June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

उद्योग परिसरमा दुई कामदार मृत अवस्थामा

Advertisement

भैरहवा–पश्चिम नवलपरासी स्थित एक उद्योगमा कार्यरत एकजना बिदेशीसहित दुई जना मजदुरको मृत्यु भएको छ । मृतकका आफन्तले भने प्रदर्शन गरेका छन् । तनावको अवस्था सृजना भएपछि उद्यो परिसरमा अहिले प्रहरी परिचालन गरिएको छ ।

Advertisement

गएराति टायल बनाउने क्रममा ग्यासको प्रयोग गरेर काम गरिरहेका ती मजदुरको मृत्यु भएको हो । बर्दघाट नगरपालिका–१२ स्थित कजारिया टायल्स उद्योगमा कार्यरत ती मजदुरको मृत्यु भएको हो । उनीहरुको शव बिहीवार बिहान फेला परेको हो ।

एक भारतीय र एक जना नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख अनुपम श्रेष्ठका अनुसार मृत्यु हुनेमा बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्लाका ३० वर्षीय विनोद कुमार छन् ।

उद्योगले कामदार सुतिरहेको अवस्थामा मृत्यु भएको दाबी गरे पनि स्थानीय र मृतकका आफन्तले अहिले उद्योगको लापरबाहीले मृत्यु भएको भन्दै उद्योग विरुद्ध प्रर्दशन गरिरहेका छन् । उद्योगको ग्यासी फायरमा सुतिरहेको अवस्थामा उनीहरु मृत अवस्थामा फेला परेको र थप अनुसन्धानको लागि फरेन्सिक परिक्षणका लागि पठाउन लागिएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले भने घटना बिहान ३ बजे तिरको भए पनि प्रहरीलाई बिहान ७÷८ बजेतिर मात्रै खबर गरेको र उद्योगले घटना लुकाउने प्रयास गरेको आरोप लगाएका छन् । रातिको समयमा मजदुरलाई आवश्यक पर्ने कामदार सुरक्षाका सामाग्री बिनै काममा लगाएको, सास फेर्न कठिन भएको जानकारी गराउँदा समेत उद्धार नगरेका कारण मृत्यु भएको र घटना ढाकछोप गर्ने प्रयास गरेको मृतकका आफन्तको आरोप छ ।

ग्यास भएको क्षेत्रमा काम गर्नुपर्ने भएकाले उनीहरूको अक्सिजनको अभावमा मृत्यु भएको अनुमान गरिएको छ ।