विविधतामा निहित मौलिक संस्कृति तथा परम्पराहरू नै पहिचान र शक्ति हुन्ः मुख्यमन्त्री आचार्य


दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले माघे संक्रान्ति देशका विभिन्न समुदायले आ–आफ्नै परम्परा र सांस्कृतिक विधिअनुसार मनाउँदै आएको महत्वपूर्ण पर्व भएको उल्लेख गरेका छन् ।
बिहीबार जारी शुभकामना सन्देशमा उनले थारु समुदायले माघलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेको र मगर, यादवलगायत अन्य समुदायका लागि पनि यो पर्व विशेष महत्व राख्ने बताएका छन् । उनका अनुसार लुम्बिनी प्रदेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको भएकाले यस विविधतामा निहित मौलिक संस्कृति र परम्पराहरू नै पहिचान र शक्ति हुन् ।
प्रदेश सरकारले यस्ता सांस्कृतिक मूल्य र मान्यताको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आर्थिक तथा सामाजिक विकासलाई अघि बढाइरहेको जनाए । ‘मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने भएकाले प्रदेश सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रा मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । मौलिकता जोगाउन सके मात्र नेपालीपनको पहिचान सुरक्षित रहन्छ ।’
मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्ने लक्ष्यअनुसार सरकारले काम गरिररहेको स्पष्ट पारेका छन् । मुख्यमन्त्री आचार्यले मौलिक संस्कृति र परम्पराको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै मौलिकता जोगाउन सके मात्र नेपालीपनको पहिचान सुरक्षित रहने विश्वास व्यक्त गरे । उनले यो पर्वले आपसी सद्भाव, आत्मीयता, सहयोग र एकताको भावना अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन् ।








प्रतिकृया दिनुहोस्