June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

माघे संक्रान्ति मेलामा रिडीमा नयाँ प्रस्तुती ‘डुंगा बिहार’

Advertisement

भैरहवा– पाल्पा, गुल्मी र स्याङ्जाको संगम रिडीमा आन्तरिक र बाह्य पर्यटक भित्राउन नौका बिहार (बोटिङ) को तयारी गरिएको छ । आउँदो माघे संक्रान्ति मेलालाई लक्षित गर्दै रिडीमा पहिलो पटक पर्यटकलाई यस खालको नयाँ कार्यक्रम समावेश गर्न लागिएको हो ।

Advertisement

यसका लागि स्थानीय आठजना युवाको समूह मिलेर १ करोडको आफ्नै लगानीमा बोटिङका आवश्यक संरचना तयार पारेका छन् । रिडी पुलदेखि तीनमुखे पुलसम्म रिडी खोलालाइ थुनेर ताल बनाउन लागिएको युवा सुन्दर भण्डारीले बताए ।

स्थानीय युवा रविलाल पन्थ, नारायण ज्ञवाली, रामप्रसाद ज्ञवाली, विष्णु नेपाल, सुन्दर भण्डारी, विजय कालीराज, पशुपति गौतम र हुमनाथ ज्ञवालीले यो नयाँ प्रयासको थालनी गरेका हुन् । अहिले एकतर्फी ताल बनाउने काम सकिएको छ । बाँकी अर्कोतर्फ बनाउन डोजर चलिरहेको छ ।

अहिलेका लागि अस्थायी ताल बनाएर बर्षायाम नलागुञ्जेल बोटिङ सञ्चालन गर्ने योजना छ । आगामी वर्ष आरसीसी बाँधसहित स्थायी ताल बनाउने योजनामा युवा छन् । ताल निर्माण सकेपछि अब दुई–चार दिनभित्र डुंगा संचालनमा ल्याइनेछ । जसमा दुई जेट बोट संचालनमा ल्याइनेछ । पेट्रोलबाट चल्ने उक्त बोटमा ११ जना पर्यटकको क्षमता रहनेछ । तालमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तोकेर डुङ्गा (बोट) संचालन गरिनेछ ।

युवाले करिव १२ लाख रुपैयाँ भन्दा धेरै मूल्यका दुईवटा डुंगा ल्याइसकेका छन् । ताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिव ६ सय मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको तालको गहिराइ सुरुवाती चरणमा चार मिटर हाराहारी रहनेछ । स्थानीय युवाले रिडीको उत्थानका लागि बनाएको तालसँगै नजिक बन्ने तयारी भएको तर बीचमा रोकिएको साहसिक खेल जीपलाइनको निर्माणलाई पनि निरन्तरता दिन आग्रह गरेका छन् ।

गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल रुरुक्षेत्रधाम यातायातको सहजतासँगै बसाईंसराईंले पछिल्लो समय बिस्थापित भएको छ । तीनवटै जिल्लालाई जोड्ने गरी बनाइएको तीनमुखे पुल, बोटिङ र जीपलाइनको निर्माण भइ सञ्चालनमा ल्याए रिडीबजारको पुरानो साख फर्किने रिडी क्षेत्रका स्थानियवबासिन्दा तथा समाजेसेवी बिष्णुप्रसाद ज्ञावालीले पब्लिक कुरासँग बताए । ‘बसाईंसराईंले पहिलाको रिडी बजारको चमक अहिले छैन’, ज्ञवालीले भने, ‘अव यस खालका पर्यटकीय गतिबिधि सञ्चालन भएमा रिडी बजार आन्त्रिक र बाह्य पर्यटकका लागि नयाँ पर्यटकीय गन्तब्य बन्न सक्छ ।’