नयाँ वर्ष इभमा ठाउँ–ठाउँमा रमझम, रमाए स्वदेशी–विदेशी पर्यटक


भैरहवा– आन्तरिक र बाह्य पर्यटक तान्न रुपन्देहीका पर्यटन व्यवसायीले अनेक उपाय अपनाइरहेका छन् । कोरोनापछि लयमा फर्किएको पर्यटन क्षेत्र जेनजी आन्दोलनले केही विथोलिएको थियो । यसपछि विस्तारै तंग्रिँदै गएको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन व्यवसायीले अनेक उपाय अपनाएका छन् ।
बुटवलमा नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवद्र्धन गर्दै आन्तरिक पर्यटन विकास र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बुटवल सडक खाना महोत्सव–२०८२ भएको छ । पुस १५ गतेदेखि सुरु भएको महोत्सव बुटवल उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको हो । महोत्सव आजसम्म चल्नेछ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठनले आयोजना गरेको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धनमा सहयोग पुर्याएको आयोजकको दावी छ । यस्तै, बुटवलमा एनपीएल सिजन–२ विजेता लुम्बिनी लायन्सले विजयोत्सवसहित कन्सर्ट गरेको छ । कन्सर्टमा नेपालका चर्चित गायक दुर्गेश थापा, दी इलेमेन्ट्स ब्याण्ड, बद्री पंगेनी, भिओमा, कविता न्यौपाने, विष्णु खत्री, एन्जिला रेग्मी, बबिता धिताल र तेरिया पुन मगरले आफ्नो प्रस्तुति दिएका छन् ।
नयाँ वर्षको स्वागत तथा पर्यटक प्रबद्र्धनमा समेत यो कन्सर्टले सहयोग गरेको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले जानकारी दिए । यस्तै, होटल पौवा बुटवलले सदिक्षा कटेल, कर्ण परियार, निसान भट्टराई र दीप काफ्लेलाई बोलाएर नयाँ वर्षमा भव्य कार्यक्रम गरेको छ ।
यसैगरी रुपन्देहीको पहिलो पाँचतारे होटल टाइगर प्यालेस बाई सोल्टीले स्वदेशी तथा विदेशी कलाकार ल्याएर नयाँ वर्षको पूर्वसन्ध्यामा भव्य कार्यक्रम गरेको छ । भैरहवाको चारतारे होटल एसियन बुद्ध होटलले राष्ट्रिय कलाकार प्रिती आले र होटल पौवा भैरहवाले शान्तिश्री परियार र राजनराज शिवाकोटीलाई ल्याएर सांगीतिक साँझ गर्यो ।
यी केही उदाहरण हुन् । अँग्रेजी नयाँ वर्षलाई भव्य बनाउन होटल व्यवसायीले विभिन्न कार्यक्रम गरे । यसले अन्ततः पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने होटल पौवाका संचालक हरिबहादुर थापाले बताए ।
‘नेपाली कलासंस्कृतिको संरक्षणसँगै पर्यटकीय विकासमा यस्ता कार्यक्रम सहयोगी बनेका छन्’, उनले भने, ‘सरकारी तहबाट नभए पनि निजी क्षेत्रबाट हामीले पहलकदमी गरिरहेका छौं ।’ अँग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार साँझदेखि राति १२ बजेसम्म विविध सांस्कृति कार्यक्रमसँगै खाना महोत्सव होटलहरुमा सांस्कृतिक कार्यक्रमहरु भएका छन् । ‘नेपालका विभिन्न ठाउँदेखि भारतीय पर्यटक होटलहरुमा आएर रमाए, यसले सिथिल पर्यटन क्षेत्रलाई थोरै भए पनि टेवा मिलेको छ’, होटल एसियन बुद्धका महाप्रबन्धक ओमप्रकाश पाण्डेले भने ।
खाना महोत्सव र होटलहरुमा थरिथरीका स्वाद चाख्न पाउँदा पर्यटक लोभिए । पाहुना स्वाद लिँदै, नाच्दै, गाउँदै औधी रमाए । आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरेर होटल तथा रेष्टुुराँमा करोडौं रुपैयाँ लगानी गरेका व्यवसायीले अँग्रेजी नयाँ वर्षमा आयोजना गरेका कार्यक्रमले धेरैलाई रमाइलो बनायो । रुपन्देहीका सानादेखि ठूला र गनिएका होटलमा पनि नयाँ वर्ष इभ भयो । राष्ट्रिय तथा स्थानीय कलाकारसँगै त्यहाँ पुगेका पाहुँना रातिसम्म खानपिन र नाचगानमा रामाए ।








प्रतिकृया दिनुहोस्