देवदह सहयोगापेक्षी सडकआश्रित मानवमुक्त पालिका घोषणा


देवदह– रूपन्देहीको देवदह नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा भएको छ। मानवसेवा आश्रमको सहकार्यमा बिहीबार आयोजित कार्यक्रममा पालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरिएको हो ।
उक्त घोषणासँगै अब नगरभित्र सडकमा बेवारिसे भएर बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ भने सडकआश्रित तथा असहाय व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र दीर्घकालीन व्यवस्थापनलाई संस्थागत रूपमा अगाडि बढाइने भएको हो। याससँगै रुपन्देहीका ३ वटा पालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा भएका छन् । मानव सेवा आश्रमले रुपन्देहीमा अहिलेसम्म ५१ जना सडकआश्रित मानवलाई उद्धार गरेको आश्रमका टिका थापाले जानकारी दिए । सो अवसरमा देवदह नगरपालिका र मानव सेवा आश्रम वीच सम्झौता भएको छ ।
देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेल र मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहयोगापेक्षी बेसहारा सडक मानव मुक्त देवदह नगरपालिका र घोषणा पश्चातको पूर्ण कार्यान्वयनका लागि नगरपालिका र मानवसेवा आश्रमबीच सडक आश्रित सहयोगापेक्षी बेसहारा मानवहरुको व्यवस्थापन गर्ने गरी सम्झौत गरिएको हो ।
देवदह नगरपालिकालाई एक कार्यक्रमका वीच जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणाको प्रमाणपत्र प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै प्रमुख चपाईंले मानवीय सेवा नै सवैभन्दा ठूलो धर्म भएकाले सडकमा आश्रित मानवको व्यवस्थापनमा सवै लाग्नुपर्नेमा जोड दिए । उनले दैनिक जीवनमा गरिने खर्च कटौती गरेर भए पनि सडक आश्रित मानव व्यवस्थापनको लागि सवैले सहयोग गर्न आग्रह गरे ।
उनले माघ महिना भित्र रुपन्देहीलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला घोषणा गर्ने गरी तयारी गरिरहेको जानकारी दिए । देशको राजनैतिक परिस्थितिका कारण रोकिएको कामलाई तिव्रता दिएकाले माघ महिना भित्र जिल्लालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषण गर्ने बताए । नगरपालिका प्रमुख खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, नेपाली कांग्रेसका नगर सभापति गुनाखर भुर्तेल लगायतले मानवीय सेवामा लाग्न सबैमा अपिल गरे ।
कार्यक्रममा वक्ताहरूले मानवसेवा आश्रम र स्थानीय तहबीचको सहकार्यबाट देवदह नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा हुनु सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको महत्वपूर्ण उपलब्धि भएको बताए।
मानवसेवा आश्रमले देशका विभिन्न स्थानीय तहमा सञ्चालन गर्दै आएको सहयोगापेक्षी सडकआश्रित मानवमुक्त अभियानमा देवदह नगरपालिका जोडिनु एक महत्वपूर्ण उपलब्धि भएको जनाएको छ। आश्रमले वि.सं. २०८२ भित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्ने लक्ष्यसहित देशभर अभियान तीव्र पारेको छ ।








प्रतिकृया दिनुहोस्