June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

के गर्न सक्छु म ?

Advertisement

रुख एउटा यस्तो प्राणी हो जसलाई हामी मन परे जन्माउँछौँ, हुर्काउँछौं र मन परे काटिदिन्छौँ । हामीमध्ये रुख बिरुवा नदेख्ने कोही छैन तर उनको अस्तित्व, उपस्थिति हामी धेरैले महसुस नै गर्दैनौँ ।

Advertisement

त्यहाँ एउटा रुख उभिएको छ—

तर त्यो त्यहाँ छ भन्ने कसैलाई थाहै हुँदैन ।

त्यो त बस त्यहाँ छ ।

नगरपालिकाको अफिस

खाजा पसलहरू

साइबर क्याफे

यहाँसम्म कि त्यो ठेलावाला

जसले यसैको छहारी मुनि बेच्छ पानीपुरी

उसलाई पनि थाहा छैन ।

त्यो त बस त्यहाँ छ

नभए पनि के नै फरक पर्छ र !

हैन ?

अस्ति नवगठित पर्या साहित्य प्रतिष्ठानको अनलाइन बैठकमा संचालकज्यूले उपस्थित सबैजनाले आफ्नो छोटो परिचयसँगै पर्यावरणका लागि के गर्नुभएको छ त्यो पनि भन्ने प्रस्ताव राखेपछि म अप्ठेरोमा परेँ । धेरै साथीहरूलाई सुनेपछि मेरो पालो आयो र मलाई लाज लाग्यो । उहाँहरूले पर्या साहित्य सेवासँगसँगै सक्रिय रूपमा पर्यावरणका विभिन्न पक्षहरूमा काम गरिराख्नुभएको छ । मैले त पर्या कविता र निबन्ध लेख्नबाहेक अरू केही गरेको छैन । मेरो त पर्यासम्बन्धी एउटा पुस्तकसम्म पनि प्रकाशित भएको छैन ।

म आफ्नो अक्षमता स्वीकार गर्दछु —मैले त्यस्तो उल्लेखनीय केही गरेको छैन । उल्टो आफ्नो घरलाई ‘भूतबङ्गला’ बनाइदिएको छु । आधुनिक मान्छे रुखपात रोप्नु, हुर्काउनुभन्दा बढी काट्न मन पराउँछ । सफा सुग्घरको नाममा, आफूले रोप्न त धेरै परको कुरो, उम्रेको बोटबिरुवालाई पनि उखेलिदिन्छ । तर थाहा छैन राम्रो कि नराम्रो, बोटबिरुवाहरूले झ्याम्मै छोपिएको छ मेरो घर । मान्छेहरू विशेषगरि भाडा बस्नेहरू पिठ्युँपछि यो घरलाई भूतबङ्गला भन्छन् । बस्न मान्दैनन् । डर लाग्छ रे ! हामी बूढाबूढी बस्छौँ भूतजोडी जस्तै । कहाँ कहाँबाट बोट बिरुवा ल्याएर रोप्छिन् मेरी श्रीमती्, म त्यसलाई हुर्काउन सघाउँछु । हुन त ठाउँ धेरै छैन बिरुवा उमार्न, तर जति छ त्यसैमा ६ जवान नरिवल, तीन भाइ आँप, एउटा सपाटु, तीन बहिनी सुपारी, एक केरा परिवार, एउटा लिची (उसको भाइ गत साल बितेछ ), एउटी अनार, र एउटा नीम छन् । हुर्किसकेको बेललाई कुनि कुन रोग लागेर मर्यो र उसैसँग मर्यो मेदाकाठ पनि । यी सबै घर अगाडि छन् दुआरमा । घर पछाडि पछुवारमा, टीकको ठूलो परिवार थियो तर छिमेकीले नगरपालिकामा कम्पलेन गरिदियो । के कम्पलेन भने उसको कम्पाउण्डमा पात झर्छ रे, फोहर हुन्छ रे । नगर प्रहरीले आएर परिवार नियोजन गरिदियो । त्यस्तै कटहरको परिवारलाई पनि सखाप गरिदिएपछि अहिले एउटा मात्र बाँकी छ र आफ्नो तिघ्रामा बन्चरोले पारिदिएको घाउलाई सुमसुमयाइरहन्छ । जामुन र महुवा एक अर्कालाई असाध्यै माया गर्थे, सँगै हुर्के, बढे र सँगै बिदा पनि लिए यस संसारबाट । कदम्बको कोमल मनले यो देख्न नसकेपछि ऊ पनि मर्यो । अब एउटा आँप छ जुन साथीहरूको त्यस्तो हविगत देखेर अति तर्सेको छ । फल्नै छाडिसके । तिमीलाई केही हुँदैन बाबु, उनीहरू पर्खालसँगै टाँसिएकोले त्यस्तो भयो भनी कति फकाउँछु तर डर उनको मनबाट जाँदै जाँदैन । तीन वर्ष भइसक्यो, कुन्नि अब फल्छ कि ! यसपालिको बसन्तमा फूल त आएका थिए । आँपसँगै अहिले सजिवन (मोरिङ्गा) जवान भएको छ जो बाह्रै महिना फलिरहन्छ । उसैको छेउमा एउटी दुब्ली पातली मेहंदी पनि छिन् । अति लोकप्रिय । महिला र केटीहरू जहिले पनि उसको पात टिपिरहन्छन् तर ऊ गुनासो गर्दिनन् र आजसम्म पनि बाँचैकै छिन् ।

जहिले पनि घर आउँछु, नरिवलका लामालामा, र नीमका ससाना पातहरूले हावासँगै हल्लिँदै मधुरो स्वरमा गुनगुनाउँदै स्वागत गर्छन् । आँप र लिचीका पातहरू हलचल नगरी कान ढाडो पारेर सुन्छन् । घरको आँधी जस्तो छतलाई नीमले कब्जा गरेको छ र त्यसैले होला हाम्रो चमचागिरी पनि सबैभन्दा बढी उसैले गर्छ । घाम चर्किनासाथ मलाई निम्तो गर्छ उसको शीतल छायामा बस्न । अहिले पनि उसैको छायामा बसेर म यो कम्प्युटर टाइप गर्दैछु । उसको चमचागिरी देखेर माथिबाट नरिवलका हाँगाहरू मच्चिमच्ची हाँस्छन् । साथीसँगीहरूले छतमा यसरी नीमका हाँगा किन बढ्न दिएको, नराम्रो देखिन्छ, छत पनि कमजोर हुन्छ भनी काट्ने सलाह दिन्छन् । तर म काट्दिन । नीमले कुरा सुनिरहेझैँ लाग्छ । कसरी काट्नु । यसका हाँगाहरूले आँधी छत ढाकेको छ, र यसमा बस्ने, राता राता रोंहटे कमिलाले कति पटक टोकेर मेरा हात र खुट्टाका औँलाहरू नराम्रोसँग सुन्निए पनि यी हाँगाहरूलाई यथावत छाडिदिएको छु । एकपल्ट एकजना मित्रसँग यसको मुनि बसेको बेला साथीले यसलाई काट्न, नभए कम से कम यसका हाँगाहरू त काट्नैपर्छ भनेर सल्लाह दिएको नीमले सुने छ क्यारे । माथिबाट दुइटा रातो कमिला झारिदिएछ जसले नमिठोगरि टोकेछन् मित्रलाई । “आत्था !” भन्दै मित्र महोदय कुर्सीबाट उठ्दा नीमले हाँसेको मैले प्रष्ट सुनेको थिएँ । त्यसपछि मित्र आउनुहुन्न, र आउनुभए पनि नीममुनि बस्न मान्नुहुन्न । मलाई ऊनजिक आउनासाथ गर्मी पनि शीतल हुन्छ र न हाँस्नुहोला प्लीज, मेरो कल्पना शक्ति पनि बढेको जस्तो पो लाग्छ मलाई ।

रुखपातले झ्याप्पै भएकाले थरिथरिका चराहरू घरजम गरेर बसेका छन्, कति पाहुना भएर आउँछन् र केही समय बिताएर जान्छन् । एउटा काग जत्रो, लामो कालो पुच्छर, गेरुवा रङ्गको पखेटा र राता आँखा भएका चरा दम्पतिले गुँड बनाएको छ नीमको रुखमा । उनको एउटै सन्तान छ । कहिलेकाहीँ उसलाई गुँडबाट झिक्छन् र ऊ पनि आफ्ना स्याना पखेटा फिँजाएर उड्ने प्रयास गर्छ । बाआमा हेर्छन् । बुढाबुढीको एउटै काम छ छोरोको लागि खाना ल्याउनु । खाना प्रायःजसो गँड्यौला, फट्याङ्ग्रा यस्तै केही हुन्छ । चुच्चामा च्यापेर आउँछ अनि हाँगामा बसेर एकछिन मलाई हेर्छ र कुनै खतरा नलागेपछि गुँडभित्र पस्छ । बचेरो चकचके छ । एक दिन म नीमको शीतल छायामा बसेर कम्प्युटरमा काम गरिरहेको बेला मैमाथि हगिदिएछ । हातमा र कम्प्युटरभरि सेतै सेतो । टाउको उठाएर माथि हेर्छु केटो त पातलो हाँगामा बसेर मज्जाले झुल्दै रैछ । छोरोको फटाहपन देखेर होला उसकी आमा हतार हतार उड्दै आउँछिन् र अलि पर बसेर मतिर हेर्दै कराउँछिन् ‘हो कोरोरोरो, हो कोरोरोरो , छोरोको बदमासीको लागि माफी मागे जस्तै । छोरोलाई कुनै वास्ता पनि छैन, डर पनि छैन —मान्छे सबैभन्दा खतरनाक प्राणी हो भन्ने अहिलेसम्म उसलाई थाहा भएको छैन । आमा छोरोलाई डोर्याएर लैजान्छिन् ।

घरको अग्रभागमा नीममुनि म बसिरहन्छु । सुनको चुच्चा र खुट्टा भएको मैनाको जोडी पनि आउँछ । उनीहरूले नयाँ घरजम गरेका छन् क्यारे । दुवै ससाना मसिना हाँगाहरू चुच्चामा लिएर नीमको बोटमा पस्छन्, पक्कै घर निर्माण गर्दैछन् । यिनीहरू पनि मसँग डराउँदैनन् तर अलि परै बस्छन् र छतको पर्खालमा आफ्ना चुच्चालाई तिर्खाछन्, पखेटालाई टकटकाउँछन् अनि सँगै बसेर बुढाबुढी सल्लाह गर्छन् । एउटाले भन्छ, ‘ट्रिक ट्रिक, टटटटटट’, अर्कोले टाउको तलमाथि गर्छ, त्यसपछि उडिहाल्छन् । एक हुल कचकचियाहरू पनि आउँछन् र आउनासाथ कचकच गर्न थाल्छन् । सम्पूर्ण शरीर खैरो रङ्गमा रङ्गिएका यी चराहरू जहिले पनि जीउ फुलाएर मोटो देखाउँछन् आफूलाई । यी सधैँ हुलमै आउँछन्, मेरो कुनै वास्ता नगरेर छतमा छरिएका नीमका फलहरू टिप्छन्, बाझाबाझ गर्छन्, एकअर्काका जुम्रा टिप्छन्, र अनि भुर्रर्रर्र —उडिहाल्छन् । कहिलेकाहीँ ढुकुरको जोडी पनि आउँछ तर धेरै बस्दैन, टाउका तलमाथि गर्दै आफ्ना राताराता आँखाले मलाई हेर्छ र एकछिन चनाखो भई बसेर गइहाल्छ । गुच्चा जत्रो जीउ र जीउभन्दा लामो चुच्चो भएकी फूलचोभी, फूलको रसमात्र खाने चरी पनि आउँछिन् । हेलिकप्टर घरमाथि स्थिर भई उडे जस्तै यो स्यानी चरी पनि फूलमा नबसी फूलमाथि स्थिररूपले उड्दै पाइप जस्तो चुच्चोले फूलको रस तान्छिन् । कोइली आँपमा फूल लागेकोदेखि फल पाकिन्जेलसम्म आउँछिन् । उसको विरहगान निस्तब्ध मध्य रातमा वा उषाकालमा मात्रै सुन्न पाइन्छ । घरमा भएका बेला यिनका मिलन र विरहका गीतहरू सुनिरहन्छु ।

ग्रीष्म ऋतुमा धेरै तातिन्छ विराटनगर । कोठाहरू ओभन भइदिन्छन् । बिजुली पङ्खाले पनि राहत दिँदैन । त्यसले फालेको हावा मरुभूमिको बतास जस्तै लाग्छ जसले राहतको सट्टा आलस्य ल्याउँछ । पानीको नामनिसान हुँदैन । बस आगो ओकल्दै गरेको सूर्य ! आकाशमा बादलहरू सेतो धागोका त्यान्द्राहरूझैँ बरालिएका देखिन्छन् । हावा ठ्याप्प ! समय पनि चुपचाप उभिएको जस्तो हुन्छ । म बिस्तारै नीमनजिक जान्छु र उसको शीतल छहारीले मलाई अँगालोमा लिन्छ, आमाले आफ्नो सन्तानलाई लिए जस्तै । म उँघ्छु, जाग्छु, उँघ्छु, जाग्छु र गजल बुन्छु ।

साँझ बिरालो जस्तै चाल मारेर आउँछ यहाँ यस गर्मीमा

बिहान बूढोझैँ उँघ्छ र बिस्तारै घुर्छ यहाँ यस गर्मीमा

दिन कुकुर जस्तै जिब्रो भित्र बाहिर गर्दै आराम गर्छ

पखेटा भाँचिएको चराझैँ हावा उड्छ यहाँ यस गर्मीमा

फेरि कहिले भेट हुन्छ, मलाई केही नभनी गइन् उनी

पुराना सम्झनाले लाटकोसेरोझैँ हेर्छ यहाँ यस गर्मीमा

जहाँसम्म हेर्यो त्यहाँसम्म बस सूर्यको साम्राज्य छ

मेरो यो नीम नै ओएसिस बनिदिन्छ यहाँ यस गर्मीमा ।

यस्तो गर्मीमा पनि व्यस्त रहन्छ लोखर्केको जोडी । मेरो धेरै नजिक आउँदैन, अलि परैबाट केही सेकेण्डसम्म हेर्छ मलाई आफ्ना डल्ला आँखाहरूले — उनका राता राता थुतुनामा उम्रेका किराँतीका जस्ता पातला दुईचारवटा जुँघाहरू हल्का काम्छन् मानौँ मलाई भन्छन्, “तेरो यहाँ के काम । जा कोठाभित्र जा !” र मेरो जवाफको कुनै वास्ता नगरी एकपछि अर्को खुर्रर्र दौडेर पातहरूमा अन्र्तध्यान भइहाल्छन् । कहिलेकाहीँ लाटकोसेरो पनि आउँछ तर ऊ आउनासाथ विरोधमा अरु चराहरू यति हल्ला गर्छन् कि उसलाई टिक्न गाह्रो हुन्छ । केही समयसम्म त ऊ केही वास्ता गर्दैनः चराहरू उसको वरिपरि कराइरहन्छन् र ऊ निर्विकार योगी झैँ चुपचाप सुनिरहन्छ । तर कुनै पनि चीजको सीमा हुन्छ नि ! एक हुल मान्छेहरू तपाईंको वरिपरि विरोधको हल्ला गरिराखे भने कति खप्ने ! लाटकोसेरो पनि असह्य भएपछि नरिवलको फलको झुप्पामुनि लुकेर बस्छ वा उडेर गइहाल्छ । बिचरा ! मान्छेलाई पनि मान्छेहरूले खेदेकै छ नि !

हामीलाई थाहा छ रुख बिरुवाबिना हामी बाँच्न सक्दैनौँ । हामीलाई अक्सीजन दिने वनस्पतिले नै हो तापनि हामी बुझ पचाएर त्यसको संहार गर्न अलिकति पनि संकोच गर्दैनौँ । हामी आफ्नो स्तरमा त केही गर्न सक्छौँ नि ! म अस्ति पर्या साहित्य संस्थानको मिटिङमा उपस्थित सदस्यहरूको पर्यावरण संरक्षण र संवर्धनमा सक्रिय योगदानलाई स्मरण गर्दै यति मात्र गर्न सक्छु —

म ग्रेटा थुनवर्ग हुन सक्दिनँ

बहुगुणा र हितान पनि हुन सक्दिनँ

के गर्न सक्छु त म !

मलाई थाहा छ

अन्त समयमा कोही साथ जाँदैन

न छोरा न भाइ

यहाँसम्म कि

जीवनसाथीको साथ पनि पाइँदैन

साथ जान्छ त मात्र

रुख

हामीसँगै डढेर खरानी भइदिन्छ ऊ

म आफ्नो अन्तिम इच्छा लेखेर जान्छु

मरेपछि मलाई लगेर

शव दाहगृहमा फालिदिनु

कम से कम

एउटा रुख त जोगाउन सकूँ ।

sahityapost