June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

लुम्बिनीका १२ वटै जिल्लामा तोकिए एमालेका इन्चार्ज, कसले कहाँ पाए जिम्मेवारी ?

Advertisement

भैरहवा– नेकपा एमालेले ११ औँ महाधिवेशनपछि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा इन्चार्जहरूको जिम्मेवारी बाँडफाँड गरेको छ। एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोज प्रसाद श्रेष्ठका अनुसार केन्द्रीय कमिटीको निर्णय बमोजिम प्रदेशका सबै जिल्लामा नेतृत्व सम्हाल्ने गरी इन्चार्जहरू तोकिएको हो।

Advertisement

यसअघि नै पार्टीले लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई सुम्पिसकेको छ। पार्टीले तोकेको नयाँ जिम्मेवारी अनुसार रुपन्देहीको इन्चार्जमा खिमलाल भट्टराई र दाङमा नरुलाल चौधरी छन्।

त्यस्तै, बाँकेमा शान्तिदेवी ढकाल, बर्दियामा खडक बहादुर खड्का र कपिलवस्तुमा बलराम अधिकारीले इन्चार्जको भूमिका पाएका छन्। पहाडी जिल्लाहरू तर्फ प्युठानमा सूर्य थापा, अर्घाखाँचीमा बोमबहादुर विश्वकर्मा र गुल्मीमा जङ्गबहादुर नेपालीलाई जिम्मेवारी दिइएको छ।

अन्य जिल्लाहरूमा पाल्पाको इन्चार्जमा ठाकुर गैरे, नवलपरासीमा सरिता भुसाल ९खनाल०, रोल्पामा गोकुल घर्ती र रुकुम पूर्वमा खेममान खड्का चयन भएका छन्। महाधिवेशन पछि पार्टी पङ्क्तिलाई थप चलायमान बनाउन र स्थानीय तहसम्म सङ्गठन सुदृढीकरणका लागि यी नेताहरूलाई जिल्ला कमान्डरको रूपमा खटाइएको हो।

उपाध्यक्ष श्रेष्ठले केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार नै जिल्ला इन्चार्जहरूले आफ्नो कार्यक्षेत्र सम्हाल्ने जानकारी दिएका छन्।