माइती नेपालद्वारा नेपालगञ्ज, बर्दिया र भैरहवा नाकाबाट १ हजार ३३ जनाको उद्धार


भैरहवा– लुम्बिनी प्रदेशको मुख्य भारतीय सिमावर्ती नाका नेपालगञ्ज, बर्दिया र भैरहवाबाट मानव बेचबिखनबिरुद्ध कार्यरत गैरसरकारी संस्था माइती नेपालले सन् २०२५ मा जोखिमपूर्ण यात्रामा रहेका १ हजार ३३ जनाको सिमा नाकाबाट उद्धार गरेको छ । माइती नेपालले नेपालगञ्ज नाकाबाट ५ सय ४५ जनाको उद्धार गरेको हो भने बर्दियाको विभिन्न नाकाबाट २ सय ८४ र भैरहवा नाकाबाट २ सय ४ जनाको उद्धार गरेको हो ।
उद्धार गरिएकाहरु बेचबिखनको जोखिममा थिए । माइती नेपाल नेपालगन्ज शाखाले सन् २०२५ मा भारतका विभिन्न सहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बाल बालिकाको उद्धार गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । जसमध्ये ३ जना बाँके जिल्लाका छन् ।
बर्दिया शाखाले सिमाबाट उद्धार गरेकामध्ये २ सय ८ जना बर्दियाका र अन्य विभिन्न जिल्लाका छन् । जसमा, १८ वर्षमुनिका २ सय ४ र ८० जना १८ वर्षमाथिका महिला तथा बालबालिका थिए । बर्दिया शाखाले सन् २०२५ मा श्रम र यौन शोषणमा परेका ३ जनाको पनि उद्धार गरेको छ । भैरहवा शाखाले उद्धार गरेको २ सय ४ जनामध्ये २६ जना रुपन्देही जिल्लाका थिए । भैरहवा शाखाले पनि भारतको विभिन्न ठाउँबाट ३ जनाको उद्धार गरेको छ ।
वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले खोज तलासका लागि ९ सय २० जनाको निवेदन परेकोमा ५ सय ९३ जना फेला परेको जनाएका छन् । सँस्थाको नेपालगञ्ज शाखाले सीमाबाट उद्धार, पारिवारिक पुनर्मिलन, खोजतलास, लैङ्गिक तथा घरेलु हिंसा, मुद्दा दर्ता र समाधानका क्षेत्रमा वार्षिक कार्यक्रम गर्ने गरेको कोइरालाले बताए । हराउने, खोजी गर्ने र पारिवारिक पुनर्मिलनका घटनाहरू पनि वर्षेनि बढ्दै गएको प्रतिवेननले देखाएको छ ।
अहिले सामाजिक सञ्जालबाट बढ्दै गइरहेको मानव बेचबिखनको समस्यालाई कम गर्न अझै बढी सक्रियता आवश्यक भएको कोइरालाले बताए । ‘मानव बेचबिखनमा पर्ने र जोखिममा पर्नेमा विपन्न तथा निरक्षर भन्दा पनि पढेलेखेका मध्यम वर्गीय महिलाहरू पनि उत्तिकै छन्’, कोइरालाले भने ।
माइती नेपाल, बर्दियाकी प्रमुख गायत्री रिमालले एक वर्षको अवधिमा महिला तथा बालिका हराएका ६६ वटा निवेदन परेको र खोजतलासका क्रममा हालसम्म १६ जना फेला परेपछि परिवारको जिम्मा लगाइएको बताइन् ।

माइती नेपालको भैरहवा शाखामा सन् २०२५ मा खोजतलास सम्बन्धी २४ वटा निवेदन परेका थिए ।जसमध्ये १२ जना फेला परेका थिए । घरेलु हिंसा सम्बन्धि १० वटा निवेदन परेको थियो । बेचबिखनको जोमिममा पर्नुको मुख्य कारणमा अधिकांश अहिले पनि गरिवी, बेराजगारी, सामाजिक सञ्जालको प्रयोगबाट माया प्रेममा परेर नक्कली बिवाह, नेटवर्किङ व्यवसाय र आकर्षक तलवको प्रलोभनमा मसाज, डान्स वारमा काम गर्ने चाहना छन् ।
माइती नेपाल भैरहवा शाखाकी प्रमुख माया क्षेत्रीे मानव बेचबिखन बिरुद्ध यस सम्बन्धी जनचेतनाको अभाव, घरेलु हिंसा, तीनै तहका सरकारसँग यस वारेमा स्पष्ट योजना नीति र बजेट अभाव, तथ्यांक नहुनु, अनुगमन प्रभावकारी नहुनुले बेचबिखन कार्यलाई निरुत्साहित गर्न चुनौती देखिएको बताउँछिन् । ‘बेचबिखनमा संलग्न हुने अधिकांश नातेदार तथा चिनेको छरछिमेक नै हुने भएकाले पीडितले उनीहरुबिरुद्ध उजुरी तथा मुद्दा दिन नचाहनु पनि अर्को चुनौती रहेको उनको भनाइ छ ।








प्रतिकृया दिनुहोस्