यो के भो ? फेरि उसलाई केले छोप्यो ? सपनाको छाती ढक्क फुलेको थियो । त्यसभित्र उसको मुटु जोरसँग चलिरहेको थियो । ऊ काँपेकी थिई ।
“के भो बा ?” रमाले मायालु आवाजमा सोधिन् । सपना खालि हिक्क-हिक्क गर्छ, केही पनि बोल्दिन । रमालाई शङ्का लाग्यो – छोरीलाई फेरि केले छोप्यो । उनले छोरीको आँखा पुछी कपाल सिहारेर धैर्यसाथ पुनः सोधिन् – “भन न, के भो, किन यसरी आत्तिएकी ?”
सपनाले बिस्तारै हात उठाएर पर मास्टर बाजेको आँखीळ्यालतिर देखाई। रमाले तमाम कुरा तुरुन्तै बुझेझैं भनिन्- “ए… केको नागसाग हुन्थ्यो, आँखीझ्यालदेखि तर्सिंदी रहिछ छोरी ।”
रामेश्वरले पनि सहज मुद्रामा खालि ‘ए’ भनी पत्नीको कुरालाई समर्थन गरे ।
एकछिनपछि सपनालै आमातिर मायालाग्दो अनुहारमा हेरी । रमाको मातृहृदय झन् पग्ल्यो । छोरीको गालामा म्वाइँ खानको लागि मुख जोर्न लागिन् । तर अकस्मात् उनी झस्केर पछि हटिन् । अलि उज्यालोमा ल्याई छोरीलाई नियालेर हेर्न थालिन् । सपनाको गालामा दाँतको छाप गडेको थियो, हल्का नीलो रङ्गका रेखाहरू त्यस ठाउँमा कोरिएका थिए । हेर्दा यस्तो भान पर्थ्यो, मानो केहीबेरअघि उसमाथि कुनै जनावरले आक्रमण गरेको थियो ।
रमाले बीभत्स मुद्रा लगाएर सोधिन्- “कसले यो ?” सपना केही बोलिन । रमाले फेरि सोधिन् । यस पटकको सोधाइमा उनको चेहरा केही रातो भइसकेको थियो ।
सपनाले अघिकै जस्तो आँखीझ्यालतिर औंल्याई, अनि एक प्रकारको विचित्र हडबडाहटमा उसले भनी- “उ :… त्यो आँखीझ्यालबाट च्याउने मास्टर ‘बाजेले !”
(पोषण पाण्डेको कथासंग्रह “आँखीझ्याल”बाट) -sahityapost








प्रतिकृया दिनुहोस्