लुम्बिनी प्रेस क्लबः विगत र आगामी कार्यदिशा


तीन दशक अघि व्यवसायिक पत्रकारिताको लागि भैरहवा आएर डेरामा बस्दै यस क्षेत्रलाई कर्मथलो बनाएको थिएँ । त्यतिबेला पत्रकारिताका लागि मात्र बाहिरबाट आइ डेरा गरेर भैरहवामा बस्ने पत्रकारमा बुद्धि न्यौपाने, रामेश्वर भट्ट र म मात्र थियौं ।
वि.स.२०५२ सालको अन्त्यतिरदेखि भैरहवाको बातावरणमा खेल्दै र विभिन्न अग्रजहरुसँग सिक्दै मेरो पत्रकारिता अगाडि बढिरहेको थियो । त्यसपछिका दिनमा व्यवसायिक पत्रकारिता गर्नका लागि विभिन्न स्थानबाट अन्य साथीहरुको पनि आगमन भैरहवामा हुन थाल्यो । पत्रकारिता गर्ने भैरहवाकै अन्य साथीहरुको पनि संख्या बढ्दै जान थाल्यो ।
सहकर्मीहरुको संख्या बढ्दै जान थालेपछि भैरहवा र आसपास क्षेत्रमा कार्यरत पत्रकारहरुको साझा एउटा संस्था खोल्नु पर्ने आवश्यकताको महशुस हुँदै गयो । र, प्रयास पनि धेरै भए । तदर्थ समिति गठन गरेर संस्था पनि खुले । तर, विभिन्न कारणले बिलाए ।
एक दशक अघि तिहारको लक्ष्मी पुजाको दिन बिहान जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलन सकिए लगत्तै पत्रकार साथीहरुले ‘यसपाली हामी पत्रकारको समूह देउसी भैलो खेल्ने, तपाईं संयोजक बनिदिनु पर्यो दाई’ आग्रहकासाथ मलाई प्रस्ताव गर्नुभयो ।
मैले पनि उहाँहरुको प्रस्तावलाई टार्न सकिनँ । स्वीकृति जनाएँ । त्यही दिन साँझ तत्कालीन प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालको निवासबाट देउसी भैलोको शुभारम्भ गर्यौं । भैरहवामा हामी पत्रकारका लागि यो देउसी भैलो कार्यक्रम पहिलो नयाँ अनुभव थियो । सवै पत्रकार निकै उत्साहित थियौं । राती अवेरसम्म खेल्न थाल्यौं । बिशुद्ध नेपाली परम्परा र मौलिक शैलीमा खेलिएको हाम्रो देउसी भैलो नगरमा निकै आकर्षक पनि बनेको थियो ।
देउसी भैलोमा संकलित रकम के गर्ने ? समस्या तेर्सियो । वनभोज खाएर वा अन्य मनोरञ्जन गरेर सिध्याऊँ भने पत्रकार समाजमा आलोचित भइने डर । पत्रकारको पेशागत हितका लागि केही रकम अक्षय कोषमा जम्मा गर्ने निर्णय गर्यौं । अक्षयकोष स्थापना गर्न कुनै एउटा संस्था संगठन दर्ता हुन आवश्यक थियो । सबैजना भैरहवामा पत्रकारको संस्था खोल्नेमा एक मत भयौं । जस अनुरुप लुम्बिनी प्रेस क्लवको जन्म भइ ‘न्वारन’ भयो ।
सुरुको दुई वर्षको कार्यकाल तदर्थ समितिको अध्यक्ष भएर बसेँ । त्यसपछि भएको अधिबेशनमा पनि अध्यक्षका लागि अन्य कोही पनि इच्छुक देखिनु भएन । पुनः सर्वसम्मतबाट म निर्बाचित भएँ । हेर्दाहेर्दै मेरो चार वर्षको कार्यकाल सकियो । लुम्बिनी प्रेस क्लव खोल्दा कतिपय पत्रकारलाई पत्रकार महासंघ रुपन्देहीको समानान्तर रुपमा अर्को संस्था खोलेको भन्ने आवाज पनि आयो । तर, यो यथार्थता थिएन । किनभने हामी क्लबमा आवद्ध सवै पत्रकार साथीहरु महासंघको सदस्य छौं । कतिपय साथीहरु महासंघको विभिन्न पदमा रहेर सफल नेतृत्व पनि निर्वाह गरिनुु नै रहनुुभएको छ ।
पत्रकार भएपछि आफ्नो पेशागत हकहितका लागि मात्र होइन, सामाजिक क्षेत्रमा पनि योगदान पुर्याउनु पर्छ भन्ने भावना हामीमा विकास हुन थाल्यो । सिद्धार्थनगरदेखि बुद्ध जन्मस्थल लुम्बिनीसम्म सरसफाइदेखि सार्वजनिक सरोकारका विषयको उठानमा पनि क्लबको सक्रियता र योगदान हुन थाल्यो ।
आवाजविहीन र असहायका लागि पत्रकारको साथ हुनुपर्छ मान्यता अनुरुप रोल्पाको थवाङ्गमा आफ्नै श्रीमान् र नातेदारको घरेलु हिंसामा परेर मरणासन्न अवस्थामा पुगेकी असहाय, गरिव र बेसहारा महिला सुनकुमारी विकको सम्पूर्ण उपचारका लागि जुट्ने प्रणकासाथ क्लब अघि बढ्यो ।
हाम्रो यस कदमले लुम्बिनी प्रेस क्लबको छबि र उचाइ समाजमा उच्च हुन पुग्यो । भैरहवाका लगभग सम्पूर्ण संघसंस्था र धेरैजना दाताहरुबाट हाम्रो कदमको प्रशंसा गर्दै सहयोगको हात अघि बढाउनुभयो । सुनकुमारीको उपचारका लागि स्वःस्फूर्त रुपमा आर्थिक सहयोग गर्नुभयो ।
दुर्भाग्य, हामीले जति मिहिनत गरे पनि सुनकुमारीलाई बचाउन सकिएन । सुनकुमारी असहाय भएकाले स्थानीय संघसंस्थालाई जुटाउँदै क्लबको पहलमा अन्तिम दाहसंस्कार गर्यौं । आमाको मृत्युपछि कहाँ जाने ? कहाँ बस्ने ? बेसहरा बनेकी सुनकुमारीकी छोरी बिनिताको अभिभावकत्वको जिम्मा क्लबले लिने निर्णय गर्यो ।
उनको अध्ययनदेखि सबै कुराको व्यवस्थापन गर्नु सामान्य कुरा थिएन । यहाँनिर नमूना एकीकृत विकास परिषद्की तत्कालीन अध्यक्ष ज्ञानु पौड्याल, तत्कालीन प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकाल, भैरहवास्थित एसओएस बालग्रामका निर्देशक बिजयजङ्ग राणाको साथ र सहयोग अतुलनीय छ ।
क्लबको आफ्नो भवन नभएकाले क्लबका साथीसँगै बसेर आपसी छलफल गर्ने स्थानको निकै अभाव खड्किएको थियो । यसका लागि क्लबको आफ्नै भवन निर्माण गर्ने योजनालाई साकार रुपमा दिन रुपन्देही–३ का तत्कालीन सांसद तथा पूर्वकृषि मन्त्री घनश्याम भुसालले जग्गाका लागि बजेट उपलब्ध गराउनु भएको सहयोग पनि क्लबको इतिहासमा स्वर्ण अक्षरले अंकित छन् । साथै क्लबको भवन निर्माणका लागि नगद तथा जिन्सी सहयोग उपलब्ध गराउनु भएका सवै दाता तथा संघसंस्था, जनप्रतिनिधि, स्थानीय तहहरुको योगदान पनि अविष्मरणीय छन् ।
भैरहवामा पत्रकार साथीहरु मिलेर संस्था खोल्ने काम धेरै पटक भए पनि स्थायित्व पाउन सकेको थिएन । संस्था गठन गर्ने केही दिनपछि पानीको फोका सरह बिलिन हुन्थे । भैरहवा क्षेत्रमा पत्रकारको साझा र दीर्घकालीन कुनै संस्था नै हुन सक्दैन की ? भन्ने आशंका सबैमा परेको थियो ।
तसर्थ क्लबको स्थापनाकाल र त्यसपछिको समय मेरो लागि निकै चुनौतीपूर्ण थियो । संस्था टिकाएर जीवन्त राख्नका लागि । मेरो कार्यकालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमैं देखिने खालका ठूलाठूला कार्य काम गरेर देखाउन नसके पनि यो संस्थालाई टिकाएर याहाँसम्म ल्याउन सक्नु नै ठूलो उपलब्धीको रुपमा मैले लिएको छु । संस्था टिक्न नसके म भैरहवामा असफल अध्यक्षको रुपमा साबित हुने छु भन्ने चिन्ता जहिले पनि लागिरहन्थ्यो । क्लबमा आवद्ध सवै साथीलाई मनाएर सकभर एकताको बाटोमा हिँडाउन र क्लवको गरिमा जोगाएर राख्न कत्तिको पीडा हुँदो रहेछ ? भन्ने अनुभव धेरै संगालेको छु ।
पत्रकारिताको कहिल्यै पनि अन्त्य हुँदैन । स्वरुप, शैली र प्रबिधि बदलिन्छ । पछिल्लो समयमा पत्रकारको आचरण र व्यवहारलाई लिएर समाजमा धेरै टिकाटिप्पणी हुन थालेका छन् । यो स्वभाविक प्रक्रिया पनि हो । अर्कामाथि औंला उठाउने पत्रकारमाथि अरुले पनि औँला उठाउन सक्छ । पत्रकारको गतिबिधिलाई समाजले नियालिरहेको हुन्छ । यी विषयप्रति पत्रकार स्वयम् जिम्मेवार हुन जरुरी छ ।
पत्रकारबाट आफू अनुकुलको सहयोग नपाएपछि पत्रकारमाथि हिलो छ्याप्ने, पत्रकारलाई आफू अनुकुल प्रयोग गर्ने वा आफ्नो स्वार्थका लागि प्रयोग गर्ने काम समाजका जिम्मेवार व्यक्तिबाट हुने गर्छन् । कतिपय पत्रकारबाट पनि पेशागत धर्म बिपरीत पत्रकारिताको खोल ओढेर समग्र पत्रकारकै बद्नाम हुने खालका गतिबिधि हुने गरेका वा हुँदै आएका पनि छन् । पत्रकारितामा आँच पुर्याउने तथा समग्र पत्रकारको बद्नाम गर्ने पत्रकारको गतिबिधिप्रति सचेत हुँदै क्लबले अव त्यस खालका गतिबिधि नियन्त्रण गर्ने गरि स्वयम् शुद्धिकरण योजना कार्यान्वयन गर्न जरुरी छ । चाहे, क्लवमा आवद्ध कसैमाथि कारवाही नै किन गर्नु नपरोस् । भने, आफ्नो अनुकलका लागि पत्रकारमाथि भौतिक तथा मानसिक रुपमा आक्रमण जो कोहीलाई पनि एकताबद्ध भएर परास्त गर्ने गरि क्लब समाजमा अघि बढ्दै जानुपर्छ ।
समाजप्रति जिम्मेवार रहेर पत्रकारिता गर्ने पत्रकारलाई जन्माउँदै, हुर्काउँदै र संरक्षण गर्दै आपसी एकता र सहकार्यको यात्रामा पूर्णबिराम नलाग्ने गरि दीर्घकालीन यात्रा आरम्भ गर्नु लुम्बिनी प्रेस क्लबको भावि बाटो हो । बाटोमा हिंड्दा आउने विभिन्न समस्या र चुनौतीलाई परास्त गर्दै र काँडालाई उखेलेर फ्याँक्दै अविचलित रुपमा लुम्बिनी प्रेस क्लबले योे यात्रा सुरु गरोस् । शुभकामना ।
(साभारः लुम्बिनी प्रेस क्लबद्वारा प्रकाशित ‘लुम्बिनी प्रेस बुलेटिन)








प्रतिकृया दिनुहोस्