June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

विष्णुप्रिया

Advertisement

म समुद्र किनारमा बसेको छु । एक्लो । मेरो अगाडि पानी छ । थाहा छैन कहाँसम्म । पानीका छालहरू उर्लेर म बसेको ढुङ्गालाई छुन आउँछन् । छालहरूले मलाई पनि छोएर जान्छन् । पानीको शीतल स्पर्श । सन्चो लाग्छ ।

Advertisement

सूर्य डुबिसकेको छ र पानीमाथि अँध्यारो छोपिँदै आइरहेछ । टाढा पानीमा कुनै डढेलोजस्तो उज्यालो काम्छ । शायद कुनै जहाज धर्ती खोज्दै आउँदै होला ।

तर, म कहाँ जाने ? थाहा छैन । समुद्रको एकोहोरो गर्जनसँगै मेरो प्रश्न थर्कन्छ । हिमालबाट निक्लेका जम्मै नदीहरू अनेक–अनेक यात्राका मोडहरू टुंग्याएर समुद्रमा विश्राम गरिराखेका छन् । तर युगौँदेखि शुरू गरेको मेरो यात्राको विश्राम कहाँ ?

मेरो काँधमा कसैले मलाई छोएजस्तो लाग्छ । देख्छु, विष्णुप्रिया आएर मेरो पछाडि उभेकी छ । ऊ हाँस्छे । अँध्यारोमा उसको अनुहारका रेखाहरू राम्ररी पढ्न सक्दिनँ । उसका सेता दाँतका लहरहरू मोतीजस्तै टल्केको देख्छु ।

“कृष्ण नटवर…,” ऊ निहुरिँदै आएर मेरा ओठहरूलाई छोइदिन्छे । “युगौँदेखि धाइरहेछु, देख्न तिम्रो रूप मनोहर…,” ऊ मेरो काननजिकै साउतीको स्वरमा गीत गाउँछे । रेशमका भुवाजस्ता नरम उसका केशहरूले मलाई छुन्छन् । म आँखा चिम्लेर त्यस कोमलतालाई अनुभव गर्न खोज्छु ।

विष्णुप्रिया– मेरो यात्रामा बनारसमा भेट्टिएकी । अँध्यारो गल्लीको एउटा बन्द कोठामा । एक्लोपनको पट्याइलाग्दो जीवनसित आत्तिएर एक रात उसकहाँ म पुगेको हुन्छ ।

देख्छु, रातो किनारको सेतो रेशमी सारीमा बेरिएकी एउटी गोरी सुकुमारी केटी । निधारमा रातो टीका । पिठ्यूँपछाडिसम्म लहरिने लामो कपाल । कुनै कथाकी पवित्र देवीजस्तै । विश्वास हुन्न, ऊ वेश्या हो । उसलाई छुनसम्म पनि डर लाग्छ ।

म बस्छु । कलशमा दूबो चोपेर ऊ कोठाभरि पानी छर्कन्छे । दियो बालेर ढोगिदिन्छे र मेरो निधारमा टीका लगाइदिन्छे । चन्दनको शीतल टीका… ।

“कृष्ण मनोहर । कति दूर हिँडी आयौ होला…,” उसका ओठहरूमा शब्द गीत भएर नाच्न थाल्दछन् र ऊ मेरो छेउमा आएर बसिरहन्छे ।

देख्छु, उसको छातीमा एउटा सुनौलो लकेट । लकेटमा एउटा तस्वीर छ । बादलले छोप्न खोजेको कृष्णको तस्वीर । मनोहर मुस्कान छर्दै हाँसिरहेका कृष्ण… ।

थाहा हुन्छ– उसको नाम विष्णुप्रिया हो । उसकी आमाले राखेको नाम । चैतन्य महाप्रभु जन्मेको गाउँ नवद्वीपमा एउटा वैष्णव परिवारमा जन्मेकी केटो ।

भन्छे, “तिमीलाई थाहा छ होला चैतन्य प्रभुकी पत्नीको नाम थियो विष्णुप्रिया । इक्छा थियो वैष्णवी भएर कृष्णचरणमा सारा जीवन अर्पण गर्ने । तर भएन… समय–प्रवाहले कहाँ ल्याइपुर्‍यायो बगाउँदै बगाउँदै– यस कोठाको कैदभित्र… ।”

ऊ लामो सास फेर्छ र भन्छे, “यहाँबाट मुक्ति छैन । यहाँ आउने हरेक मान्छेलाई कृष्ण मान्छु । पूजा गर्छु । उसलाई खुशी तुल्याउन खोज्दछु । यही मेरो आराधना हो… ।”

मर्ने बेलामा मेरी आमाले दिएको यो लकेटको तस्वीर । यही मेरो साथी छ… ।’

ऊ मेरो बारेमा सोध्छे । भन्छु, “म अज्ञात यात्रामा निस्केको एउटा यात्री ।’

ऊ भन्छे, “मलाई समुद्रसित प्रेम छ । म समुद्र–यात्रामा जान चाहन्छु । लग्छौ तिमी ?”

मेरो उद्देश्यहीन हिँडाइले एउटा नाम पाउँछ– समुद्र–यात्रा । म सहमतिमा टाउको हल्लाइदिन्छु ।
एक रात भागेर ऊ मकहाँ आइपुग्छे ।

०००

विष्णुप्रिया मेरो छेउमा आएर बस्छे । चारैतिर कालो रातको विस्तार छ । समुद्रका छालहरू चम्केको मात्र देखिन्छ ।
छालहरूलाई हेर्दै ऊ भन्छे, “मनोहर ! तिमीलाई थाहा छ, चैतन्य प्रभुले समुद्रका छालहरूमा कृष्ण देखेका थिए र उनी कृष्णलाई समाउन पानीमा हामफालेका थिए ।”

समुद्रको गर्जन कानमा आएर बजारिन्छ । छालहरू माथि–माथि उर्लन्छन् । एकोहोरो दृश्य हेर्दाहेर्दा मेरा आँखा लोलाउँछन् । मलाई उम् लागेजस्तो हुन्छ ।

अकस्मात् झस्कन्छु । झ्वाम्म पानीमा केही खसेजस्तो लाग्छ । आँखा खोल्छु । देख्छु, विष्णुप्रिया छैन । यताउता हेर्छु । ऊ कतै देखिन्न । अगाडि समुद्र एकनास गर्जिरहेछ ।

बिस्तार–बिस्तार अँध्यारो भाग्दै जान्छ । चारैतिर पानी टल्कन थाल्दछ । पर… बालुवामाथि कोही सुतिराखेजस्तो लाग्छ । उठेर जान्छु । देख्छु, विष्णुप्रिया ।

उसमा कुनै स्पन्दन छैन । निर्जीव लाश । छातीमा उही पुरानो लकेट छ । बादलमा लुक्न खोजेको कृष्ण । बिहानको उज्यालोमा हाँसिराखेको कृष्ण…।

(कथाकार मुरारि अधिकारीको कथाकृति ‘अस्वीकृत’बाट) -baahrakhari