नाउपाका महासचिव चौधरी रूपन्देही एकबाट चुनाव लड्ने


भैरहवा– नागरिक उन्मुक्ति पार्टी नेपालका महासचिव डा .उमाशंकर चौधरी रुपन्देही क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएका छन् । लामो समय स्वास्थ्य सेवामा रहेका उनी यसअघि रुपन्देही ३ को उपनिर्वाचनमा त्यहाँबाट उम्मेदवार बन्ने तयारी गरेका थिए । तर, त्यो बीचैमा रोकिएपछि अहिले उनले रुपन्देही १ बाट चुनाव लड्ने तयारी गरेका हुन् ।
उनी यसअघि थारु आयोगको सदस्य बनेका थिए । तर रुपन्देहीमा उपनिर्वाचनमा उनको उम्मेदवारी निश्चित भएपछि भदौ २२ मा राजीनामा बुझाएर बसेका थिए । नाउपाका संरक्षक रहेका रेशम चौधरीले त्यो समयमा रुपन्देही आएर थारुको छोरा डाक्टर बनेको र उसैलाई उम्मेदार बनाउने घोषणा गरेका थिए ।
रुपन्देही १ मा आफूले निर्वाचन केन्द्रित रहेर चुनावी तयारी गरेको चौधरीले बताए । ‘पार्टीको महासचिव छु, विभिन्न जिम्मेवारी छन् तर मलाई रुपन्देही १ मा चुनावी तयारीका लागि जिम्मेवारी दिइएपछि यतै लागेको छु’, उनले भने ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख, संवैधानिक थारू आयोगको सदस्य पदबाट राजीनामा दिएर राजनीतिक क्षेत्रमा प्रबेश गरेका उनले बताउँछन् । पार्टीका संरक्षक रेशम चौधरीमार्फत सो यो पार्टीले जातो र चकिया चुनाव चिन्ह लिएर लड्ने भएको छ ।








प्रतिकृया दिनुहोस्