गोलीगढ टोल सुधार समितिद्वारा यात्रु प्रतिक्षालयको निर्माण


भैरहवा–बस पर्खिनु पर्दा र बसबाट झर्दा बर्षात र गर्मीका वेला स्कुले बिद्यार्थी र सर्वसाधारणले ओत लाग्ने स्थानको अभाव भएपछि गोलीगढ टोल सुधार समितिले देउसी र भैलो खेलेर संकलन गरेको रकमले यात्रु प्रतिक्षालयको निर्माण गरेका छन् ।
हरेक शनिवार हातमा कुचो र झाडु लिँदै टोलको सरसफाइमा निरन्तरता दिँदै आएको सिद्धार्थनगर नपा–९ स्थित गोलीगढ टोल सुधार समितिले सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाँउपालिकाको सिमानामा पर्ने भैरहवा–बुटवल छ लेन सडक खण्डमा पर्ने गोलीगढ चोकमा यात्रु प्रतिक्षालयको निर्माण गरेको हो ।
गोलीगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डेले बर्षात र प्रचण्ड घाम, गर्मीको वेला आम सर्वसाधारण यात्रु र बिद्यार्थीले भोग्नु परेको पिडालाई ध्यानमा राख्दै प्रतिक्षालयको निर्माण गरिएको बताए । सामाजिक काम गरेर गाँउको पहिचान दिने कार्यमा गोलीगढ टोल सुधार समिति निरन्तर जुट्ने गरेको भनाइ उनको थियो ।
‘बर्षात, प्रचण्ड घाम र गर्मी, चट्याङ सहित मेघ गर्जेको र हुरीबतास जस्ता प्राकृतिक प्रकोपको वेला बसको प्रतिक्षामा रहेका र बसबाट ओर्लेका यात्रु ओत लाग्ने ठाँउ नपाएर बिचिल्लीमा पर्ने गरेका थिए’ अध्यक्ष पाण्डेले भने, ‘बिशेष गरि स्कुल, कलेजका बिद्यार्थी र बृद्ध अवस्थाका अशक्त यात्रु बढि समस्यामा पर्ने गरेका थिए ।’
यात्रु प्रतिक्षालय निर्माणकालागि करिव डेढ लाख रुपैया खर्च लागेको जनाइएको छ । निर्माण समितिका संयोजक तथा टोल सुधार समितिका उपाध्यक्ष अनवर खानले प्रतिक्षालय निर्माणका लागि टोल सुधार समितिले देउसी भैलो खेलेर लागत रकमको श्रोत जुटाएको बताए ।
नव निर्मित उक्त प्रतिक्षालयको शनिवार बिहान उद्घाटन गरिएको छ । शनिवारको सरसफाइ कार्यक्रममा नियमित सकृय रहने स्थानिय ८३ बर्षिय बृद्ध हरिहर बहादुर संहलाइ प्रमुख अतिथी बनाएर प्रतिक्षालयको उद्घाटन गराइएको थियो ।








प्रतिकृया दिनुहोस्