June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

माघीको रौनक

Advertisement

भैरहवा– विभिन्न जातजातिमा विशेष प्रकारले मनाउने गरिएको माघे संक्रान्तिका कारण लुम्बिनी प्रदेशका जिल्लामा रौनक छाएको छ । माघ स्नान गरेर संक्रान्ति मनाउनेका कारण प्रदेशका नदीनाला, पोखरी र मठ मन्दिरमा चहलहपल छ । माघी थारु र मगर समुदायको विशेष पर्व भएकाले ती समुदायका बस्तीमा बेग्लै रौनक छ । प्रदेशमा विभिन्न नाममा संक्रान्ति मनाउने गरिन्छ । यहाँका धामहरुमा रातभरि भजनकिर्तन गरेर बिहान स्नान गर्ने चलन छ ।

Advertisement

प्रदेशका तराईका ६ जिल्लामा थारु समुदायले माघीलाई नयाँ वर्षका रुपमा हर्षोल्लास पूर्वक मनाइरहेका छन् । थारु बस्तीमा माघी मेला र महोत्सव आयोजना गरिएका छन् । परम्परा जगर्ने गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सबै समुदायको सहभागिता देखिन्छ । प्रदेशका पहाडी जिल्लामा मगर समुदायले माघीलाई चेली पुज्ने पर्वका रुपमा मनाउने गरेका छन् । माघीका दिन आफ्ना छोरी चेलीलाई विशेष प्रकारका परिकार र उपहार दिने चलन छ । माघीका खिचडी, तरुल, सखरखण्डका परिकार खाइन्छ ।

प्रदेशका दाङ, बाँके र बर्दियामा थारु समूदायको बाहुल्य छ । थारु बस्तीमा अहिले माघी पर्वले रौनक छाएको छ । यस वर्ष माघी संक्रान्तिको पूर्वसन्ध्याबाटै तराईका थारु बस्तीमा चहलपहल बढेको छ । नाचगान र आफन्तहरु एकठाउँमा जम्मा हुँदा थारु तथा अन्य समुदायको बस्ती निकै रमाइलो भएका छन् ।

गाउँबस्तीमा बाहिर काम गर्न र अध्ययन गर्न गएका थारु युवा, युवती घर फर्किसकेका छन् । बस्तीमा माघी नाच र गीत घन्किरहेका छन् । विशेष गरि थारु समुदायको नयाँ वर्ष र ठुलो पर्व भएका कारण उत्साह र उमंगले माघी मनाउँदै आएका छन् । थारु समुदायले विशेष महत्वको पर्व भएकाले बस्तीबस्तीको घरमा उत्साह र चहल पहल बढेको बर्दियाको बढैयाताल गाउपालिका–७, बोकटियाका युवा अगुवा सिद्धान्त थारुले बताए ।

यहाँ माघी मिलनदेखि सांस्कृतिक कार्यक्रम भइरहेको छ । माघीका दिन थारु समुदायका व्यक्तिले विहानै उठेर नुहाई धुवाई गरि शिवजीको पुजा गर्ने चलन छ । सोही दिन अनिवार्य रुपमा ठुलावडा आफन्तसँग ढोगेर आशीर्वाद लिने गर्छन । ‘सन्तान नभएकाले शिवजीसँग सन्तानको वर माग्ने परम्परा रहेको छ,’ उनले भने, ‘हरेक थारु गाउँबस्तीमा आफ्ना भेषभुषा अनुसार माघी नृत्यसहित गीत गाएर नयॉ वर्षको स्वागत गर्छौं ।’

थारु समुदायका युवा युवती महिलाहरु मघौटा नाच गान गर्दे बस्ती बस्तीमा रमाएका छन् । थारु समूदायको माघीबाट नयाँ वर्षको शुरुवात हुने भएकाले वर्षभरिका लागि बडघर, चौकीदार, स्वयंसेवकलगायत गाउँका अगुवा चयन गर्ने गरिन्छ । २०५७ साल अघि माघीका समय छोरीवेटीलाई साहु महाजनका घर कम्लरी, बुक्रेनी र कमैया राख्ने निधो हुन्थ्यो । सरकारले ०५७ साउन २ गते कमैया प्रथा अन्त्य गरेको घोषणा पछि अहिले यो परम्परा हटेको छ ।

माघीको अवसरमा आज रुपन्देहीको सियारीमा विशेष मेला आयोजना गरिएको थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद अयोध्या थारुले बताए । ‘थारु बस्तीहरुमा निकै उल्लास छाएको छ’, उनले भने, ‘आफन्तहरु जम्मा हुने, मिठोमसिनो खाने र नाचगान भइरहेको छ ।’ उनका अनुसार सियारीमा आयोजित कार्यक्रममा सबै समुदायका अगुवा जम्मा भएर रमाउने छन् । यसरी अन्य जिल्लामा पनि माघीको चहलपहल छ ।