रूपन्देहीमा तीन दलीय गठबन्धनको निर्वाचन परिचालन कार्यदल गठन


भैरहवा– नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजबादी पार्टी बीचको तीन दलीय गठबन्धनले आउँदो निर्वाचनका लागि रुपन्देही जिल्लामा ९ सदस्यीय निर्वाचन परिचालन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
तीनवटा पार्टीका जिल्ला अध्यक्षहरु र नागरिक उन्मुक्ति पार्टी नेपालका महासचिव डा.उमाशंकर प्रसाद चौधरी लगायतका नेताको उपस्थिति र नागरिक उन्मुक्ति पार्टी नेपाल, रुपन्देहीका जिल्ला अध्यक्ष बिजयबहादुर सिंह चौधरीको अध्यक्षतामा बुधवार बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
नागरिक उन्मुक्ति पार्टी नेपालका महासचिव डा.चौधरीले फागुन २१ गते हुने निर्वाचनमा तीन दलीय गठबन्धनको सरलीकरण सहजीकरण र व्यापक प्रचारप्रसारका लागि कार्यदलको गठन गरिएको बताए । ‘पहिचान सुशासन, संघीयता, समावेशिता लगायतका विषयमा तीन दल बीचको चुनावी मुद्दा मिल्ने भएकाले गठबन्धन गरिएको हो’, चौधरीले भने, ‘समतामूलक समाज निर्माण गर्न र पहिचानसहितको संघीयताको पक्षमा हाम्रो गठबन्धनको अडान स्पष्ट छ ।’
निर्वाचन प्रणाली ज्याँदै महङ्गो हुँदै जान थालेकाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता बढ्दै जान थालेको र संघीयताको भावना अनुरुप अधिकारहरु बाँडफाँड हुनु पर्ने उनले बताए ।
कार्यदलको संयोजकमा नागरिक उन्मुक्ति पार्टी नेपाल, रुपन्देहीका जिल्ला अध्यक्ष बिजय बहादुर सिंह चौधरी छन् । सदस्यमा, राष्ट्रिय मुक्ति पार्टी नेपाल रुपन्देहीका अध्यक्ष मुकेश यादव, जनता समाजवादी पार्टीका रामकेश धवल, सुनिल पाठक र रामजन अलि, राष्ट्रिय मुक्ति पार्टीका दिनेश मिश्र, जोगेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका कमाल हसान खाँन र श्याम बहादुर चौधरी छन् ।
तीन दलीय उक्त गठबन्धनले पहिचान सुशासन, संघीयता, समावेशिता र समुदायमा आधारित समाजवाद स्थापनाका लागि तीन दलले गर्दै आएको संघर्षको सन्दर्भमा आउँदो चुनावलाई एउटा संघर्षको कडीको रुपमा लिने निर्णय पनि गरेको छ ।
जनता समाजवादी पार्टी, रुपन्देहीका इन्चार्ज मोहम्मद अलीले कार्यदलले बुधवारदेखि नै फिल्डमा गएर काम थाल्ने बताए । हिजोसम्म अलग अलग प्लेटफर्मबाट चुनाव लडेका पहिचानबादी शक्तिहरु यी तीन दल अव एक ढिक्का भएर एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने बताए । राष्ट्रिय मुक्ति पार्टीका दिनेश मिश्रले ठूला दलहरु पटक पटक सत्तामा गएर पनि शोषित पीडित जनताको पक्षमा केही नगरेको र त्यस्ता जनताको पक्षमा काम गर्ने हामी हौं भन्ने सन्देश जनतामाझ दिइने बताए ।
नागरिक उन्मुक्ति पार्टी नेपाल, रुपन्देहीका जिल्ला अध्यक्ष बिजय बहादुर सिंह चौधरीले तीन दलीय गठबन्धनमा समानुपातिक उम्मेदावारका लागि पेस गरिएको १ सय १० जना उम्मेदवार वारेमा कुनै बिवाद नआएको र गठबन्धनमा बिवादित कोही पनि व्यक्ति नरहेको दावी गरे ।








प्रतिकृया दिनुहोस्