रूपन्देहीका ४ क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस


भैरहवा– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रूपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको आइतबार बसेको बैठकले उपाध्यक्ष पौडेलको नाम एकल सिफारिस गरेको हो । एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलले सर्वसम्मत रूपमा उपाध्यक्ष पौडेलको नाम एकल सिफारिस गरिएको जानकारी दिए ।
पौडेल यो क्षेत्रबाट २०५६ सालदेखि निरन्तर चुनावमा उठ्दै आएका छन् । नेकपा एमाले रुपन्देही प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर ५ बाट केन्द्रीय सदस्य खिमलाल भट्टराईको एकल नाम उम्मेदवारको लागी सिफारिस गरेको छ । रुपन्देही ५ क्षेत्रीय कमिटीको बैठकले भट्टराईलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो । गत २०७९ सालको निर्वाचनमा राष्ट्रिय सभाको प्रमुख सचेतकबाट राजिनामा दिएर उम्मेदवार बन्न आएका भट्टराई बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गरेपछि बिचबाटै फर्किएका थिए । अहिले भने भट्टराईलाई पार्टीले सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर १ बाट तीनजनाको नाम सिफारिस गरिएको छ । आइतबार बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकबाट एमाले सचिव छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य दधिराम न्यौपाने र केन्द्रीय अनुशासन आयोगका सदस्य डा.कृष्ण न्यौपानेको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । गत निर्वाचनमा एमाले सचिव विश्वकर्मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यस्तै, रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि १० जनाको नाम प्रस्ताव गरिएको छ । नेताहरु विश्वराज बराल, बासुदेव घिमिरे, राजेन्द्रप्रसाद पन्थी, हरिप्रसाद अधिकारी, हितराज पन्थी, अयोध्या थारु, पम्फावती खनाल, सीता काफ्ले, लक्ष्मी केसी र नरबहादुर घर्तीको नाम उम्मेदवारको रुपमा सिफारिस गरिएको छ । यी नाममा छलफल गरेर सकेसम्म थोरैजनाको सिफारिस गरेर पठाउने बताइएको छ । पाँच क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नम्बर ४ को भने एमालेले अझै टुंगो लगाएको छैन ।








प्रतिकृया दिनुहोस्