June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा भीम अस्पताल लुम्बिनी प्रदेशमा दोस्रो

Advertisement

भैरहवा– रुपन्देही सदरमुकाम भैरहवास्थित भीम अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) कार्यान्वयन मूल्यांकनमा लुम्बिनी प्रदेशमा दोस्रो हुन सफल भएको छ । सरकारले लागू गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा बर्दिया जिल्ला अस्पतालले ९६ अंक प्राप्त गरेर पहिलो भएको छ । जिल्ला अस्पताल समेत रहेको भीमले ९५ अंक प्राप्त गरी दोस्रो भएको हो ।

Advertisement

मंगलबार भैरहवास्थित अस्पताल परिसरमा आयोजित कार्यक्रममा मूल्यांकन तथा अनुगमन समितिले तथ्यांक सार्वजनिक गर्दै भीम प्रदेशमा दोस्रो भएको जानकारी दिइएको हो । अस्पतालले प्रदान गर्नुपर्ने न्यूनतम सेवाको अवस्था, पारदर्शिता, फोहोर व्यवस्थापन, फार्मेसीबाट हुने सेवा प्रवाह लगायत दर्जन मापदण्ड राखेर अनुगमन समितिले मूल्यांकन गरेको थियो ।

यस्तै, अस्पतालको प्रशासन, व्यवस्थापन, बजेट खर्चको अवस्था, विशेषज्ञ सेवा, निःशुल्क उपचार सेवा लगायतका सूचकलाई पनि आधार मानेर मूल्यांकन गरिएको अनुगमन समितिले जनाएको छ । अस्पताल अनुगमन, मूल्यांकन तथा समीक्षा कार्यक्रममा भीम अस्पतालको सेवा प्रवाह प्रभावकारी रहेकाले उच्च अंक प्राप्त गरेको एमएसएसको निष्कर्ष छ । सार्वजनिक गरेको तथ्यांकअनुसार लुम्बिनी प्रदेशका ‘ए’ लेबलका अस्पतालमध्ये गुल्मी अस्पतालले ९१ अंक प्राप्त गर्दै तेस्रो स्थानमा भएको छ भने भालुवाङ अस्पताल ४७ अंकसहित पुछारमा छ ।

कार्यक्रममा बोल्दै कपिलवस्तु अस्पतालका प्रमुख तथा अनुगमन समितिका फोकल पर्सन डा. किशोर बन्जाडेले अस्पताललाई दिगो बनाउने हो भने भौतिक पूर्वाधार र उपचार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । जाडो मौसममा बिरामीको चाप देखिएको उल्लेख गर्दै उनले चैत महिनामा अझ बढ्ने भएकाले अस्पताललाई कम्तिमा सय शय्यामा विस्तार गर्न सुझाए । उनले अस्पतालको सेवा प्रवाह प्रभावकारी रहेको जनाए ।

भीम अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.वर्षा थापाले जनशक्तिको अभाव हुँदाहुँदै पनि सेवा सुधारमा निरन्तर लागिरहेको बताइन् । अंक बढाउनु मात्र नभएर सेवालाई गुणस्तर बनाउँदै सुधार गर्नु महत्वपूर्ण रहेको उनको भनाई छ । उनले बिरामीलाई सहज र भरपर्दो उपचार दिने अस्पतालको लक्ष्य रहेको बताइन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले महिला वार्ड तथा प्रसूति गृह सफा हुनुपर्नेमा जोड दिँदै अस्पताल परिसरभित्र इको–फ्रेन्डली बगैँचा निर्माण गर्नुपर्नेको जोड दिए । उनले मूल्यांकनमा जसरी सेवा प्रवाह पनि वास्तविक रुपमा अग्रणी हुनुपर्नेमा बताए ।

भीम अस्पतालको एमएसएस मूल्यांकनले पछिल्ला वर्षहरुमा सेवा प्रवाह उल्लेखनीय सुधार हुँदै आएको देखिन्छ । अस्पतालले ओपिडी, दन्त सेवा, आपतकालीन सेवा, फार्मेसी लगायतका क्लिनिकल सेवालाई गुणस्तरीय बनाउँदै लगेकाले अंक वृद्धि भएको एमएसएसको भनाई छ । यद्यपि अझ सुधार गर्नुपर्ने एमएसएसले सुझावसमेत दिएको छ । सबै विभागमा बढ्दो भीड व्यवस्थापन, फार्मेसी विस्तार तथा पोस्टमार्टमका लागि नयाँ भवन निर्माण गर्न समितिको सुझाव छ ।