पालो


साथी खिमलालको निधन भएछ । निधन त पहिले भएको हुँदो हो । तर, समाचार केहीपछि थाहा पाएँ । ऊ मेरो बालसखा त होइन । उसको र मेरो मित्रता एउटै सहरमा रहँदाबस्दाको परिचयपछि गाढा भएको हो, प्रगाढ होइन । तर, ऊ र मबीच मिठो संवाद हुन्थ्यो । मेलमिलाप पनि थियो ।
उसको घर म जाने र ऊ मेरो घर आउने, खानापिना चल्ने होइन । तर, साथी थियो, निधन भएछ । सम्झनयोग्य कुरो एउटा यो थियो, ऊ पारिवारिक वा कार्यालयीय समस्या परेमा भन्ने गथ्र्यो, “बडो मुस्किल छ हो, यसबाट पार पाउन ।”
पहिले सरकारी कर्मचारी थियो, पछि रिटायर्ड भयो । यो भनाइ थेगो नै थियो उसको । ब्रान्ड परिचय पनि थियो । कार्यालयका सेवाग्राहीले पनि उसलाई यही थेगोले चिन्थे र अप्ठेरो परेका बेलामा आपसमा पनि यही भन्थे, “बडो मुस्किल छ हो…।”
यसो भनेर कहिले रिलिफ हुनका लागि हाँस्थे, कहिले समस्याको जटिलताले चिन्तित भएर गम्भीर हुन्थे । र, भट्टीभित्र पस्थे, लोकल खान । संजोगको कुरो, उसको र मरो जन्मसंवत् एउटै रहेछ । परिचयपछि यो खुल्यो । महिनाले म जेठो हुँ । तर, महिनादिनले कान्छो ऊ पहिले गयो । जानेलाई कसैले छेक्न सक्दैन ।
यसो भनेर चित्त बुझाउन सकिन्छ । तापनि उसको निधनको खबरले एउटा डर मभित्र पस्यो । मैले त्यो डरलाई भित्रभित्रै दबाएको छु । कसैले थाहा पाउन सकेका छैनन् मभित्र डर पसेको । किनभने, मैले ‘म मरिन्छ भनेर डराएको छु’ भन्ने कुरो पनि भएन । लाजको कुरो हुने थियो ।
‘एकदिन त मर्नै छ, यो अहिलेदेखि डराइरहेछ’ भनेर गिल्ला गरिन पनि सकिन्थ्यो । “मानिसको आयु पुगेपछि मर्छ । यसमा डराउने के कुरा ?” तर, भन्नेले यसो भने पनि डर त हुन्छ । किनभने, यो डर मृत्युको हो ।
तर, थप कुरो यो थियो— मृत्युको अबको पालो मेरो हो भन्ने बोधले । मेरै जन्मसंवत् भएको साथी जसभन्दा म महिनादिनले जेठो थिएँ । तर, त्यसलाई उछिनेर ऊ गयो ।
उसको नाम खिमलाल हो (फेरिएको नाम) । खिमलाल गएको खबर पनि उसका परिवारले मलाई दिएका होइनन््, जरुरी देखेनन् । बीचका यतिका वर्ष सम्पर्कविहीन रहियो, उताकाले बिर्सिए । आवश्यक नै देखिएन, ऊ बितेको सूचना दिन । संजोगले थाहा पाएँको हुँ ।
यसले देखायो, उसको र मेरो सम्बन्ध टुटेको निकै समय भएको रहेछ । यद्यपि, त्यस्तो कुनै सानोठूलो झगडाले मन फाटेको थिएन । आआफ्ना जीवनको बाटो फाटेकाले हामी टाढिएका थियौँ । यसउसले पनि होला अपरिचय झांगिँदै गएकोे रहेछ ।
उसको निधनको खबर पाएको भए म उसको अन्तिम सस्कारमा जाने थिएँ ? त्यसमा म जाने थिइनँ, यो पक्का थियो । म टाढा अर्कै सहरमा घरजम गरेर बसेको थिएँ । टाढै भए पनि फोनमा आक्कलझुक्कल कुरा हुन्थ्यो । तर, विशेष होइन ।
यस्तो भए पनि उसको मृत्युले मलाई झस्काइदियो । म झस्केको मात्र होइन, शनैःशनैः त्यो झस्कोले एउटा भयावह बोधको रूप मभित्र बनायो । मलाई लाग्यो, मृत्युले मेरो ढोका ढकढकाउन आउने बेला भएछ ।
अहिलेसम्म जीवनमा मस्त भएर आफैँ आत्ममग्न भएको मलाई मित्रको मृत्युले पूरै हल्लाइिदियो । मलाई बोध भयो— मेरो जीवनलीला पनि समाप्तितिर अघि बढ्दै छ ।
निकट भविष्यमा नै मेरो पनि जाने पालो आएछ भनेर म तर्सिएँ । पालो मेरै हो भन्ने बोधले अन्तर्मनमा डर लागिरह्यो । परिणाममा मलाई खाना पनि रुचेन, रुच्न छाड्यो । कतै जान मन पनि लागेन ।
हल्लिँदै अपरिचित टोलटोल चहार्ने गर्थें । मन लागेन । सबै खल्लोखल्लो लागिरह्यो । मृत्युभय वा त्रास मात्रले मनमा एकछत्र शासन गरिरह्यो ।
मैले खिमलालको निधनको खबर एकजना भाइमार्पmत थाहा पाएको हुँ । एकजना परिचित, जो हिमचिमका कारण म ‘भाइ’भनेर सम्बोधन गर्थें । तर, यस जमानामा भाइ भन्ने कोही हुँदैन ।
उसले घर किनेछ । औपचारिताकै लागि भए पनि खुसी व्यक्त गर्दै बधाई दिन फोन गर्नैपर्यो, गरेँ । यस जमानामा घर किन्नु चानचुने कुरो थिएन ।
त्यो भाइ कारोबार बिग्रेर करोडपतिबाट रोडपति भएको थियो । ऊ डेराडेरा सरिहिँड्थ्यो परिवार र डेराका सामान जम्मै पिकअपमा राखेर । कारण यो हुन्थ्यो, कारोबार बिग्रेपछि उसले समयमा डेराभाडा तिर्न सक्दैनथ्यो । त्यसैले उसले घर किन्नु बधाईको विषय बन्थ्यो ।
उसले कारोबार रातारात सुध्रिएको हुनाले घर किनेको थिएन । उसको छोरो केके तिकडम भिडाएर अमेरिका जान सक्यो । चिठ्ठै परेको नि ! अमेरिका गएपछि उतै बिहेबारी गरेछ, अमेरिकीसँग । पेपर म्यारिज गरेको भन्ने सुनेँ ।
अब यहाँबाट उम्केर गएपछि अमेरिका मात्रै पुग्नु पनि बहादुरी मानियो भने उता पुगेर तारतम्य मिलाएर अमेरिकी केटीसँग बिहे गरेर घरगृहस्थी, केही कालकै लागि भए पनि, जमाएर बस्नु भनेको कम पुरुषार्थ मानिएन ।
अहिलेको राष्ट्रपति ट्रम्प आइसकेको थिएन । तर, यो छँदै छ, उता गएको छोरोले दुईचार वर्षपछि एक कुस्त यस्तो रकम पठायो, भाइले काठमाडौंमा घर किन्न सक्यो । डेराडेरा सर्ने काम बन्द भयो । त्यसैले त्यो परिवारै बन्यो बधाईको पात्र— विशेष गरी छोरो पनि, बाबा पनि ।
बीचका कुरा स्थगित गरौँ । तर, बधाई दिँदा भाइले एउटा खबरलाई सामान्य बनाएर भन्यो, “खिमलाल बितेको थाहा पाउनुभयो ?”
मलाई थाहै थिएन, ऊ बितेको । को बित्यो र को बाँचेको छ भन्ने खोजिहिँड्न सकिएन । सत्य खबर त्यही थियो र मैले भनेँ, “अहँ, थाहा छैन ।”
तर, यसबीच म खंग्रंङ भइसकेको रहेछु । यो अप्रत्याशित समाचार थियो । मभन्दा महिनादिनले कान्छो नै सही, कसरी बित्यो मभन्दा अघि ऊ ? किन जान हतारो भएछ उसलाई ?
उताबाट भाइले अलि तिरस्कारको स्वरमा भन्यो, “ऊ त तपाईंको मिल्ने साथी होइन ? लौ, आफ्नो मिल्ने साथी बितेको पनि थाहा नपाउने कस्तो तपाईं ?”
उता अमेरिका पुगेको उसको छोराको यो स्याबासी दिनलायक कामबारे पनि प्रफुल्ल हुँदै संवाद अगाडि बढाउन मलाई उपयुक्त अवसर लागेन । फोन काटेँ । भाइसँग यस्ता कुरा गरेको भए खिमलालको निधनको शोकको महत्त्व बिलाएर जाने आशंका थियो ।
फोन मैले एकाएक काटेँ । तर, उताबाट फेरि रिङ आएन । भाइ पनि घरको काममा व्यस्त भयो होला । नयाँनयाँ किनेको घर, त्यसलाई सजाउन र व्यवस्थित गर्नतिर लाग्यो होला ।
यता मलाई लाग्यो– म पनि व्यस्त भएँ भने व्यस्तताले केही दिनपछि नै खिमलालको निधनको अफसोस बिर्साउनेछ । हुने यही गर्छ, व्यस्तताका बीच नै प्रियजनको मृत्यु बिस्तारै विस्मृत भएर जान्छ र थाहै नपाई मृत्यु हुने आफ्नो पालो आइपुग्छ ।
साथी बितुन्जेल पनि उसको खोजखबर नलिएकामा मलाई पश्चात्ताप हुन लागेको थियो । तर, मान्छे कुन मिति–गतेमा बित्छ भन्ने के थाहा ?
मैले शोकमिश्रित स्वरमा भनेँ, “त्यो त हो भाइ । तर टाढिएको पनि ५० वर्ष जति भइसक्यो । बीचबीचमा जान त गइयो, तर कताकता । यता केही वर्ष भए त्यता जाँदै नगएको । ऊ त पहिलेदेखि नै बिरामी थियो, त्यही बिरामीले लग्यो होला ।”
खिमलालको निधन भएछ । यो थाहा पाएर म शोकमग्न त भएँ । तर, शोकाकुल भइनँ । कारण यो थियो, ऊ पहिलेदेखि नै बिरामी थियो । किड्नीको बिरामी । त्यै बिरामी बिग्रेर होला, गयो । उपचारको कमीले हो वा लेखान्त ! दुवैको संयोगले पनि हुन सक्छ ।
भाइसँग घर किनेको कुरो हुनै पाएन । सुरुमा बधाई भन्न त भ्याएँ । तर, उसैले सुरुमा नै खिमलालको निधनको समाचार घुसारेर मलाई अकमक्क पार्यो । शोकसमाचारलाई चिरेर केको बधाई ?
एक त पुरानो साथी खिमलालको निधनको अशुभ र शोक समाचार पाइएको छ भाइकै मुखबाट, अनि उसैलाई खुसी हुँदै घर किनेकामा हार्दिक बधाई ज्ञापन गर्न सुहाउँदैनजस्तो लागेको थियो यति बेला ।
तर, जीवन हो । बधाई र समवेदना एकैचोटि जुध्न पनि सक्छन् ।
मलाई खिमलाल यति चाँडै जाला भन्ने लागेको थिएन । किनभने, उसको र मेरो जन्मसंवत् एउटै हो र म जीवितै छु । के जानुपर्ने म थिएँ ? यसरी के म आफ्नै मृत्युलाई प्राथमिकतामा राख्दै छु ? जे भए पनि मलाई मर्ने डरले वा मर्ने पालो मेरै हो भन्ने डरले थिचिराख्यो । वास्तवमै अबको पालो मेरै हो ?
डराएर म त्यस बिहान सधैँभैmँ घरबाहिर जाँदै गइनँ । घरको एउटा अलि अँध्यारो स्टोरजस्तो कोठामा गएर काठको पुरानो हल्लने मेचमाथि बसिराखेँ । त्यहाँ एउटा पुरानो डोको घोप्ट्याएर राखिएको थियो, त्यसमाथि एउटा पुरानो नाम्लो ।
एक कुनामा मसला बोक्ने फलामका पुराना तसला थिए । सिमेन्टी मसला लतपतिएका नरिवलका जटाका बाटेको एक थुप्रो डोरी अर्को कुनामा थियो, घर बनाउँदाका सामग्री ।
अरू खित्रिङसित्रिङ पनि थिए— हतौडो, छेनी र काठमा केही टुक्रा । म यस अँध्यारो कोठाभित्र छिरेर घोरिन्थेँ, समस्या परेपछि समाधान निकाल्न । म त्यही कोठामा पसेको थिएँ राहत लिन । मृत्युबाट राहत त थिएन । तर, त्यो अन्तिम कुरो । अहिले जति घोरिए पनि पार पाउन सकिन्नथ्यो ।
निकैबेर घोरिएँ । जीवन र मृत्युबारे चिन्तन गर्न । तर, सकिनँ । केही आउँदै आएन । धेरै बेरपछि म तन्द्रामा पसेजस्तो भएछु । अबेरपछि कोठाको अँध्यारोबाट कतैकतैको एउटा आवाज छेउमा उपस्थित भएभैmँ लाग्यो– “बडो मुस्किल छ हो यसबाट पार पाउन ।”
मैले वरिपरि हेरेँ । कोही थिएन । कोही किन हुनुपर्यो ! म नै थिएँ– आफ्नै भयसँग । आवाज उसैको थियो, खिमलालको । तर यति वर्षपछि मैले के उसको आवाज चिनेँ ? सम्भव असम्भव दुवै थियो ।
खिमलाल नमरेर जीवितै होला भन्ने भ्रम लागिरह्यो मलाई । तर ऊ गइसकेको छ, एकाएक मसँग एउटै जन्मसंवत्को सम्बन्ध चुँडालेर । बाँकी रहेँ म मात्र । यसरी एक्लोपनको अनुभव हुन थाल्यो मलाई । म पनि मृत्युको राडारमा परेँ भन्ने दिमागमा आइलाग्यो ।
यसबाट पन्छिने कसरी ? तर, लेखान्तका अगाडि कसैको केही चल्ने होइन । अभैm त जीवितै छु– मैले मनलाई सम्झाएँ । मेले गरिराख्नुपर्ने काम केही छैन, अब उमेरहदका कारण जीवनबाटै रिटायर्ड हुनुपर्ने बेलामा कामको थुप्रो लगाएर बस्नु छैन, मेरो सिद्धान्त यो थियो ।
हो, आफ्नो वा अर्काको जुनै मानिसको पनि मृत्यु सुनिश्चित छ । यति त सबैले भन्ने गरेकै छन् कोही पनि अमर छैन । म पनि यसबाहिर छैन ।
तर, एउटा यो समाचारले कि हेमन्तको निधन भयो— मभित्र एउटा विशेष किसिमको भय पैदा गरिदियो– “हेर् है, अब पालो तेरो ।” (मृत्यु पनि पालो बाँधेर आउला त ?)
यसअघि पनि मेरा साथीमा गणना गर्न मिल्ने मित्रलाल (नाम फेरिएको) को र बेचनभाइ (नाम फेरिएको) को निधन भइसकेको थियो । तिनको मृत्यु एउटाको क्यान्सरका कारणले र अर्काको हार्टअट्याकका कारण भएको थियो । अहिले हेमन्त गयो ।
मित्रवृत्तका यी तीनै गए भने बाँकी म मात्र । अब मृत्यको टार्गेट म । उमेरका कारण सहज टार्गेट । डराउँदै बाँच्नुपर्ने भो । पालो कुर्नेमा परेँ म । यो एक दुर्निवार पालो थियो । आज हो कि भोलि ?
म यही भयले दुईचार दिन मर्निङवाकमा पनि गइनँ । जाडो लागिसकेको छ । घरमा शंका नहोस् कि बूढो किन बिहान घुम्न जान छाड्यो भनेर– म जाडोको बहाना बनाएर घरमै बस्ने गरेँ ।
जुन दिन म बिहान बाहिर गइनँ त्यो दिन चियाका लागि भनेँ– बिनादूधको । बिहानको एक कप दूधैको चिया हुन्थ्यो । बाँकी कपहरू मैले बिनादूधको भन्ने आग्रह गर्थें ।
बडो गजब भइगो– हेमन्तको निधनको समाचार के थाहा पाएको थिएँ, यता मभित्र मृत्युबारे चिन्तन सुरु भयो । अरू बेला म मस्तले बाँचिरहेको थिएँ । खान पनि रुचिरहेको थियो, घुम्नडुल्न र हिँड्न पनि मन लाग्थ्यो, एकाएक ‘ब्रेक’ लाग्यो ।
मृत्युभयले वरिपरि तलमाथि सबैतिरबाट ढाक्दै आएको अनुभव हुन थाल्यो । मनमा आइरह्यो अब मेरो पालो । रातिको चकमन्न सन्नाटामा एम्बुलेन्सको साइरनले मलाई झस्काउन थाल्यो ।
एकदिन त्यसै गरी मलाई उपचारका लागि आकस्मिक कक्षतिर एम्बुलेन्समा राखेर कुदाउँदै लगिनेछ । निद्रा टुट्थ्यो र म चिन्तामग्न हुन्थेँ । कति भयावह छ मृत्युको सोच !
मृत्युबारे चिन्तन गर्नु के थियो र ? मृत्युमा नयाँ के हुन्छ र ? मृत्यु हो, भइरहन्छ । यस्ता तर्कनाले मन बुझ्दैनथ्यो, डर भाग्दैनथ्यो । कोठा झन् अँध्यारो भएभैmँ लाग्यो ।
मृत्यु पनि अन्धकार नै त हो । मृत्यु भनेको प्राण गएर देहत्याग गर्नु त हो भन्ने सामान्य सोचमा थिएँ म । तर, पालो अब आयो भन्ने आशंकाले म अहिले निसासिने गरी थिचिएको छु ।
अब पालो मेरो भन्ने आशंकाले उब्जाउने भय यस्तो होला भन्नेबारे मलाई केही थाहा थिएन । जस्तै– म फाँसीका लागि तयार गरिँदै छु, मभन्दा अगाडिको व्यक्तिलाई झुन्ड्याएपछि मलाई नै पासो लगाएर तुर्लुंङ पार्ने हुन् ।
तर, मैले यो कल्पनालाई खारेज गरिदिएँ । मेरो मुलुकमा फाँसीको सजाय त छैन । यसले केही शीतलता दियो । र, मैले यो फाँसीको कल्पना खारेज गरिदिएँ ।
यस्तो कष्टदायक मृत्यु मेरो सम्भव छैन भनेर मेले आफैँलाई आश्वासन दिएँ ।
साथी खिमलालको मृत्यु त भयो । तर, मृत्यु हुने पालो अब मेरो भन्ने डर मभित्र त्यसले बलियो गरी जरा गाडिदियो । पशुपतिको जीवनभरिमा आर्यघाट म तीनचारचोटि पुगेको छु । त्यहाँ अनेकथरीका कात्रोमा बेरिएका लास देखेको पनि छु, किरियापुत्रीहरू पनि देखेको छु ।
नामी नेताहरूलाई पूर्णतः सजाइएको श्रीखण्डको चितामा लेटाइएको पनि देखेको छु । दागबत्ती दिएको पनि हरेको छु । गरुडपुराण सुनेको पनि छु । तर मृत्यु त्यति मात्र हो ?
म मृत्यु अरू केही पनि हो वा अरू केही मात्र होइन । तर, अरू धेरैधेरै हो भन्ने ज्ञान पनि छ । तर, मृत्यु हो के भन्ने मलाई पूर्ण ज्ञान छैन ।
अज्ञानताले नै भय पैदा गर्छ कि वा ज्ञान भएपछि भय अझ घनीभूत भएर आउँछ त्यो पनि मलाई थाहा छैन । मलाई त यति मात्र लागिराख्यो– खिमलाल गएछ ।
अब के हुने हो ? एउटा अनिश्चित भविष्य तर मृत्यु हुने निश्चितता लिएको भविष्य छ । तैपनि, मृत्यु कहिले भन्ने अज्ञान छ त्यही भयले मलाई ढाकिराख्यो ।
यस्तो भयो– कुखुराका चल्ला र माउसहित चिलको आक्रमणबाट बचाउन डोकोले ढाकेझैँ म पनि घरभित्रको त्यही कोठाभित्र लुकेर बसेजस्तो भयो ।
तर, यसले के हुनु थियो र घरभित्रको कुनोको कोठामा म खुम्चेर बसेर ? कोठा अलिअलि अँध्यारो थियो, अहिले झन् गाढा अँध्यारै भएर आयो । मलाई एकान्त चाहिएको थियो । म त्यहीँ बसिरहँे । तर, डरले केके अनुभूत गरायो ।
खिमलाल पनि मृत्युपछि फुर्सद पाएर मलाई खोज्दै घरभित्रै छिरेजस्तो लाग्यो । खिमलालको आत्मा मेरो नजिक आएर उभिएको छ । ऊ सोध्दै छ, “बिर्सिस् यार !”
त्यतिबेलै कोठाको ढोकामा पत्नी आएर उभिई र अलि टाँठो स्वरमा भनी, “किन हो यस्तो अँध्यारोमा बसेको ?”
मैले जवाफ दिन सकिनँ । खिमलाल पनि गायब भयो । उसैले भनी, “म बाहिर जाँदै छु । घरभित्र यस्तोमा बसेर समय बिताउनुभन्दा मसँग हिँड्नुस् । खाना तयार छ । खाने होइन ?”
मेरो चेत फर्कियो । अहिलेसम्मको मृत्यु चिन्तन फासफुस बिलायो । पत्नीका अगाडि मर्ने कुरो गर्नै भएन, पालो मेरै हो भन्ने चिन्ताले सताए पनि ।
खाने होइन ?
हो खान त परिहाल्यो । खाना नखाने हो भने सयथरी प्रश्न आइलाग्छन् । र, सबै डाक्टरको क्लिनिकमा जँचाउन जानुपर्ला । पत्नी यस मामिलामा कडा मान्याताकी छ– बूढा मान्छेलाई बिनाउपचार एक्लै छाड्नुहुन्न ।
किन छाड्नुहुन्न ? त्यो पनि स्पष्ट छैन । तर, स्पष्ट त छ । त्यसतिर उसले मुख खोल्न चाहँदिन । मृत्युबारे परिवारमा मसँग कोही पनि मुख खोलेर कुरा गर्नबाट तर्किने गर्छन् ।
उनीहरूको विचार यो छ– बूढाहरूलाई मृत्यु सम्झाएर डराउन दिनुहुन्न । उनीहरूको जीवन बाँच्ने इच्छालाई मधुरो हुन दिनुहुन्न ।
म मेचबाट उठेँ र बाहिरको उज्यालोतिर निस्केँ । भान्साकोठामा टेबुलमाथि बाफ उड्दै गरेको खाना तयार थियो । -baahrakhari








प्रतिकृया दिनुहोस्