June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

एमाले रूपन्देहीबाट उम्मेदवार सिफारिस भएकी एकमात्रा युवा लक्ष्मी केसी

Advertisement

भैरहवा– नेकपा एमालेले रुपन्देहीबाट प्रतिनिधि सभा सदस्यका उमेदवार सिफारिश टुङ्ग्याएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेससँग तालमेल गरेको एमालेले प्रतिनिधि सभा निर्वाचनमा पनि तालमेल गर्न सक्ने उतिकै सम्भावना छ । यद्यपी उक्त एमालेले पार्टीको तर्फबाट उमेदवार सिफारिस गरेको हो । क्षेत्रबाट गरिएका सिफारिसलाई जिल्लाले अनुमोदन गर्दै प्रदेश पठाएको छ । त्यसपछि प्रदेशको सिफारिसलाई केन्द्रले टुङ्गो लगाउने छ ।

Advertisement

लुम्बिनी प्रदेशमा सबैभन्दा चासो दिइएर हेरिने रुपन्देहिका ५ वटा निर्वाचन क्षेत्रबाट एमालेले गरेको सिफारिसमा चालीस वर्ष मुनिका युवा समूहबाट पनि प्रतिनिधि परेका छन् । लामो समय विद्यार्थी राजनीति गरेकी एमाले नेतृ लक्ष्मी केसी चालीस बर्ष मुनिको उम्मेदवार हुन् । अन्य उमेदवारहरु भने चालीस वर्ष कटेका छन् ।

रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका उम्मेदवारहरु हेर्दा सबैजसो चालीस कटेका छन् । ५ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि ११ जना सिफारिस भएका छन् । यसमध्ये ४० बर्ष मुनिकी लक्ष्मि केसीको नाम मात्रै सिफारिस भएको छ । अन्य सबै सिफारिस भएका उमेदवार ४० बर्ष कटेका छन् । केसी अनेरास्ववियु पूर्व केन्द्रीय सदस्य हुन् । उनी हाल पार्टीको रुपन्देही जिल्ला कमिटी सदस्य छन् । ब्यवस्थापन र समाजशास्त्र विषयमा एमए गरेकी केसी सानै उमेरदेखि पूर्णकालिन राजनीतिमा सक्रिय छन् ।

एमालेले युवाहरुलाई अवसर दिने नीति बनाए तापनि उमेदवार सिफारिसमा त्यस्तो देखिएको छैन । रुपन्देहीको हकमा प्राथमिकतामा एकजना मात्रै युवा परेकी हुन् । एमालेमा युवा प्राथमिकता राखिने नीति लागू नभइरहँदा रुपन्देहीमा केसीलाई सिफारिस गरेर युवा पुस्ताको माग सम्बोधन गरेको संकेत गरिएको छ । तर, टिकट उनलाई नै दिने कुनै ग्यारेन्टी छैन ।

रुपन्देही जस्तो राजनैतिक र सामाजिक दृष्टिकोणले जागरुक जिल्लामा युवालाई आसन्न निर्वाचनमा सिफारिस समेत गर्न पार्टीको क्षेत्रीय कमिटी त्यति खुलेको देखिँदैन । क्षेत्रबाट सिफारिस भएका अधिकांश उम्मेदवार यसअघिका निर्वाचनमा परीक्षण भइसकेका छन् ।

रुपन्देहीमा एमालेको उम्मेदवारका रुपमा पटक पटक मन्त्री भएका, सांसद, स्थानीय तहको जनप्रतिनिधि भएका तथा पार्टीको माथिल्लो कमिटीमा बसेकाहरुलाई प्राथमिकता दिएर सिफारिस गरिएको छ ।

भदौ २३ र २४ गते भ्रष्टाचार विरुद्ध र पुस्तान्तरणको अभियानसहित जेनजी पुस्ताले गरेको आन्दोलनको मर्मलाई समेत वेवास्ता गर्दै एमालेले पुराना अनुहारलाई नै उमेदवार बनाउने गरि प्राथमिकताका साथ सिफारिश गरेको छ ।

क्षेत्र नम्बर १ बाट पार्टी सचिव समेत रहेका २०७९ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित छबिलाल विश्वकर्मासहित पूर्व प्रदेश सांसदद्वय दधिराम न्यौपाने र डा. कृष्ण न्यौपानेको नम सिफारिस गरिएको छ । यसैगरि क्षेत्र नं. २ बाट पार्टी उपाध्यक्ष समेत रहेका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको एकल नाम सिफारिस भएको छ ।

क्षेत्र नंं. ३ बाट पनि पार्टी उपाध्यक्ष पौडेल सिफारिस भएका छन् । सो क्षेत्रबाट पौडेल सहित ११ जना सिफारिश भएका छन् । उक्त क्षेत्रबाट पौडेल सहित यस अघि क्षेत्र नं. ५ बाट निर्वाचित सांसद बासुदेव घिमिरे, सिद्धार्थनगरको पूर्व मेयर हरिप्रसाद अधिकारी, अयोध्या थारु, हितराज पन्थी, नरबहादुर घर्ती, विश्वराज बराल, राजेन्द्रप्रसाद पन्थी, पम्फावती खनाल, सीता काफ्ले ढुङ्गाना र लक्ष्मी केसी सिफारिस भएका हुन् । क्षेत्र नं. ५ बाट पार्टीका पोलिटब्युरो सदस्य तथा जिल्ला ईन्चार्ज खिमलाल भट्टराईको नाम एकल सिफारिस भएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति तय भएको छ ।