June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

राष्ट्रिय सभा निर्वाचनः घोराही पुगेर कांग्रेस-एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता

Advertisement

दाङ– राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। माघ ११ गते हुने निर्वाचनका लागि यी दुई दलले गठबन्धन समेत गरेका छन् ।

Advertisement

कांग्रेस–एमालेले निर्वाचन अधिकृतको कार्यालय घोराहीमा पुगेर मनोनयन दर्ता गरेका हुन्। कांग्रेस र एमाले संयुक्त र्यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

नेपाली कांग्रेस र नेकपा एमालेबीचको तालमेलअनुसार एमालेकी रामकुमारी झाँक्री, नेपाली कांग्रेसका तर्फबाट बासुदेव जंगली र चन्द्र केसीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ । झाँक्री महिला क्लस्टरबाट, जंगली अपांगता क्लस्टरबाट र केसीले अन्य क्लस्टरबाट उम्मेदवारी दिएका हुन्।

झाँक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी र सोही पालिकाका उपप्रमुख हुमाकुमारी डिसी समर्थक बसेका छन्।

यस्तै, जंगलीको प्रस्तावकमा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री र बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी समर्थक छन्। केसीको प्रस्तावकमा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु र समर्थकमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत छन्।