June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

क्रिकेट खेल युवाहरूको जीवनसँग जोडिएको छः मन्त्री पाण्डेय

Advertisement

भैरहवा– लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले क्रिकेट खेल युवाहरुको जीवनसँग जोडिएको बताएका छन् । उनले क्रिकेटमा भविष्य देख्ने युवाहरुको सपना साकार पार्न प्रदेश सरकारले योजनाबद्धरुपमा काम गरिरहेको जनाए ।

Advertisement

आइतबारदेखि रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’को उद्घाटन गर्दै मन्त्री पाण्डेयले भने, ‘नेपालमा खेलकुदमा सन्जीवनी बनेको कुनै खेल छ भने त्यो क्रिकेट हो । क्रिकेट अब क्रिकेट मात्रै नरहेर युवाहरुको जीवनसँग जोडिइसकेको छ । युवाहरुले आफ्नो सपना र लक्ष्य भनेकै क्रिकेटलाई मानेका छन् ।’

मन्त्री पाण्डेयले क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई चिनाएको जनाउँदै अब सरकारी तहबाट थप  लगानी हुने हो भने यसले अझै फड्को मार्ने बताए । ‘यदि लगानी राम्रो गर्दै जाने हो भने भारत, साउथ अफ्रिका र अष्ट्रेलिया जस्ता देशहरुमाथि पनि विजय प्राप्त गर्न सक्छौं’, उनले भने, ‘प्रदेश सरकारले अब रुपन्देही क्रिकेट संघसँग सहकार्य गरेर छिट्टै नै प्रदेशस्तरीय क्रिकेट खेल आयोजना गर्दै छ ।’ यसका लागि उनले ४० लाख रुपैयाँ बजेट छुट्याइने जनाए ।

उनले खेल र पर्यटन एकअर्काका परिपूरक भएको जनाउँदै यी दुईको सँगसँगै विकास गर्नुपर्नेमा जोड दिए । ‘क्रिकेट हेर्न दर्शक आउँदा यसले पर्यटन क्षेत्रको समेत विकास गर्छ’, उनले भने, ‘खेललाई अझै परिस्कृत रुपमा प्रोत्साहन गर्न सक्यौं भने यसले पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण टेवा पुर्याउँछ ।’

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले नेपालमै नौलो र ऐतिहासिक प्रतियोगिता भैरहवामा सुरु गरिएको जनाए । उनका अनुसार त्रिभुवन आर्मी क्लब ‘ए’ र रुपन्देही–११ बीच तीन विधामा ७ खेल हुनेछन् । जसमा टेष्ट, वनडे र टी–२० क्रिकेट खेलहरु समावेश छन् । यसले खेलाडीलाई अभ्यस्त, नियमितता र खेलप्रति लगाव बढाउनेछ । नेपालमा दुई टीमबीच यस किसिमको खेल यसअघि भएका छैनन् । यसैले पनि यस प्रतियोगितालाई ऐतिहासिक भनिएको अध्यक्ष थापाले जनाए ।