पशुपंछीबाट रोग भित्रिन नदिन खुल्ला सिमा निगरानीमा तिब्रता


भैरहवा–खुल्ला सिमानाको प्रयोग हुँदै अस्वस्थ्यकर पशुपंछीको भारतबाट अवैध रुपमा नेपाल भित्रिने क्रमलाई निरुत्साहित गर्न पशु क्वारेन्टाइन कार्यालय क्षेत्रीय कार्यालय भैरहवाले सिमा निगरानी तथा सर्भेक्षण कार्यलाई तिब्रता तिब्रता दिएको छ ।
अवैध रुपमा भारतबाट नेपाल भित्रिने अस्वस्थ्यकर तथा बिरामी पशुपंछीबाट नेपालका पशुपंछीमा विभिन्न रोगको संक्रमण हुने जोखिम बढ्न थालेपछि नियन्त्रणका लागि सिमा निगरानी कार्यलाई प्राथमिकताकासाथ तिब्रता दिन थालिएको हो । क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालय भैरहवा अन्र्तगत पर्ने पश्चिम नवलपरासीको त्रिवेणीदेखि रुपन्देही हुँदै कपिलबस्तुको भालुवाङ् क्षेत्रसम्म १ सय ५० किमी भन्दा धेरै खुल्ला सिमा क्षेत्रमा निगरानी तथा सर्भेक्षण कार्य बढाइएको छ ।
पशु क्वारेन्टाइन क्षेत्रीय कार्यालय भैरहवाका प्रमुख डा.भक्त निउरेले भारतसँगको खुल्ला सिमानाबाट नेपालमा हुने पशु पंछिको अवैध आयातलाई निरुत्साहित गर्न सिमा निगरानीलाई प्रभावकारी बनाइन थालिएको बताए । ‘रोगी पशुपंछीको आयात भएमा नेपालका पशुपंछी संक्रमित संक्रमित भइ माहामारी फैलिएर ठूलो आर्थिक नोक्शानी हुने जोखिम बढ्छ’ पब्लिक कुरासँग निउरेले भने, ‘तोकिएको भन्सार बिन्दुमा रहेका पशु क्वारेन्टाइन नाकाबाटमात्र आयात गर्न पाइने प्राबधान भएपनि खुल्ला सिमा हुँदै अवैध रुपमा ल्याइने प्रचलनले समस्या हुने गरेको छ ।’
संक्रमित जनावरबाट पशुपंछीमामात्र नभएर कतिपय रोग मानिसमापनि सर्ने उनले बताए । उनका अनुसार, जनावर तथा पंछीको माध्यमबाट मानिसमा ६५ प्रतिशत रोग सर्ने अध्ययनले देखाएको छ । कतिपय रोग हावाबाटपनि सर्ने हुन्छन् र तुरुन्तै नेपाली किसानको गोठमा रोगका जिवाणु पुग्छन् । त्रिवेणीदेखि भालुवाङ्सम्म स्थलमार्गबाट आयात गर्नु परेमा महेशपुर, बेलहिया र कृष्णनगर नाकाबाटमात्र र हवाइमार्गबाट आयात गर्नु परेमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पशुपंछीको आयात गर्न पाइने कानुनी प्रावधान छ । तर, व्यवहारमा भने भन्सार नाका बाहेक खुल्ला सिमानाबाटपनि उत्तिकै अवैध रुपमा आयात हुने गर्छ ।

पहिला प्रति महिना १–२ पटकमात्र सिमा निगरानी हुने गरेकोमा आयातित पशुपंछीबाट रोग सर्ने क्रम बढ्न थालेपछि हाल प्रति महिना ४–५ पटकसम्म सिमा निगरानी तथा सर्भेक्षण हुने गरेको निउरेले बताए । सिमा निगरानीमा स्थानिय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी लगायत सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित टोली हुने गर्छ । टोलीले सिमावर्ती क्षेत्रको अवस्था, अवैध रुपमा पशुपंछी भित्रिएको वारेमा जानकारी, सिमावर्ती क्षेत्रमा रोगको अवस्था, अवैध आयात हुने मार्ग लगायतका बिषयमा जानकारी लिइ नियन्त्रणको पहल गर्ने गर्छ ।
स्वास्थ्य जाँच बिना भन्सार नाका बाहेक अवैध रुपमा भित्रिने पशुपंछीको माध्यमबाट सर्ने रोग र पार्ने असरका वारेमा सिमा निगरानी तथा सर्भेका क्रममा सिमामा तैनाथ सुरक्षाकर्मी र स्थानियलाई समेत प्रशिक्षण दिने गरिएको निउरेले बताए । ‘अवैध रुपमा पशुपंछीको आयात भएमा रोग संक्रमणको जोखिममात्र होइन, नेपालमा आत्मनिर्भर अवस्थामा रहेका र हुन लागेका व्यवसायमा समेत प्रतिकुल असर पार्ने गर्छ’ निउरेले भने, ‘आपसी सामाजिक सँस्कार, दुई देश बिचको रोटीबेटीको सम्बन्धका कारण खुल्ला सिमाना नियन्त्रणमा समस्या हुने गरेको छ ।’
उनका अनुसार, माइतबाट छोरीचेलीले कोसेलीको रुपमा ल्याउने खशी, बाख्रा, कुखुरा, दानको रुपमा प्राप्त हुने गाइ भैंसी, विवाहको वेला ल्याइने घोडा सहितको रथ लगायतका कारणले नेपालमा रोगको जोखिम बढाउने गरेका छन् । लम्पीस्किन, बर्ड फ्ल्यु, अफ्रिकन स्वाइन फिवर, पीपीआर, खोरेत लगायत्का रोगको संक्रमण आयातित पशुपंछिबाट जोखिममा छ ।








लेखकको सम्वन्धमा