June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

भैरहवामा आर्मी क्लब र रूपन्देहीको टीमबीच ८ खेलमा स्पर्धा हुँदै, रूपन्देहीका खेलाडी बन्द प्रशिक्षणमा

Advertisement

भैरहवा– रुपन्देही क्रिकेट संघको आयोजनामा पुस २० देखि भैरहवामा हुने ‘पवनकुमार सेठिया स्मृति मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता’का लागि रुपन्देही–११ टिमको बन्द प्रशिक्षण भइरहेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बिहीबारदेखि प्रशिक्षण भइरहेको हो । संघको आयोजनामा पहिलोपटक त्रिभुवन आर्मी क्लब ‘ए’ टीम र रुपन्देहीका खेलाडीहरुको रुपन्देही–११ टीम बनाएर स्पर्धा गराउन लागिएको हो । प्रशिक्षण शनिबारसम्म चल्ने छ ।

Advertisement

खेलाडीहरुलाई रुपन्देही क्रिकेट संघका प्रमुख प्रशिक्षक बसन्त शाही ठकुरी र सहायक प्रशिक्षक शंकर रानाले प्रशिक्षण दिइरहेका छन् । संघका अनुसार ३६ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको छ । छनोट समिति संयोजक धीरज अधिकारी क्षेत्रीका अनुसार बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुबाट रुपन्देहीको टीम तयार पारिनेछ ।

हाल प्रशिक्षणमा एनपीएल, विगतमा राष्ट्रिय टीमबाट खेलिसकेका खेलाडी, क्लब र जिल्ला तथा प्रदेशस्तरमा यसअघि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई राखिएको छ । प्रशिक्षणका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने १४ जना खेलाडी छनोट गरी रुपन्देहीको टीम बनाइने छ ।

संघका अध्यक्ष हरिबहादुर थापाले खेलाडीहरुको खेल प्रतिभा, क्षमता र निरन्तरताका लागि प्रतियोगिता आयोजना गरिएको जनाए । उनका अनुसार जिल्लास्तरमा यसअघि यस किसिमका प्रतियोगिता भएका छैनन् । प्रतियोगितामार्फत भविष्यमा रुपन्देही क्रिकेटको ‘बेन्च स्ट्रेन्थ’ तयार पार्न मद्दत मिल्ने थापाले बताए ।

आयोजकका अनुसार प्रतियोगिता अवधीभर ५० ओभरका एकदिवसीय तीनवटा, ९० ओभरका दुईवटा र टी–२० तीन गरी ८ वटा खेल हुनेछन् । प्रतियोगिता संयोजक प्रथम पराजुलीले भैरहवाका व्यवसायी हरिश सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा यो प्रतियोगिताको मुख्य प्रायोजन गरेको जानकारी दिए । प्रतियोगिताका प्राविधिक संयोजन गरिरहेका संघका सदस्य विजयसिंह ज्ञवालीले व्यवस्थापकी कामको तयारी सकिएको जनाए ।