June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

बौद्ध दर्शनको प्रवर्द्धनमा लुम्बिनी प्रेस क्लब

Advertisement

परिचय: बौद्ध दर्शन र सञ्चारको सम्बन्ध नङ र मासु जस्तै छ । किनकि बौद्ध दर्शनको उद्विकास नै प्रश्नबाट भएको हो । यसैगरी सञ्चार क्षेत्र पनि प्रश्नकै कारण जीवन्त छ । जुन दिन पत्रकारले प्रश्न गर्न छाड्छ, त्यसदिन त्यो व्यक्ति पत्रकार हुँदैन । जुन दिन पत्रकारले आलोचना गर्न छाड्छ, त्यस दिन त्यो व्यक्ति पत्रकार भइरहँदैन । यसैले प्रश्न बौद्ध दर्शन र सञ्चारको साधन हो ।

Advertisement

सिद्धार्थ शाक्यको मनमा प्रश्न नउठेको भए उनले २९ वर्षको उमेरमा वैशाख पूर्णिमाको त्यो मध्यरातमा सुतिरहेका ७ दिने नाबालक छोरा राहुल र पत्नी यशोधरालाई छाडेर कपिलवस्तु दरबार त्यागी हिंड्ने थिएनन् होला । दरबार बाहिर देखिएका चार दृश्यहरु वृद्ध मानिस, रोगी मानिस, शव र महामुद्राधारण गरेका योगीलाई देखेपछि उनको मनमा उठेका प्रश्नको उत्तर खोज्ने क्रममा उनले सुखसयल पूर्ण शाक्यमुनि दरबार छाडेर हिँडेका थिए । जसको जवाफ खोज्दाखोज्दै ६ वर्षसम्म कठोर ध्यान गरी बुुद्धत्व प्राप्त गरेपछि पैतालीस वर्षसम्म गाउँसहर घुमेर धर्मदेशना गर्दै हिंडे । त्यो क्रममा उनले बयासी हजार उपदेश दिएको बताइन्छ ।

बौद्ध दर्शन र सञ्चार

जीवन विज्ञान प्रतिष्ठानका अध्येता रमेश नेपालले समस्या अनेक समाधान एक भन्ने पुस्तकमा पनि सिद्धार्थ शाक्य प्रश्नकै कारण भगवान बुुद्ध भएको तर्क गरेका छन् । भगवान बुुद्धलाई प्रश्न उठेको थियो, जीवन के हो र मृत्यु के हो ? कुनै मानिस मरेको देख्नुुभयो, प्रश्न उठ्यो– म पनि मर्छु ? वृद्ध मानिस देख्नुभयो, प्रश्न उठ्यो– म पनि बृद्ध हुुन्छु ? यो प्रश्नको जवाफ खोज्दाखोज्दै सामान्य राजकुमारबाट बुद्धमा रुपान्तरित हुनुभयो । (नेपाल, २०८०)

बौद्ध धर्म दर्शनका ज्ञाता प्राध्यापक डा.गितु गिरीले लुम्बिनीको इतिहास नामक पुस्तकमा बुद्धत्व प्राप्त गरिसकेपछि बुद्धले आफ्नो ज्ञानको प्रचार प्रसार गरेको प्रशङ्ग उल्लेख गरेका छन् । २९ वर्षको उमेरमा पत्नी र छोरालाई खबर नै नदिई सारथी छन्ना र कन्थक घोडाको साथमा दरबारको पूर्वी द्वारबाट ज्ञानको खोजीमा हिँडे । उरुवेलमा, आलारकालाम तथा रामपुत्तसमेतका सन्तहरुको साथमा ध्यान गरे । तर त्यहाँ उनलाई ज्ञानको अनुभूति नभएपछि बोधगया पुुगे । मध्यम मार्ग अवलम्बन गरेपछि ६ वर्षको अनवरत तप पश्चात् सुजाता नामक कन्याले दिएको खीर खाएपछि वैशाख शुक्लपूर्णिमाको दिनमा बुद्धत्व प्राप्त गरे । प्राप्त ज्ञानलाई चिन्तन मनन् तथा परीक्षण गरी प्रचार–प्रसारमा लागे । उनले सम्पूर्ण प्राणी मात्रको हित हुने ज्ञान पाई प्रचारप्रसार गरेकाले तत्कालीन अन्धविश्वासले पीडित समाजमा लोकप्रिय बने । (गिरी, २०१०)

बौद्ध दर्शनको प्रबद्र्धनमा सञ्चारको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । सिद्धार्थ शाक्यले बुद्धत्व प्राप्त गरिसकेपछि उनले तत्कालीन अवस्थामा पनि विद्यमान सञ्चारको महत्वपूर्ण साधनको रुपमा रहेको धम्म र संघ मार्फत् बुद्धबचन प्रसार गर्ने गर्दथे ।

बौद्ध दर्शनले आत्माको सत्ता स्वीकार गरेको छैन । बौद्ध दर्शनले संसारका सबै चीज अनित्य, अनात्मा र प्रतीत्यसमुत्पाद, अनिश्वरवाद, अभौतिकवाद जस्ता दार्शनिक मान्यता राख्दछ । गौतमबुद्धका विचारलाई फैलाउनमा सञ्चार क्षेत्रको प्रभावकारी भूमिका रहेको छ । धर्म, दर्शन र सिद्धान्तहरु सञ्चार, भाषा र साहित्यको माध्ययमबाट नै विकसित भएका छन् । यही सञ्चार प्रक्रियालाई उपयोग गरेर नै बौद्ध दर्शनको विस्तार भएको छ । –चापागाईं, २०७८)

बौद्ध दर्शनलाई अहिलेसम्मकै तर्कसंगत् विज्ञान भनेर पनि भनिन्छ । बुद्ध, धर्म र संघको आत्मीकरण नै बौद्ध दर्शन हो भन्दा अनपयुुक्त नहोला । दर्शनशास्त्री राहुल साङकृत्यानले बुद्धको जीवनी र बौद्ध दर्शनबारे बृहत् र विस्तृत जानकारी दिनेगरी लेखेको बौद्ध दर्शन नामक पुस्तकमा अनात्मवाद, अनिश्वरवादको बारेमा ब्याख्या गरेका छन् । ४५ वर्षसम्म तिब्बतका प्राचीन गुम्बाहरूदेखि अफगानिस्तान र श्रीलङ्कासम्मका बौद्ध तीर्थस्थलहरू पुगेर ऐतिहासिक लेखोटहरूको अध्ययन गरी लेखक राहुलले उक्त पुस्तक लेखेको बताइन्छ ।

बौद्ध दर्शन चर्तु आर्य सत्य र आर्या आष्ठाङ्गिक मार्गको वरिपरि घुमिरहेको छ । यो दर्शन मुख्य रूपमा अनिश्वरवाद र अनात्मवाद सिद्धान्तमा आधारित रहेको मानिन्छ । कुनै पनि वस्तुको अस्तित्व स्थिर छैन । वस्तुको स्वरूप निरन्तर परिवर्तन भइरहन्छ । निरन्तर बगिरहने पानीको प्रवाह, बलिरहने दीपको प्रवाह जसरी स्थिर रहँदैन, त्यसरी नै संसारका हरेक वस्तु अनित्य छ भन्ने सत्य नै बौद्ध दर्शनको सार हो । यसकारण अनित्यताको सारलाई अनुभव गरेर नै व्यक्तिले द्वादश आयतनको चक्र तोडेर निर्वाण प्राप्त गर्न सक्छ भन्ने बोध हुनु नै बौद्ध दर्शनलाई बुझ्नु हो । (न्यौपाने, २०७८)

शाक्यमुनि बुुद्धले बोधीज्ञान लाभ पश्चात महापरिनिर्वाणमा जानु अगाडिसम्म आफै हिँडेर बुुद्धबचन प्रवाह गरेका थिए । उनी जहाँ जहाँ जान्थे त्यसमा तत्कालीन समयको सूचनादाताको रुपमा एकजना शिष्य मार्फत् खबर पठाई मानिसहरु जम्मा गर्ने गरिन्थ्यो । ती शीष्य बुद्धको सञ्चारको संवाहक थिए । त्यो बेला बुद्धले दिएका बुद्धवचनलाई ताडपत्रमा सुरक्षित राखिएको पनि थियो ।

लुम्बिनीमा सञ्चार गतिविधि

भगवान बुद्ध जन्मस्थल लुम्बिनीको प्रबद्र्धनमा सञ्चार क्षेत्रले नै काम गरेको देखिन्छ । लुम्बिनीमा सम्पन्न सञ्चार सम्बद्ध विभिन्न सभा, सम्मेलन र कार्यक्रमले नेपालको सिंगो पत्रकारिता क्षेत्रको बारेमा महत्वपूर्ण कदम चालेको छ । २०६४ सालको भदौ १४ र १५ गते नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाको आतिथ्यतामा सम्पन्न मोफसलको मिडियाः सम्भावना एवं चुनौती विषयक सञ्चार सम्मेलन लुम्बिनीमा भएको पत्रकारिता क्षेत्रको पहिलो महत्वपूर्ण कार्यक्रम हो ।

यसैगरी लुम्बिनी प्रेस क्लबको आयोजनामा लुम्बिनीमा २०७६ सालमा मंसिर १, २ र ३ मा संघीयता पछिको पत्रकारिता विषयक प्रथम न्यूज फेस्टिवल (समाचार महोत्सव) सम्पन्न भएको थियो । सोही संस्थाको आयोजनामा तेस्रो पटक लुम्बिनी न्यूज फेस्टिवल यही पुस १३ र १४ गते लुम्बिनीमा हुँदैछ । त्यसयता नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा लुम्बिनीमा राष्ट्रिय भेला सम्पन्न भएको छ । यसैगरी लुम्बिनी प्रेस क्लबको आयोजनामा बौद्ध सञ्चार यात्रा पनि भइरहेको छ । २०८० सालदेखि हरेक वर्ष हुुने उक्त कार्यक्रमको दोस्रो संस्करण पनि पूरा भएको छ । भैरहवाको लुम्बिनी गेटदेखि मायादेवी मन्दिर परिसरसम्मको २२ किलोमिटरको मौनयात्रा पनि बौद्ध दर्शनको प्रबद्र्धनको लागि महत्वपूर्ण मानिएको छ ।

यसरी लुम्बिनी न्यूज फेस्टिभल होस् वा लुम्बिनीमा पत्रकारहरुको हितका लागि आयोजना हुने हरेक कार्यक्रमको मुख्य उद्देश्य बौद्ध दर्शनको प्रबद्र्धन नै छ । बौद्ध दर्शनको प्रबद्र्धनमा लुम्बिनी प्रेस क्लब अग्रभागमा रहेर गतिविधि गरिरहेको देखिन्छ । लुम्बिनीकै नामबाट स्थापित लुम्बिनी प्रेस क्लबले स्वदेशी तथा विदेशी पत्रकार सम्बद्ध संघसंस्थाका प्रतिनिधिलाई निम्ता गरेर होस् वा कार्यक्रम गर्नु पनि बौैद्ध दर्शनको प्रबद्र्धन गर्ने गरेको देखिएको छ ।

अन्त्यमा, प्रेस काउन्सिलका पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको कविताको अंशलाई उद्धत् गर्दै यो लेखलाई बिट मार्दछु ।

गीताको अनासक्तयोग

बुद्धको ध्यानयोग

कार्ल माक्र्सको संघर्षयोग

मेरो आफ्नै मनोयोग ।। (शर्मा, २०६८)

सन्दर्भग्रन्थ सूची

गिरी, गितु, लुम्बिीको इतिहास, पृ.११५ र ११६, लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र, २०१०, लुम्बिनी ।

चापागाइँ, बालकृष्ण , बौद्ध दर्शन र सञ्चार, पृ.२ , लुम्बिनी वाङ्मय प्रतिष्ठान २०७८ ।

नेपाल, रमेश, समस्या अनेक, समाधान एक, पृ.१२१, जीवन विज्ञान प्रतिष्ठान, काठमाडौं, २०८० ।

न्यौपाने, गोबिन्द, बौद्ध दर्शनमा के हो प्रत्युुत्पय –समपाद, हिमालखबर पत्रिका, १२ जेठ, २०७८ ।

शर्मा, नारायणप्रसाद, पत्रकारिताः मेरो मनयोग, पृ.३४ नेपालभूमि साप्ताहिक, २०६८ ।

(साभारः लुम्बिनी प्रेस क्लबद्वारा प्रकाशित ‘लुम्बिनी प्रेस बुलेटिन’)