गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु


गुल्मी– सवारी दुर्घटना हुँदा गुल्मीमा दुईजनाको ज्यान गएको छ । यस्तै, दुईजना घाइते भएका छन् । जिललाको मालिका गाउँपालिका–७, अर्जे राम्चेमा विद्यार्थी बोकेर वनभोज जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार लुम्बिनी प्रदेश ००–ख–०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मालिका–६ का ३६ वर्षीय बसन्त अर्याल र ६० वर्षीया मनकला अर्यालको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षीय बालक अनुभव गिरी र पैदल हिँडिरहेकी मालिका–६ की स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन् । दुवैको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना मालिका–७ अर्जे राम्चे ओरालो सडक खण्डमा भएको हो । बस स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई वनभोजका लागि लैजाँदै थियो ।








प्रतिकृया दिनुहोस्